कारोबार


हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सेनाले गरेको प्रस्तावमा के छ?

३ वर्षमा पूर्ण क्षमतामा सञ्चालन, ७० करोड लागत अनुमान
हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सेनाले गरेको प्रस्तावमा के छ?

हेटौँडा कपडा उद्योग। तस्बिर : सुनिता विष्ट/नेपालखबर


दीपक भट्ट
माघ २४, २०८० बुधबार १६:४१, काठमाडौँ

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न नेपाली सेनाले प्रस्ताव गरेको छ। 

सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्योग सञ्चालन गर्न सकिने मोडालिटीसहितको प्रस्ताव पेस गरेको छ। 

सो प्रस्ताव अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्तिमा समेत पठाइएको छ। 

नेपाली सेनाले गरेको प्रस्तावअनुसार आगामी ३ वर्षभित्र उद्योग पूर्ण रुपले सञ्चालन गर्न सकिनेछ। अहिलेको मेसिनरी आवश्यक नहुने बाह्य मेसिनरी आयात गरेर उद्योगको पुनर्संरचना नै गरेर पनि उद्योग सञ्चालन गर्न सकिने गरी सेनाले प्रस्ताव परेको पाइएको हो। 

मन्त्रालयहरुमा पुगेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षभित्र नेपाली सेनाले यस कपडा उद्योग सञ्चालनको जिम्मेवारी पाए तत्कालै डीपीआरको काम सुरु गर्न सकिन्छ। त्यस्तै पुराना मेसिनरी प्लान्टको प्रतिस्थापन र नयाँ मेसिनरी प्लान्ट छनौट तथा खरिद व्यवस्थापनको काम गर्न सकिनेछ। 

भौतिक सञ्चालनको मर्मत समेत तत्काल अघि बढाउन सकिनेछ।

नेपाली सेनाले भनेको छ, ‘आगामाी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार तयार गर्न सकिनेछ। त्यस्तै मेसिनरी प्लान्टको जडान गरी परीक्षण उत्पादन समेत गर्न सकिने अवस्था छ।’

आर्थिक वर्ष २०८२/०८३ मा पूर्ण रुपमा सञ्चालन गर्न सकिनेछ।   

हेटौंडा कपडा उद्योग पूर्ण रुपले सञ्चालन गर्न सके बुटवल धागो उद्योगमा समेत नेपाली सेनाले अध्ययन गरेर सञ्चालन गर्न सकिने गरी प्रस्ताव गरिएको छ। 

सेनाको प्रस्तावअनुसार हेटौंडा कपडा उद्योगमा हाल भएका पुराना मेसिनरीको उचित व्यवस्थापन गर्न आवश्यक छ।

उच्च आधुनिक प्रविधिका सर्भिस लाइफको आधारमा गुणस्तरीय उत्पादनको सुनिश्चितता हुने गरी हाई टेक मेसिनरी प्लान्ट खरिद व्यवस्थापन गरी प्रतिस्थापन गर्नुपर्नेछ। 

पहिलो चरणमा स्पिनिङबाहेकका सबै मेसिनरी प्रतिस्थापन गर्नुपर्नेछ। नेपालमा नै सञ्चालन रहेको धागो उद्योगबाट कच्चा पदार्थ ल्याएर सञ्चालन गर्नुपर्ने सेनाको अध्ययन छ। 

दुई सिफ्टमा उद्योग सञ्चालन गर्ने हो भने ३२ लाख मिटर कपडा उत्पादन गर्न सकिने प्रस्ताव सेनाले गरेको छ। 

सञ्चालन गर्दा लागत कति लाग्छ?
नेपाली सेनाका अनुसार प्रारम्भिक निरीक्षणको क्रममा हेटौंडा कपडा उद्योगको भवन, पेरिमिटर वाल, पोष्ट निर्माण तथा मर्मतसम्भारको लागि अनुमानित लागत २५ करोड आवश्यक पर्नेछ। 

प्लम्बिङ्ग तथा इन्डष्ट्रियल पाइपलाइन कार्यहरुको लागि अनुमानित लागत ५ करोड रुपैयाँ आवश्यक पर्नेछ। त्यस्तै इलेक्ट्रिफिकेसन र इन्डष्ट्रियल कार्यहरुको अनुमानित लागत ३ करोड ५० लाख र अन्य कार्यहरुको लागि अनुमानित लागत १ करोड ५० लाख आवश्यक पर्नेछ।

जसअनुसार प्राविधिक कामको लागि ३५ करोडसम्म लाग्न सक्ने देखिएको छ। सोको विस्तृत विवरण डीपीआर तयार भएपश्चात् मात्र एकीन हुने सेनाले जनाएको छ। 

पूर्ण रुपमा सञ्चालन गर्न नसकेर वा दुई सिफ्टमा करिब २६ लाख मिटर कपडा उत्पादन गर्न प्रस्तावित मेसिनरी प्लान्टको क्षमता सञ्चालन गर्दा उद्योग राम्रोसँग चल्ने सेनाको भनाइ छ। 

सेनाका अनुसार थोरै जनशक्तिबाट अधिकतम प्रतिफल हासिल गर्ने लक्ष्यअनुरुप करिब २०० जना जनशक्ति आवश्यक देखिएको छ।

उद्योगको उत्पादन क्षमता अभिवृद्धि तथा उत्पादन विस्तार गर्न मेसिनहरु थप गर्दा सोहीअनुसार प्राविधिक जनशक्ति बढ्न जानेछ। जसको खर्च सोहीअनुरुप हुनेछ। यसअनुसार कुल लागत ७० करोड अनुमान गरिएको छ। 

तर सांगठनिक संरचनामा तात्विक फेरबदल नहुने समेत सेनाको भनाइ छ। साथै, सैनिक कल्याणकारी कोषमार्फत लगानी गर्दा नेपाली सेनाका हिताधिकारीहरुलाई स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सहुलियतको अवधारणाअन्तर्गत सीप तथा रोजगारीको अवसर सिर्जना गरी जनशक्ति व्यवस्थापन गर्न सकिने समेत सेनाले बाटो देखाएको छ।  

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ।

अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। जसअनुसार नेपाली सेनाले हेटौंडा कपडा उद्योगको लागि प्रस्ताव पेस गरेको हो। यो उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ। 

थप तस्बिरहरू : सुनिता विष्ट/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .