कारोबार


वर्षमान पुनले अर्थ मन्त्रालय छिर्दा देखाएको आत्मविश्वास

वर्षमान पुनले अर्थ मन्त्रालय छिर्दा देखाएको आत्मविश्वास

दीपक भट्ट
फागुन २३, २०८० बुधबार २२:८, काठमाडौँ

नयाँ सत्ता गठबन्धनसँगै पुनर्गठन भएको मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी वर्षमान पुनको काँधमा परेको छ।

आन्तरिक अर्थतन्त्र चलायमान बन्न नसकिरहेको तर बाह्य क्षेत्र राम्रो स्थितिमा रहेको अवस्थामा अर्थ मन्त्रालयमा पुनको प्रवेश भएको हो। अर्थमन्त्रीका रुपमा यो उनको दोस्रो इनिङ पनि हो। यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए।

बुधबार साँझ शपथ ग्रहण गरेर मन्त्रालयमा प्रवेश गरेका अर्थमन्त्री पुनले सबैलाई विश्वासमा लिएर काम गर्ने बताएका छन्। 

अर्थतन्त्र चलायमान बनाउन आफू सक्षम रहेकोले अब निजी क्षेत्रका समस्या समाधानबाट काम सुरु गर्ने उनको भनाइ छ।

उनले भने, ‘म यहीँबाट आह्वान गर्दछु कि भएका समस्याबाट नै काम सुरु हुन्छ। त्यसको समाधान र निचोड निकालिनेछ।’

अहिले मुलुकको अर्थतन्त्र संकटमा नभएर अपेक्षित हिसाबले चलायमान मात्र नभएको उनको भनाइ थियो।

अर्थमन्त्रीको कार्यभार सम्हाल्दै उनले भने, ‘अब अर्थतन्त्रमा रहेका चुनौतीलाई सबैभन्दा पहिला सबै मन्त्रालयबीच समन्वय गरेर समाधान गर्नुपर्नेछ। सरकारको प्राथमिकता अनि प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोबल उठाएर आशा जगाउने गरी काम गर्न आएको छु।’

सन् २००८ को विश्वव्यापी आर्थिक संकटलगत्तै २०११ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि आफूले संकट समाधान गरेको दाबी गर्दै उनले अहिले पनि समाधान गर्न सक्छु भनेर नै आएको बताए।

उनले भने, ‘आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्नेछु।’

त्यस्तै उनले राजस्व संकलन र खर्च व्यवस्थापनका समस्याबारे आफू अवगत रहेको बताए।

चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट छुट्याइएको छ। जसमा अहिलेसम्म ७ खर्ब ५२ अर्ब रुपैयाँ मात्र खर्च भएको छ।

चालू खर्च ११ खर्ब ४१ अर्ब रुपैयाँ गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म ४८ दशमलव ५४ प्रतिशत अर्थात् ५ खर्ब ५४ अर्ब रुपैयाँ खर्च भएको छ। समग्र खर्चमा समेत सरकार कमजोर देखिएको छ।  

अझ पुँजीगत खर्च ३ खर्ब २ अर्ब गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म २४ दशमलव ५४ प्रतिशत अर्थात् ७३ अर्ब मात्रै भएको छ। यो निकै कमजोर अवस्था हो।

वित्तीय व्यवस्थापनमा ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन भएकोमा ४० दशमलव ६० प्रतिशत अर्थात् १ खर्ब २४ अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्षका अब करिब ४ महिना मात्रै बाँकी छन्।

त्यस्तै चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ४२ दशमलव ६० प्रतिशत अर्थात् ६ खर्ब ५ अर्ब रुपैयाँ मात्र संकलन भएको छ।

जसमा कर राजस्व ५ खर्ब ४७ अर्ब  र गैरकर राजस्व ५८ अर्ब रुपैयाँ छ। अनुदान २ अर्ब पाएको सरकारले अन्य आम्दानी २१ अर्ब पाएको छ। सरकारको समग्र आम्दानीको लक्ष्यमा समेत कमजोर छ।

तर मन्त्री पुनले पहिले पनि आफूले अर्थ मन्त्रालय सम्हाल्दा खर्च व्यवस्थापन तथा राजस्व संकलनको क्षेत्रमा केही राम्रो सुरुवात गरेकोले त्यसलाई निरन्तरता दिने बताए।

उनले भने, ‘सबै स्थानमा समस्या छैनन्, भएका समस्याको समाधानबाट नै काम सुरु गर्नेछु।’

अर्थ मन्त्रालय छिर्दै गर्दा उनले राजस्व संकलनको अवस्थाबारे समेत अवगत रहेको देखाएका छन्।

उनले भने, ‘गत वर्षभन्दा यो वर्ष १० प्रतिशतले राजस्व बढेको छ। आगामी महिनादेखि दोब्बर बनाउनेछु।’

आफूले बोलेरभन्दा पनि काम गरेर देखाउन चाहेको उनको भनाइ थियो।

पुनले भने, ‘अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ, अरुलाई आलोचना गरेरभन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो।’

विगतका अर्थमन्त्रीहरूले गरेका असल प्रयासलाई निरन्तरता दिँदै अनुभवका आधारमा काम अगाडि बढाउने उनले बताए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .