कारोबार


काठमाडौंमा सुन तस्करका अखडा : जहाँ भेटिए पगाल्नेदेखि जोख्नेसम्मका मेसिन

सय किलो सुनको कनेक्सन खोज्दै राजस्व
काठमाडौंमा सुन तस्करका अखडा : जहाँ भेटिए पगाल्नेदेखि जोख्नेसम्मका मेसिन

सुन प्रशोधन गर्न राखिएका मेशिन। तस्बिर : नेपालखबर


सागर न्यौपाने
साउन १६, २०८० मंगलबार १४:३५, काठमाडौँ

हङकङ हुँदै त्रिभुवन विमानस्थलबाट बाहिरिसकेर सिनामंगलबाट बरामद भएको सय किलो सुनको मालिक खोज्नेक्रममा राजस्व अनुसन्धान विभागले छापा मारिरहेको छ। 

विभागले काठमाडौंका केही स्थानमा छापा मारेर प्रमाण पनि संकलन गरिरहेको छ।

गत साउन २ गते सिनामंगलबाट सुन बरामद गरेदेखि सुन भित्र्याउने मुख्य लगानीकर्ता खोज्न विभागको पाँच सदस्यीय टोली खटिएको छ।

९० दिनको समय पाएको राजस्वले साउन १५ गतेसम्म १८ जनालाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ।

पक्राउ परेकाहरुको बयानका आधारमा राजस्वको टोलीले काठमाडौंका केही स्थानमा छापा मारेर प्रमाण फेला पारेको हो।

ब्रेक शुमा राखेर भित्र्याइएको सुन बरामद् भएपछि राजस्वको टोलीले अनुसन्धान  गरिरहेको छ।

अहिलेसम्म बालुवाटारमा ब्रेक शु बाट सुन निकाल्ने, सोह्रखुट्टेमा गोदाम र टोखामा सुन प्रशोधन गर्ने मेसिन फेला पारेको छ।

सुनको तस्करीमा संलग्न भएको प्रमाण फेला परेपछि चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बती मूलका बेल्जियन नागरिक दावा गुरुङ पक्राउ गरेको छ।

साउन २ मा बरामद गरिएको सुनका मालिक लिन र दावाको भए-नभएको विभागले अनुसन्धान गरिरहेको छ।

तर, नेपालमा सुन तस्करी गर्ने कार्यमा रहेका केही व्यापारिक घराना राजस्वको अनुसन्धान घेरामा छन्।

राकेश अडुकिया, दीपक मलहोत्रा र सञ्जय बबैया भनिने एक व्यक्तिमाथि राजस्वको टोलीले निगरानी गरिरहेको छ।

अडुकिया अहिलेसम्म सम्पर्कमा नआएको राजस्वका अनुसन्धान अधिकारी बताउँछन्।

राजस्वले अहिलेसम्म सुन गाल्न प्रयोग हुने ४ थान मेसिन, ब्रेक शु काट्न, सुन प्रशोधन गर्ने मेसिन, जोख्ने मेसिन र गालिसकेको सुनलाई राख्ने भाँडा सबै बरामद गरेको छ।

तस्करीकै लागि टोखामा कृषि फार्म नामको कम्पनी स्थापना गरेर भित्र सुन प्रशोधन भइरहेको फेला पारेको आयोग स्रोतले जनाएको छ।

अझै धेरै स्थानमा विभिन्न देशबाट विभिन्न सामानमा राखेर सुन भित्र्याई तस्करी भइरहेको राजस्वको निष्कर्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .