ad ad

कारोबार


हिउँदमा जलविद्युत् उत्पादनले धान्न सकेन, सोलारमा लगानी बढाइँदै

हिउँदमा जलविद्युत् उत्पादनले धान्न सकेन, सोलारमा लगानी बढाइँदै

वसन्त अर्याल
फागुन ९, २०८० बुधबार १८:५०, काठमाडौँ

हिउँदमा पानी नपर्दा हाइड्रोपावरहरु क्षमताको १० प्रतिशत मात्रै उत्पादन गर्नसक्ने अवस्थामा पुगेका छन्। 

सुख्खायाममा क्षमताको ४० प्रतिशत उत्पादन हुने आकलन गरिएको थियो। तर अहिले कुनै कुनै हाइड्रोको उत्पादन १० प्रतिशतसम्म झरेको छ। 

४५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीबाट अहिले दैनिक औसत ६० देखि ६५ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ। हिउँदमा यस आयोजनाबाट कम्तीमा पनि ९० मेगावाट उत्पादन हुने अनुमान थियो। 

नेपाल विद्युत् प्राधिकरणले अपर तामाकोशीबाट पिक आवरमा मात्रै विद्युत् उत्पादन गरी व्यवस्थापन गर्दै आएको छ। दिउँसो र राति उत्पादन गरी बिहान र साँझ मात्रै पूर्ण क्षमतामा सञ्चालन गरिरहेको छ। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलवायु परिवर्तनको कारण सुख्खायाममा विद्युत् उत्पादन लगातार घटिरहेको बताए।

‘कालीगण्डकी करिडोरमा २०० मेगावाटको विद्युत् उत्पादन क्षमता छ’, घिसिङले भने, ‘पानी सुकेर अहिले २० मेगावाट अर्थात् १० प्रतिशत मात्रै उत्पादन भइरहेको छ।’

अहिले दैनिक विद्युत् माग १९ सय मेगावाट छ। त्यसमा करिब ५०० मेगावाट विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था छ। 

नेपालको अहिले करिब ३ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको र केही समयभित्रै ४०० मेगावाट थपिँदै छ। ५ वटा आयोजनामा प्रसारणलाइनको समस्या हुँदा जोड्न ढिलाइ भएको छ।  

राष्ट्रिय प्रसारणलाइनमा ८०० मेगावाटको जलविद्युत् आयोजना जोडिँदा हिउँदमा २०० मेगावाट मात्रै उत्पादन हुने अवस्था छ। अघिल्लो वर्ष हिउँदमा ५–६ सय मेगावाट जोडिए पनि अपुग नै छ। हरेक वर्ष नेपालमा ३०० मेगावाटका दरले विद्युत् माग बढ्दै गएको छ। 

जलवायु परिवर्तनको परिणाम
जलवायु परिवर्तनको कारण पानी नपर्दा उत्पादन घटेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २० हजार मेगावाटका विद्युत् जडान हुँदा ४ देखि ५ हजार मेगावाट मात्रै उत्पादन हुने अवस्था रहेको बताए। 

‘पब्लिक फोरममा हामीले विद्युत् खपत गर्ने हो निर्यात गर्ने होइन भन्ने आवाज उठ्ने गरेको छ’, उनले भने, ‘निर्यातको नीति नलिए हिउँदमा हामीलाई कहिल्यै पनि विद्युत् पुग्दैन। सुख्खा समयमा ८० प्रतिशत विद्युत् आयात गर्नुपर्छ।’

हिउँद र वर्षातमा विद्युतको माग उस्तै भए पनि विद्युत उत्पादन औसतमा २० प्रतिशत मात्रै सीमित रहेको उनको भनाइ छ।  निर्यातको नीति नलिए नेपाल विद्युतमा कहिल्यै आत्मनिर्भर नहुने घिसिङ बताउँछन्। 

विद्युत् प्राधिकरणले १० हजार मेगावाटको विद्युत् खरिद सम्झौता गरिसकेको छ। 

मंसिर–पुसमा पानी पर्दा हिउँ पर्ने सम्भावना हुन्छ। विस्तारै हिउँ पग्लिँदा विद्युत् उत्पादनमा सहयोग पुग्छ। यसले चैत, वैशाख र जेठमा सहयोग पुग्छ। तर अहिले हिउँ नै नपरेकाले उत्पादनमा कमी हुनेछ। 

अबको विकल्प सोलार
सुख्यायामको विद्युत् धान्नको लागि अपर अरुण, दूधकोशी, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना बनाउनुपर्ने हुन्छ। 

तर ठूला आयोजना बनाउन ७–८ वर्ष लाग्ने हुँदा सोलारमा लगानी गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ। 

घिसिङका अनुसार तत्कालको आवश्यकता पूरा गर्ने हो भने सोलार सिस्टममा लगानी गर्नुपर्छ। २ हजार मेगावाटको सोलारले २ वर्षमै बिजुली उत्पादन गर्न सकिन्छ। 

त्यही कारण पनि विद्युत् प्राधिकरण सोलार पोलिसीमा जान लागेको उनले सुनाए। विद्युत् खरिद सम्झौता भएको १० प्रतिशत बिजुली सोलारबाट उत्पादन गर्ने नीति लिएको छ। 

‘सय मेगावाटको सोलारले दिनभर ९० देखि १०० मेगावाटसम्मै विद्युत् उत्पादन गर्छ’, उनले भने, ‘जलाशययुक्त आयोजना दिनभर बन्द गरी पिक आवरमा मात्रै चलाउँदा पनि विद्युत् व्यवस्थापन गर्न सकिन्छ।’

अहिलेको अवस्थामा सोलारबाट उत्पादित एक हजार मेगावाट विद्युत् खरिद गर्न सकिने प्राधिकरणको भनाइ छ। प्राधिकरणले २०० सय मेगावाटको खरिद सम्झौता गरिसकेको छ। 

‘हिउँदको समयमा सोलार पावर हामीलाई एकदमै महत्वपूर्ण भयो’, घिसिङले भने, ‘सोलारबाट उत्पादन नगरे सुख्खायाममा धान्नै सक्दैनौँ।’

हाइड्रोभन्दा सोलारको लागत कम हुने भएकाले मूल्य पनि सस्तो पर्ने उनको भनाइ छ। वर्षातमा बढी उत्पादन हुँदा भारत, बंगलादेशमा निर्यात समेत गर्न सकिन्छ। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हाइड्रो उत्पादनको १० प्रतिशत वैकल्पिक ऊर्जाको विद्युत खरिद सम्झौता गर्ने नीतिअनुसार काम भइरहेको बताए। 

ढकालले विद्युत प्राधिकरणले १ मेगावाट माथिका आयोजनाको खरिद सम्झौता (पीपीए) गरेको बताए। 

‘विद्युत उत्पादनभन्दा सोलारबाट उत्पादन गर्न सहज र छोटो समयमा गर्न सकिन्छ,’ ढकालले भने, ‘विद्युत प्राधिकरणले मुल्यको आधारमा पीपीए खुलाएर सम्झौता गर्दै आएको छ।’

साढे ५ रुपैयाँमा खरिद भएको सुनाउँदै उनले २०३० सम्म सोलारबाट १५ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .