ad ad

कारोबार


नेपाल वायुसेवा निगम : वाइडबडी ३ अर्ब घाटामा चल्दा नाफामा न्यारोबडी

नेपाल वायुसेवा निगम : वाइडबडी ३ अर्ब घाटामा चल्दा नाफामा न्यारोबडी

वसन्त अर्याल
असोज १७, २०८० बुधबार १६:२९, काठमाडौँ

पछिल्ला २ वर्षयता नेपाल वायुसेवा निगमले सञ्चालन खर्च धान्न सक्ने हैसियत बनाएको छ। तर उसले ऋण तिर्न सक्ने अवस्थामा भने आफूलाई ल्याउन सकेको छैन। 

कोभिड महामारीको समयमा निगम सञ्चालन खर्च धान्न नसक्ने अवस्थामा थियो। तर अहिले निगम सञ्चालन खर्च आफैं जुटाउन सक्ने अवस्थामा पुगेको छ।

निगमको आम्दानी ५ वर्षयताकै बढी देखिए पनि ऋण दायित्व भूक्तानी  गर्दा ठूलो घाटा ब्यहोरिरहेको छ। गत आर्थिक वर्षमा नेपाल वायुसेवा निगमको आम्दानी १६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। 

पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्व गठित निगम सुधार  कार्यदलको प्रतिवेदनमा १५ अर्ब ८५ करोड खर्च भई १ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा रहने अनुमान गरिएको छ। 

कोभिड माहामारीअघि आर्थिक वर्ष २०७५/७६ मा निगमको १६ अर्ब ५ करोड रुपैयाँ आम्दानी थियो। त्यसबेलाको सञ्चालन खर्च १४ अर्ब ७४ करोड रुपैयाँ देखिएको थियो। 

आर्थिक वर्ष २०७६/७७ मा १४ अर्ब ४२ करोड आम्दानी गर्दा सञ्चालन खर्च १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो। अर्थात् त्यसबेला १३ करोड रुपैयाँ घाटा थियो। 

कोभिड माहामारीका कारण सबैभन्दा ठूलो घाटा ०७७/०७८ मा भएको छ।  ९ अर्ब ११ करोड रुपैयाँ आम्दानी गर्दा १० अर्ब २६ करोड सञ्चालन खर्च भएर १ अर्ब १५ करोड घाटा निगमले त्यसबेला ब्यहोर्‍यो। 

माहामारीको समयमा नियमित उडान कम भए पनि चार्टर्ड लगायतबाट निगमले कमाएको थियो। तर, सञ्चालन खर्च नाफामा जान सकेन। 

निगमले आर्थिक वर्ष २०७८/७९ मा भने १६ अर्ब ४२ करोड आम्दानी हुँदा १५ अर्ब २ करोड खर्च गरेको छ। उक्त वर्ष १ अर्ब २ करोड सञ्चालन नाफा रहेको प्रतिवेदनले देखाएको छ। २०७८/७९को लेखापरीक्षण हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।

०७८/७९ मा निगमको आम्दानीमध्ये ग्राउन्ड ह्यान्डलिङबाट १९.८५ प्रतिशत आर्जन भएको छ। २०८० वैशाखसम्म आम्दानीको हिस्सा घटेर १२.७३ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०७४/७५ मा जहाज ह्यान्डलिङ सेवाको आम्दानी ३७.६२ प्रतिशत थियो। 

ऋण तिर्दा लगातार घाटामा 
निगमको आम्दानी देखिए पनि अधिकांश सञ्चालन खर्चमै गइरहेको छ। निगमको सञ्चालन नाफा देखिए पनि ऋण दायित्य भुक्तानी गर्दा घाटामै गएको हो।

गत आर्थिक वर्ष सञ्चालन नाफा १ अर्ब ५ करोड र अन्य आम्दानी ५ करोड रुपैयाँ गरी १ अर्ब १० करोड नाफा थियो। तर, जहाज खरिदका लागि ल्याएको ऋणको साँवाब्याज भुक्तानी मात्रै ३ अर्ब २७ करोड रुपैयाँ  छ।

सरकारले पूर्ण कर छुट दिए पनि गत वैशाखसम्म निगमको घाटा २ अर्ब १६ करोड रुपैयाँ छ। जबकि अघिल्लो वर्ष १६ अर्ब ४ करोड सञ्चालन आम्दानी हुँदा १ अर्ब ७० करोड रुपैयाँ  घाटामा थियो। कोभिड महामारीका कारण आ.व. २०७७/७८ मा सञ्चालन घाटामा पुगेको निगमको खुद घाटा ४ अर्ब ८५ करोड रुपैयाँ थियो। 

निगम वित्तीय रुपले सञ्चालन गर्न गराउन जोखिमको दिशामा उन्मुख रहेको प्रतिवेदनले औंल्याएको छ। 

‘निगमको स्वामित्व, राष्ट्रिय ध्वजावाहकको हैसियत र अन्तर्राष्ट्रिय रुपमा दर्ता भएकाले उडानका अवसरहरुको मूल्यांकन गर्दा न्यून पूँजीको अवस्थाबाट गुज्रेको देखिन्छ। थप पूँजी लगानी गरी प्रतिस्पर्धीबीच नाफा गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

निगमको हालको चुक्ता पूँजी १६ करोड २२ लाख मात्रै छ। यो पूँजी ठुलो व्यवसाय गर्ने निगमका लागि ज्यादै न्यून भएकलो अधिकृत पूँजी ५० अर्ब र चुक्ता पूँजी २० अर्ब कायम गरिएमा शेयर संरचना र रकम व्यवस्थापन गर्न सकिने  सुझाव दिएको छ।

पूँजी वृद्धि गर्दा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंकमा सरकारले सुरुमा लगानी गरी अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्षम भएको उल्लेख छ। 

आन्तरिकमा बजार हिस्सा ०.३६ प्रतिशत 
आन्तरिक उडानमा निगमको बजार हिस्सा निरन्तर ओरालो लागेको छ। सन् २०१८ मा २.६० बजार हिस्सा भएको निगम २०२२ मा ०.३६ प्रतिशतमा सीमित भएको छ। 

२०१९ मा २.३६ प्रतिशत, २०२० मा १.६२ प्रतिशत र २०२१ मा ०.५७ प्रतिशत बजार हिस्सामा सीमित रहयो। 

सन् २०१८ मा २८ लाख ४७ हजार यात्रुमध्ये ७९ हजार नेपाल एयरलाइन्सबाट यात्रा गरेका थिए। २०२२ मा ४४ लाख ६६ हजार यात्रु जहाजबाट यात्रा गर्दा १७ हजार यात्रु मात्रै निगमका जहाज प्रयोग गरे। 

‘तथ्यांकको आधारमा निगमको आन्तरिक सेवा न्यून मात्रै देखिन्छ,’ रिपोर्टमा उल्लेख छ, ‘खुल्ला आकाश नीतिको नाममा पूर्ण सरकारी संस्थाले व्यवसायिक प्रतिस्पर्धा गर्नबाट अलग्गिनु पर्छ भन्ने मान्यता सार्वजनिक संस्थालाई कुण्ठिन पार्नु हो।’

आन्तरिक उडानका लागि कुल ८ वटा जहाज भए पनि २ वटाले मात्रै सेवा दिइरहेका छन्। ४० वर्ष पुराना ट्वीनअट्टर डीएचसी ६ का ३ मध्ये २ वटा नियमित उडानमा छन्। चिनियाँ ५ जहाज भूमिस्थ अवस्थामा छन्। 

आन्तरिक उडानमा न्यनतम् २० अर्ब रुपैयाँ बराबरको व्यापार सम्भावना  छ। तर, निगमले १२ करोड रुपैयाँ बराबरको मात्रै आम्दानी गरिरहेको छ। जबकि बुद्ध एयरले मात्रै ९ अर्बको व्यापार गरेको देखिन्छ। 

आन्तरिक उडानबाट वार्षिक ५० करोड रुपैयाँ घाटा भएको अध्ययन प्रतिवेदनले देखाएको छ। 

१० करोड रुपैयाँको जम्मा आम्दानी गर्दा ६१ करोड रुपैयाँ आन्तरिक उडानमा खर्च हुने गरेको छ। ०७८/०७९ मा ११ करोड आम्दानी गरेकोमा ६७ करोड रुपैयाँ खर्च भएको थियो। 

वाइडबडी घाटामा, न्यारोबडी नाफामा
वायुसेवा निगमसँग २ वटा वाइडबडी र २ वटा न्यारोडी जहाज छन्। गत आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्दा २७४ सिटको वाइडबडी जहाजबाट ७ अर्ब ७० करोड रुपैयाँ आम्दानी भएको छ। तर १० अर्ब ९८ करोड खर्च भएको छ। एकै वर्ष ३ अर्ब २८ करोड रुपैयाँ घाटा वाइडबडीको देखिएको छ। 

आर्थिक वर्ष ०७८/०७९ मा ६ अर्ब ९९ करोड आम्दानी र ९ अर्ब ९९ करोड खर्च हुँदा ३ अर्ब बढी घाटा पुगेको छ। 

न्यारोबडी जहाजले वार्षिक ९५ करोड ७८ लाख आम्दानी गरेको छ।     १५८ सिट क्षमताको जहाजले ७ अर्ब आम्दानी गर्दा ६ अर्ब ४ करोड खर्च भएको छ। 

आ.व. ०७८/०७९ मा ६ अर्ब ३७ करोड रुपैयाँ आम्दानी हुँदा ५ अर्ब ५० करोड रुपैयाँ खर्च भयो। ८७ करोड रुपैयाँ नाफा गर्न सफल रहयो। 

न्यारोबडी जहाज सुरुका केही वर्ष व्यवस्थापकीय कमजोरीका कारण हुनुपर्ने जतिको उडान भएकोमा हाल दैनिक १२ घण्टा बढी उड्नु सकारात्मक सूचक छ। 

तर, पूर्व अनुमानित सिट, प्यासेन्जर र कार्गो ब्यागेज तथ्यांक अनुसार सूचकांक सन्तोषजनक नरहेको उल्लेख छ। 

न्यारोबडीले गत आर्थिक वर्षमा ३ लाख २२ हजार यात्रु बोक्ने लक्ष्य राखेको थियो। जसमा २ लाख ६५ हजार मात्रै यात्रु बोकेको छ।

वाइडबडीले ३ लाख ७६ हजार यात्रु बोक्ने लक्ष्य राखेको थियो। तर ३ लाख ६३ हजार यात्रुले यात्रा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .