जंगललाई ससाना झुपडीले घेरेका छन्। परबाट हेर्दा लाग्छ, ती ससाना झुपडीहरु त्यही जंगलका पहरेदार हुन्।
पूर्वपश्चिम राजमार्ग भएर हिँड्दै गर्दा तपाईंले पनि नवलपुरको मरुवा घाटनजिकै यो दृश्य देख्नुभएको होला। खरले छाएका माटोका घरहरुको बीचमा ठूलो बगैँचा।
तराईसँग परिचित हुनुहुन्छ भने तपाईंलाई यी कुन समुदायका घर हुन् भन्ने खुट्याउन समय लाग्दैन। भित्ताभरि चित्र, खरको छानो, बार्दलीमा खटिया अनि आँगननजिकै रहेका साना पोखरीमा खेलिरहेका हाँसहरु।
तपाईं लाग्छ, तपाईं थारु गाउँमा आइपुग्नुभएको छ।
झट्ट हेर्दा जंगल मात्रै देखिने यो चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेज हो। थारु जीवनशैलीलाई चित्रित गर्नकै लागि सञ्चालनमा ल्याइएको यस भिलेजमा तपाईंले थारु जनजीवनको अनुभव बटुल्न सक्नुहुनेछ।
बाहिरबाट सुदूर गाउँजस्तो लाग्ने यस ठाउँमा भित्र विलासी जीवन भेटिन्छ। सुविधासम्पन्न स्तरीय कोठाहरु झुपडीभित्रै भेटिनु उन्नति कल्चरल भिलेज को विशेषता नै हो।
स–साना तिनै घरका आँगनमा भने ठूलो बगैँचा छ। करिब ३ सय रुखहरु मध्ये २ सय लिची र ५० वटा आँपका रुख छन्।
आठ बिघा क्षेत्रफलमा फैलिएको नवलपुरको भिलेजमा तपाईंले थारु समुदाय र संस्कृतिलाई आँखैअगाडि नियाल्दै स्वादिष्ट थारु पकवानहरुको स्वाद पनि लिन सक्नुहुनेछ।
२०७७ सालमा स्थापना भएको उन्नति कल्चरल भिलेजले पूर्णरुपमा थारु संस्कृतिलाई व्यवसायमा ढालेर ग्राहकलाई थारु स्वाद र संस्कृति चिनाउँदै आएको छ।
भिलेजका आर्ट एन्ड क्राफ्ट म्यानेजर हरि अधिकारी थारु समुदायको उत्थानसँगै संस्कृतिको पहिचानलाई प्राथमिकतामा राखिएको बताउँछन्।
‘हामीकहाँ कोठाहरु थारु समुदायका पर्वहरुबाट नामाकरण गरेका छौँ। यसले थारु समुदायबारे चासो राख्नेहरुलाई उत्साहित बनाउँछ,’ उनी भन्छन्।
यहाँका स्टाफदेखि विज्ञसम्म अधिकांश थारु समुदायकै छन्।
पूर्णतः थारु परिवेश भएकैले यहाँ कोही माटोको भाँडा, पाला र विभिन्न आकृतिका मूर्तिहरु बनाइरहेको देखिन्छन् भने कोही थारु गीत गुन्गुनाउँदै घुँगीको बास्नादार परिकार बनाउँदै गरेका भेटिन्छन्।
म्यानेजर अधिकारी आगन्तुकलाई अनुभव गराउनकै लागि पनि छहारीमा बसेर माटाका भाँडाकुँडा बनाउने व्यवस्था गरेको बताउँछन्।
उनी भन्छन्, ‘थारु दिदीबहिनीहरुले नै उन्नतिको लोगो सहितका माटाका भाँडाकुँडाहरु यहाँ बसेर बनाउँछन्। उनीहरुलाई सो बापतको रकमका साथमा सीप पनि सिकाउँदै आएका छौँ।’
भिलेजको आफ्नै अर्गानिक कृषि फार्म पनि सञ्चालनमा छ।
६ बिघा क्षेत्रफलमा फैलिएको यस भिलेजमा आर्टस एन्ड क्राफ्ट अन्तर्गत पौभा (आर्ट ग्यालरी, लीला (एम्पिथिएटर) बाटिका (गार्डेन आफ आर्टस्) निसर्ग सयर (नेचर वाकवेज) र क्रियटिभ स्टुडियो पनि छन्।
यसबाहेक थारु गाउँको झझल्को दिन भिलेजले, बाहरी (लाइभ किचन), बडघर (डाइनिङ डबली), गदला मोद (बार) हरुको व्यवस्था पनि गरेको छ। यो सँगै गेस्टस्पेस अन्तर्गत कला घर (आर्ट होटल), बोधी कुञ्ज (आर्ट रेजिडेन्सी), देहारी (थारू घर), आतिथ्य (मल्टिपर्पोज ब्लक) को पनि व्यवस्था गरेको छ।
नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू छन्। थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समेटेको छ। नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ छन्। घाटु, सोरठीजस्ता नाच तथा सांस्कृतिक तथा कला प्रर्दशनी पनि भिलेजले गर्दै आएको छ।
यसबाहेक रैथाने परिकार, चित्र तथा वस्तु बनाउन सक्ने स्थानीयलाई भिलेजले रोजगारी पनि दिँदै आएको छ भने सिक्न चाहनेलाई पनि तालिमको व्यवस्था गर्दै आएको छ।
बगैँचाले भरिएको यस भिलेजमा स्थानीयलाई भने प्रवेशमा विशेष छुट छ। नवलपुरकै स्थानीय बासिन्दाले एक सय रुपैयाँ तिरेर दिउँसोको समयमा भिलेज भ्रमण गर्न सक्छन्। यदि तपाई भ्रमणसँगै थारु गाउँमा बस्नेगरी जानुहुन्छ भने तपाईंले रुमको प्रकृति अनुसार फरकफरक मूल्य तिर्नुपर्नेछ।
चौधरी फाउण्डेसनबाट सञ्चालित उन्नति भिलेजको निर्देशक सुरभि चौधरी छिन्। उनी भिलेज थारु समुदायप्रतिको सम्मान भएको बताउँछिन्।
‘हामीले थारु महिलाहरुको उत्तथानसँगै उहाँहरुको कलालाई व्यावसायिक रुप दिने कोसिस गरेका छौँ,’ उनी भन्छिन्, ‘यो समग्र थारु संस्कृतिप्रतिको सम्मान हो।’
Shares
प्रतिक्रिया