ad ad

समाज


५६ जिल्लामा वर्षाको ‘रेड अलर्ट’ : तयारी अवस्थामा सशस्त्र प्रहरी, देशभरका युनिट उच्च सतर्कतामा

५६ जिल्लामा वर्षाको ‘रेड अलर्ट’ : तयारी अवस्थामा सशस्त्र प्रहरी, देशभरका युनिट उच्च सतर्कतामा

नेपालखबर
असोज १०, २०८१ बिहिबार १४:५३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

मौसम विज्ञान विभागले आगामी तीन दिन (शुक्रबार, शनिबार र आइतबार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ। ५६ वटा जिल्लामा वर्षाको ‘रेड अलर्ट’ जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ।

यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमित सिंहले आफूहरू विपद्का कारण आइपर्ने घटनाहरुको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको जानकारी दिए। 

सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरूलाई आगामी तीन दिन उच्च सतर्कता अपनाउन सूचना जारी भइसकेको पनि उनले बताए। 

‘शुक्रबार, शनिबार र आइतबार देशव्यापी रुपमा मध्यम तथा भारी वर्षाको सम्भावना र त्यसले केही जिल्लाहरूमा उच्च शतर्कतामा बस्नुपर्ने अथवा मानविय र भौतिक क्षतिको जुन प्रक्षेपण गरेको छ, त्यसलाई मध्यनजर गरेर हामीले देशव्यापी रुपमा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू लगायत जिल्लास्थित गण, गुल्म तहका कार्यालयहरूमा रहेका विपद् फोकल पर्सनहरूलाई हामीले यो सम्बन्धी जानकारी दिइसकेका छौँ। परिपत्रमार्फत पनि गरेका छौँ। सञ्चारमाध्यमबाट पनि सतर्क गराइसकेका छौँ,’ उनले भने।

सशस्त्र प्रहरीका सबै युनिटहरू स्रोत, साधनसहित उच्च सतर्कताका साथ बसिरहेको जानकारी गराउँदै उनले १३ वटा हेभी इक्युपमेन्टलाई तयारी अवस्थामा राखिएको जानकारी गराएका छन्। 

त्यसैगरी बाढी, पहिरो र डुबानबाट बिस्थापित हुनेहरुका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरुलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ। 

‘आफ्नो उपलब्ध स्रोत, साधनसहित उनीहध यो कुरामा सचेत छन्। आफूले गर्नुपर्ने पूर्वतयारीमा स्रोत, साधनसहित तयारी अवस्थामा बसेका छन्। यसको लागि हामीसँग भएका १३ वटा हेभी इक्युपमेण्टलाई पनि तयारी अवस्थामा राखिएको छ। मान्छेहरू बाढी, पहिरो, डुबानका घटनाले विस्थापित भए भने अस्थायी रुपमा क्याम्प खडा गरेर तिनीहरूलाई राख्न सकिने सिस्टम अन्तर्गत २८ वटा कन्टेनरलाई तयारी हालतमा राखेका छौँ। अन्य आवश्यक उपकरणहरूलाई पनि हामीले विभिन्न जिल्लाहरूमा तयारी अवस्थामा राखिराखेका छौँ,’ उनले भने। 

सिंहले विपद्का लागि माथिल्लो तहदेखि तल्लो तहसम्मको सशस्त्र प्रहरी बलका युनिटमा जनशक्ति साधन, स्रोतसहित रहने पनि स्पष्ट पारे।

मनसुनलाई केन्द्रित गरेर ११० जना तालिमप्राप्त गोताखोरलाई सबै प्रदेशमा गरी १० स्थानमा केन्द्रित गरेर राखिएको जानकारी उनले दिए।

‘हामीहरू मनुसन सुरु हुनुभन्दा अगाडीदेखि नै देशभरका इकाइहरूमार्फत कृत्रिम घटना अभ्यास सञ्चालन गरेर मनसुनका लागि पूर्वतयारी कार्य गरिरहेका छौँ। हाम्रो देशभरमा रहेका इकाइहरूमा स्ट्याण्डबाई रुपमा बाहिनी मुख्यालय, शिक्षालयहरू र गण तहको कार्यालयहधमा सिनियर अधिकृतको कमाण्डमा एक प्लाटुन जनशक्ति स्ट्याण्डबाइ रहन्छ। तुरुन्तै र २४ सै घण्टा परिचालन हुने हिसाबमा बसेको हुन्छ। त्यो भन्दा तल्लो इकाइ बीओपी इकाइसम्म उपलब्ध स्रोत, साधनसहित स्ट्याण्डबाइ रहने व्यवस्था गरिएको छ,’ उनले भने।

त्यसैगरी डुबान र बाढीलाई मध्यनजर गरी ३९ वटा जिल्लाका ५९ सशस्त्र प्रहरी बलको कार्यालयहरुमा १२३ वटा मोटरबोट र रेस्क्यु ¥याफ्टलाई तयारी अवस्था राखिएको बताए।

‘मनुसुनलाई मध्यनजर गरेर देशभरको इकाइमा ११० जना गोताखोर तालिमप्राप्त जनशक्तिलाई दश स्थानमा केन्द्रित गरेर राखेका छौँ। डुबान र बाढीलाई मध्यनजर गरेर ३९ वटा जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा १२३ वटा मोटरबोट र रेस्क्यु ¥याफ्टलाई स्ट्याण्डबाई राखिराखेका छौँ। यो मनसुन अवधि भरका लागि स्ट्याण्डबाई रहने व्यवस्था हो,’ उनले भने।

सबै क्षेत्रमा आवश्यक समन्वयका लागि सञ्चार तालिम प्राप्त ९१ जना जनशक्ति परिचालन भइरहेको उनको भनाइ छ। सशस्त्र प्रहरी बल नेपालले आगामी तीन दिन अत्यावश्यक कामभन्दा बाहेक सडक यातायातको प्रयोग नगर्न आग्रह गरेको छ।

त्यस्तै, सम्भावित विपद्को जोखिम रहेको स्थान भए नजिकैको सशस्त्र प्रहरी बललाई जानकारी गराउनका लागि आग्रह समेत गरिएको छ। 

जानकारी पाउनासाथ सशस्त्र प्रहरी सो स्थानमा उद्धारका लागि पुग्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .