ad ad

कारोबार


सेनाको गण नसर्दा रोकियो भरतपुर विमानस्थल विस्तार

२ अर्बमा तयार हुँदै भरतपुरको टर्मिनल भवन, घाँसे मैदान बनेको मेघौली विमानस्थल सम्याइँदै
सेनाको गण नसर्दा रोकियो भरतपुर विमानस्थल विस्तार

भरतपुर विमानस्थल विस्तारको डिजाइन


वसन्त अर्याल
पुस २७, २०८० शुक्रबार १४:२९, चितवन

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनले तीव्र गति लिँदा धावनमार्गको काम सुरु हुनसकेको छैन। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन नसक्दा विमानस्थलको धावनमार्ग विस्तार हुन नसकेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत चैतमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै १–२ दिनभित्र नेपाली सेनासँग जग्गा लिई विमानस्थल विस्तार सुरु हुने दाबी गरेका थिए। 

तर नयाँ टर्मिनल भवन शिलान्यासको १ वर्ष हुन लाग्दा धावनमार्ग विस्तारको लागि जग्गा खाली गर्न नै सकिएको छैन। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारको लागि १९ बिघा जमिन आवश्यक पर्छ। 

हाल १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ। यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनुपर्नेछ।

यसका लागि नेपाली सेनाको गण सार्नुपर्छ। विमानस्थलनजिकै रहेको गण सार्न नेपाली सेना सहमत भए पनि पूर्ण रुपमा नसर्दा विस्तारको काम सुरु भएको छैन। 

‘नेपाली सेनाका संरचना सार्ने सहमति भइसकेको छ। अब हामी एमओयू गर्ने अवस्थामा पुगेका छौँ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले नेपालखबरसँग भने, ‘केही समयमै सेनाका संरचना खाली गरेर विमानस्थल निर्माण सुरु हुन्छ।’

भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेकलाई भरतपुर महानगरपालिका–१ स्थित दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सहमति भएको छ।   

विमानस्थल विस्तार हुँदा ठूला जहाज समेत उडान अवतरण हुनसक्ने गरी विमानस्थल विस्तार हुनेछ। विमानस्थलको धावनमार्गको लम्बाइ कम भएकाले ठूला जहाज उडान तथा अवतरण गर्न सक्दैनन्। 

आन्तरिक र बाह्य पर्यटकको गन्तव्य चितनवमा ठूला जहाज उडान तथा अवतरण गर्नसक्ने अवस्था छैन। चितवनमा राष्ट्रिय निकुञ्ज, मेघौली, पटिहानी र सौराहामा मानिसहरु घुम्न तथा बस्न जाने धेरै छन्। अहिले गैँडाकोट मौलाकालिका, सिजी कल्चरल भिलेजको लागि समेत भरतपुर विमानस्थल हुँदै पर्यटक जान्छन्। 

उडानमा समेत वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा नहुँदा भाडा महँगो छ। विमानस्थलमा एटीआर ४२, जेटस्ट्रिम ४१, बिचक्राफ्ट १९०, ट्विनअटर जहाज उडान अवतरण गर्न सक्छन्। हाल बुद्ध एयरको एटीआर ४२ले मात्रै उडान अवतरण गरिरहेका छन्। 

करिब २ अर्बमा बन्न लाग्यो टर्मिनल भवन 
करिब १० महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको नयाँ ट्रर्मिनल भवनको शिलान्यास गरेका थिए। 
विमानस्थलको विस्तार भएसँगै ७२ सिटे जहाज पनि अवतरण गर्न सक्नेछन्। 

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टर्मिनल भवन पिक आवरमा १ हजार यात्रुले सहजै प्रयोग गर्न सक्नेछन्।  

करिब १४ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको टर्मिनल भवन आयोजनाअन्तर्गत ८ हजार वर्गमिटरभन्दा बढी निर्माण क्षेत्र भएको दुईतले टर्मिनल भवन, ८ तले कन्ट्रोल टावर, पार्किङलगायतका पूर्वाधार हुनेछन्। 

यसको कुल लागत १ अर्ब ९२ करोड छ। निर्माण व्यवसायी केसी– क्षमादेवी–प्रतिष्ठा जेभीसँग ३ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

भरतपुर विमानस्थलको निर्माण सन् १९५८ मा भए पनि पहिलो उडान १९६१ मा भएको थियो। नेपाल वायुसेवा निगम तथा नेकोन एअरको एभ्रो जहाज अवतरण हुनसक्ने गरी सन् १९९४ मा ११ सय ५८ मिटरको धावनमार्ग बनाइएयता विमानस्थल विस्तार हुनसकेको छैन। 

भरतपुर विमानस्थलको विस्तार र टर्मिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुने प्राधिकरणले जनाएको छ। 

मेघौली विमानस्थल सम्याइँदै
यसैबीच, २०३० मा बनेको मेघौली विमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र होटल तथा लज सञ्चालन हुँदासम्म मेघौली विमानस्थल सहज रुपमा सञ्चालनमा थियो। 

राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स रिसोर्ट बन्द भएसँगै २०६७ मा मेघौली विमानस्थल बन्द भयो। विदेशीहरु जंगलभित्रका रिसोर्टमा जान जहाज चार्टर्ड गरेरै मेघौली विमानस्थलमा आउने गरेका थिए। नेपालीसहित विदेशीले निकुञ्जभित्र ६ वटा रिसोर्ट सञ्चालन गरेका थिए।  

राष्ट्रिय निकुञ्जबाहिर चौधरी ग्रुपको मेघौली सेराई, वाराही ग्रुपको जंगल लज खुलिसकेका छन्। सांग्रिला ग्रुप, वैद्य ग्रुपले मेघौलीमा ठूला रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्। मेघौलीका व्यवसायीले विमानस्थल नियमित सञ्चालनको माग गरे पनि विभिन्न कारणले चल्न सकेको छैन। तर कतिपय व्यवसायी विमानस्थल नचल्दा समेत खुसी छन्। 

यता वाराही जंगल लज सञ्चालन गरिरहेको वाराही ग्रुपका अध्यक्ष हरि पौडेलले मेघौली विमानस्थल राष्ट्रिय निकुञ्जनजिकै रहेकाले सञ्चालन नहुँदा पनि फरक नपर्ने बताए।

‘मेघौली विमानस्थल राष्ट्रिय निकुञ्ज नजिकै छ। भरतपुरबाट सडकको अवस्था राम्रो रहेकाले एयरपोर्ट चल्नैपर्छ भन्ने छैन’, पौडेलले भने, ‘विमानस्थल चल्दा ठूलो अवाजले निकुञ्जभित्रका जनावरमै असर पर्छ। वन्यजन्तुको हिसाबले नचल्दा पनि फाइदा नै छ।’

मेघौलीमा सन् २०१६ मा तारा एयरको चार्टर्ड विमान उडानसँगै नियमित सञ्चालन गर्ने भन्ने पनि आएको थियो। 

विमानस्थल अहिले नेपाली सेनाले प्रयोग गर्दै आएको छ। सञ्चालन नहुँदा धावनमार्ग नै बिग्रिएको अवस्थामा सम्याउने काम भइरहेको छ। 

‘मेघौली विमानस्थलको धावनमार्गमा खाल्डाखुल्डी भएर अहिले सम्याउन लागिएको छ’, प्राधिकरणका इन्जिनियर थापाले भने, ‘सम्याएर तत्काललाई नेपाली सेनाले नै प्रयोग गर्छ।’

भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दूरीमा मेघौली विमानस्थल छ। जहाँ १८ सिटेसम्मका जहाज चल्नसक्ने धावनमार्ग मात्र छ। 

यो पनि - 

सेनाको गण सारेर यसरी गरिनेछ भरतपुर विमानस्थलको धावनमार्ग विस्तार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .