कारोबार


नेपालबाट विदेशी लगानीकर्ताले लैजाने प्रतिफल कमजोर, ८ महिनामा कति लगे?

नेपालबाट विदेशी लगानीकर्ताले लैजाने प्रतिफल कमजोर, ८ महिनामा कति लगे?

दीपक भट्ट
चैत २, २०८० शुक्रबार १३:४१, काठमाडौँ

नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताको प्रतिफल कमजोर देखिएको छ। 

अहिलेसम्म ४ खर्ब ७९ अर्ब रुपैयाँबराबरको प्रतिबद्धता र लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

उक्त लगानीअनुसार चालू आर्थिक वर्षको ८ महिना अर्थात् फागुनसम्म विदेशी लगानीकर्ताले १० अर्ब रुपैयाँ मात्र प्रतिफल लैजाने अनुमति पाएका छन्। 

केन्द्रीय बैंकका अनुसार त्यसमध्ये १ अर्ब ५३ करोड रुपैयाँ रोयल्टीबापत र ८ अर्ब ५० करोड रुपैयाँ लाभांशमार्फत लगानीकर्ताले फिर्ता लैजानलागेका हुन्। 

करिब ३० वटा कम्पनीलाई उक्त प्रतिफलबराबरको रकम लैजान केन्द्रीय बैंकले स्वीकृति दिएको छ।  

यसअघि आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीकर्ताले २८ अर्ब ३ करोड रुपैयाँ नेपालबाट लगेका थिए।

त्यसैगरी २०७८/७९ मा १८ अर्ब १२ करोड रुपैयाँ र गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब १७ करोड रुपैयाँ मात्रै प्रतिफल लगेका थिए।

सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दै छ। त्यसका लागि कानुन संशोधनदेखि विदेशी लगानीकर्तालाई औपचारिक निम्तो पठाउनेसम्मका काम भइरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव एकनारायण अर्यालको संयोजकत्वमा कानुन संशोधनका लागि समिति नै गठन भएको थियो। सो समितिले विभिन्न १० वटा ऐनका ३८ दफा संशोधन गर्नुपर्ने औँल्याएको छ।

यस्तो अवस्थामा लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई देखाउने मुख्य आकर्षणमध्ये नेपालबाट बाहिरिने प्रतिफल पनि पर्छ। तर नेपालबाट विदेश लगेको रकम निरन्तर घट्दो क्रममा रहेको माथिको तथ्यांकले देखाउँछ।  

विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर त्यसमार्फत भएको प्रतिफललाई रोयल्टी र लाभांशमार्फत विदेश लैजाने गरेका छन्।

यसरी धेरै प्रतिफल लैजाने कम्पनीहरुमा गोर्खा ब्रुअरी, एनसेल, सूर्य नेपाल, युनिलिभरजस्ता कम्पनीहरु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .