ad ad

कारोबार


गौतमबुद्ध विमानस्थलको ८६ प्रतिशत काम सकियो, ३ महिना म्याद थप

गौतमबुद्ध विमानस्थलको ८६ प्रतिशत काम सकियो, ३ महिना म्याद थप

प्रकाश न्यौपाने
माघ २१, २०७६ मंगलबार ६:२०,

रुपन्देही सदरमुकाम भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ८६ प्रतिशत निर्माण सकिएको छ।

अबको तीन महिनाभित्र निर्माणको काम सम्पन्न गरी त्यसको तीन महिनाभित्र उडान भर्ने तयारी विमानस्थाल आयोजनाले गरेको जनाएको छ। पार्किङ, रनवे, ट्याक्सी, पार्किङ, टर्मिनल भवनको छाना हाल्ने लगायतका महत्वपूर्ण काम सकिएका छन्।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले विमानस्थलको भौतिक संरचना निर्माणको काम गरिरहेको छ। एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापन उपकरण जडानको काम भने थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको छ। उसले आवयक उपकरणहरु ल्याएर जडान गर्ने काम गरिरहेको आयोजना प्रमुख ई.प्रवेश अधिकारीले जानकारी दिए।

‘अहिले भौतिक संरचना र उपकरण जडानको काम धमाधम भइरहेको छ। दुबै कम्पनीले दुूत गतिमा काम गरिरहेका छन्’, उनले भने। उपकरण जडान गर्न अब कम्तिमा ३ महिना लाग्ने जनाइएको छ। आयोजनाकाअनुसार ९० प्रतिशत उपकरण निर्माण स्थलमा ल्याइसकिएको छ। बाँकी उपकरण पनि केही दिनभित्रै आइपुग्ने छन्।

पछिल्लो डेढ वर्षयता विमानस्थल निर्माणको काम द्रूत गतिमा अघि बढेको छ। त्यसअघि भएको ढिलाईले आयोजना करिब ३ वर्ष पछि धकेलिएको छ। विमानस्थलको काम दुूत गतिमा अघि बढ्दा संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले गृहकार्य थालिसकेको छ।

भौतिक पूर्वाधार निर्माण सकेर ठेकेदारले सरकारलाई हस्तान्तरण गरेको तीन महिनाभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा प्राधिकरण छ।

योजनाकाअनुसार विमानस्थलको सम्पूर्ण काम सक्न अझै ३ महिना लाग्ने छ। ‘३ महिनामा काम सकियो भने त्यसको ३ महिनाभित्र विमानस्थल सञ्चालनमा आउँछ’, अधिकारीले भने।

समयमै ठेकेदारले काम नसकेपछि आयोजनाको म्याद अहिले तीन महिना थप गरिएको छ। भौतिक निर्माणको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टलाई ३ महिना थप म्याद दिइएको हो। उसलाई म्याद थप गरिएको चौथोपल्ट हो । ३१ डिसेम्बर २०१९ सम्म निर्माण नसकेपछि म्याद थपेर ३१ मार्च २०२० पुर्याइएको थियो। सन् २०१५ जनवरी १५ का दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गरेका थिए।

डिसेम्बर २०१७ सम्म निर्माण सकिनुपर्ने भए पनि आयोजना झनपछि झन धकेलिँदै गएको हो। आयोजनाको पहिलो पटक म्याद थपेर १५ जुन २०१८, दोस्रोपटक २८ जुन २०१९ कायम गरिएको थियो। तेस्रो पटक डिसेम्बर २०१९ कायम गरिएको हो । चैथोपल्ट म्याद थपिएसँगै आयोजना सम्पन्न मिति ३१ मार्च २०२० पुगेको छ । ‘अब थप गरिएको समयमा काम सकिन्छ भन्ने हाम्रो विश्वास छ’, अधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .