ad ad

समाज


आजदेखि ४ दिनसम्म देशव्यापी वर्षाको सम्भावना, काठमाडौँसहित यी ५६ जिल्ला उच्च जोखिममा

आजदेखि ४ दिनसम्म देशव्यापी वर्षाको सम्भावना, काठमाडौँसहित यी ५६ जिल्ला उच्च जोखिममा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज १०, २०८१ बिहिबार ८:३०, काठमाडौँ

आज (असोज १० गते) दिउँसोदेखि नेपालमा पानी पार्ने तीनवटा प्रणाली एकसाथ सक्रिय हुने भएकाले काठमाडौँसहित ५६ वटा जिल्ला असोज १३ गतेसम्म उच्च जोखिममा देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। त्यसमाथि बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा आउनाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव पर्ने भएकाले आज दिउँसोदेखि मौसम बदली (बादलको विकास) र वर्षा बढ्ने सम्भावना देखिएको हो।  

उल्लिखित तीनवटा मौसम प्रणालीका कारण कारण आज (बिहीबार) दिउँसोदेखि ४ दिन आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रही अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा तथा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान एवं मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। 

साथै सो अवधिमा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँसहित यी ५६ जिल्ला उच्च जोखिममा 
मौसम महाशाखाले आजदेखि आइतबारसम्म देशभर मौसम बदली र वर्षा हुने सम्भावना हेरेर देशका ५६ जिल्लालाई उच्च जोखिममा राखेको छ। 

ती हुन्-

झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङ, सिरहा, सप्तरी, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुमपूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान, डोटी, कैलाली र अछाम। 

यस्तै महाशाखाले ताप्लेजुङ, बारा, दोलखा, मुस्ताङ, डोल्पा, डडेलधुरा, संखुवासभा, धनुषा, कालिकोट, कञ्चनपुर, सोलुखम्बु, रौतहट, जुम्ला, 
बझाङ, सर्लाही, बाजुरा, महोत्तरी, दार्चुला र बैतडी गरी १९ जिल्लालाई वर्षाका कारण हुनसक्ने हिसाबले मध्यम जोखिममा राखेको छ भने मुगु र हुम्लालाई न्यून जोखिममा राखेको छ। 

हेर्नुहोस् सूची-

आज यस्तो छ वर्षाको सम्भावना
मौसम महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशभर मौसम साधारणतया बदलीदेखि पूर्णतया बदली (आकाशभरि बादल) रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

यस्तै आज राति पनि देशभर मौसम साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। कोसी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .