ad ad

कारोबार


आहार खोज्दै विमानस्थलमा चरा, फोहोर व्यवस्थापनमा चुक्दा उडान सुरक्षामा प्रश्न

आहार खोज्दै विमानस्थलमा चरा, फोहोर व्यवस्थापनमा चुक्दा उडान सुरक्षामा प्रश्न

गत भदौ २३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थिम्पुका लागि उडेको ड्रुक एयरको विमान। तस्बिर : रासस


वसन्त अर्याल
चैत १२, २०८० सोमबार १७:५१, काठमाडौँ

आइतबार करिब ३ घण्टा पोखरा विमानस्थल बन्द भयो। धावनमार्गमा चराहरुका कारण दिउँसो १२ बजेसम्म नै उडानमा ढिलाइ भयो।

जहाजहरु अवतरण गर्न नसकेर डाइभर्ट नै गर्नुपर्यो। बुद्ध एयर र यति एयरलाइन्सका जहाज डेढ घण्टा होल्ड भएर काठमाडौंमै फर्किएका थिए। 

एयरलाइन्सहरुका अनुसार १२ बजेपछि विमानस्थल सञ्चालनमा आए पनि चराको बथान धावनमार्गमा उडिरहेका थिए। यसले पोखरा विमानस्थलको हवाइ उडान सुरक्षामा प्रश्न उठेको छ। 

२०७९ मा पोखरा विमानस्थलमै बुद्ध एयरको जहाजमा चरा ठोक्किएको थियो। गत वर्ष पुसदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएको थियो। त्यसको केही दिनमै यति एयरलाइन्सको जहाज दुर्घटना भयो।

यतिको दुर्घटनामा पाइलटको त्रुटि देखियो। तर भयानक दुर्घटना भएको एक वर्ष नहुँदै विमानस्थलको संवेदनशीलतामा ध्यान नदिएको देखिएको छ। 

१४ नम्बर वडामा पर्ने पुरानो डम्पिङ साइट अहिले ३२ नम्बरमा सारिएको छ। तर पुरानो डम्पिङ साइट र नजिकै फोहोर खोला बग्दा चराहरु आहार खोज्न जाने गरेका छन्। 

चराले हैरानी
यसबाहेक महानगरबासीले खोलामा मरेका जीवजन्तु, कुखुरा फाल्दा विमानस्थललाई चराले हैरान पारिरहेको छ। 

पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले अहिले विमानस्थल भएको ठाउँमा पहिला डम्पिङ साइट हुँदा पहिला आउने चराहरु अहिले पनि आउने गरेको सुनाए। 

पुरानो डम्पिङ साइट पुरिए पनि नजिकै खोलामा सिनोहरु भेटिएकाले बेला बेला गिद्ध, चिल लगायत चरा आउन नछाड्दा समस्या भएको उनको भनाइ छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदी किरा फट्याङ्ग्राकै कारण चरा आएको बताउँछिन्। 

‘लगातार पानी आयो। लगत्तै घाम लाग्दा किरा फट्याङ्ग्रा निस्किए’, सुवेदीले नेपालखबरसँग भनिन्, ‘मौसमको कारण निस्किएका किरा फट्याङ्ग्रा खान चरा आएको देखिन्छ।’

औषधि हालेर किरा फट्याङ्ग्रा मार्दै  
सोमबार विमानस्थल नियमित रुपबाटै सञ्चालन भइरहेको छ। यसैबीच, सोमबार पोखरा विमानस्थलले किटनाशक औषधि प्रयोग गरी किरा फट्याङ्ग्रा मारिरहेको जनाएको छ। 

‘हिजोको घटनालाई गम्भीर रुपमा लिएका छौँ। अब थप अध्ययन गरेर विमानस्थल कसरी सुरक्षित बनाउन सकिन्छ हेर्छौँ’, उनले भनिन्, ‘पेस्टिसाइड छरेर किरा आउनबाट रोक्ने प्रयास गरिरहेका छौँ।’

यति एयरलाइन्सका सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्गमा चराका बथान लामो समयसम्म देखिनु संवेदनशील विषय भएको बताए।  

‘चरासँग ठोक्किएर धेरै दुर्घटना भएका उदाहरण छन्’, बर्तौला भन्छन्, ‘पोखराको डम्पिङ साइटकै कारण किरा फट्याङ्ग्रा धावनमार्गमा आए। फट्याङ्ग्रा खान चरा आउँदा जहाज उडान तथा अवतरण हुन सकेन।’

विमानस्थलमा ‘बर्ड एक्टिभिटी’ बढी हुनु अन्तर्राष्ट्रिय विमानस्थलको ठूलो समस्या रहेको बताए।

तार जाली लगाएर चरा रोक्न सकिँदैन। त्यसकारण चराकै बासस्थान सार्ने र डम्पिङ साइटको राम्रो व्यवस्थापन गर्नुपर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ। 

‘चराको बासस्थान र फोहोरको व्यवस्थापन गर्नुपर्छ’ 
चराको बासस्थान सार्न नेपाल सरकार, पोखरामा फोहोरको व्यवस्थापन गर्न महानगरले राम्रो ध्यान दिनुपर्ने बर्तौलाले बताए। 

‘आन्तरिक जहाज उड्नै गाह्रो भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न झन् अप्ठ्यारो हुन्छ’, उनले थपे, ‘सबै मिलेर यसको दीर्घकालीन समाधान खोज्नुपर्छ।’

उनका अनुसार जेट विमानमा उडान गर्दा झन् सुरक्षा चुनौती बढी हुनेछ। जहाजमा आगलागी तथा अनियन्त्रित भई दुर्घटना हुने सम्भावना बढी हुने उनको भनाइ छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले भने अन्तर्राष्ट्रियरुपमा चलेका विमानस्थलमा चराहरुले उडान ट्राफिकमा समस्या पार्ने गरेको सुनाए। 

‘यो सामान्य घटना त होइन तर विदेशमा चलेका विमानस्थलमा बारम्बार यस्ता घटना भइरहन्छन्’, निरौलाले भने, ‘त्रिभुवन विमानस्थलमा पनि कहिलेकाहीँ चराले दुःख दिने गरेका छन्।’

उनले धावनमार्ग नजिकैको डम्पिङसाइट पुरेको भए पनि चराको बासस्थान सार्न समय लाग्ने देखिएको बताए। 

‘धावनमार्गमा एकैपटक किरा, फट्याङ्ग्रा कहाँबाट आए, त्यसको अध्ययन गरी निराकरण गर्नुपर्छ’, उनले भने। 

चराको बासस्थान सार्न सकिँदैन : डा. ढुंगाना
वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना भने चराको बासस्थान सार्न नसकिने बताउँछन्। 

‘पोखरा विमानस्थलनजिकै डम्पिङ साइट र सिनोहरु हुने भएको कारणले त्यहाँ चरा आएको भन्ने छ’, महानिर्देशक ढुंगानाले भने, ‘स्वतन्त्र चराको बासस्थान सार्न सकिँदैन तर उनीहरु आउने कारण खोजेर रोकथाम गर्न सकिन्छ।’

जंगली जनावरले कुनै ठाउँमा जनजीवनलाई अप्ठ्यारो पारे अर्को ठाउँमा स्थानान्तरण गर्न सकिने भए पनि चरा विभिन्न देशबाटै नेपालमा आउने भएकाले अर्को ठाउँमा लैजान नसकिने उनले सुनाए। 

‘चराको बासस्थान सार्ने भनेको डम्पिङ साइट पोखरा विमानस्थलबाट धेरै टाढा लैजानु हो’, उनले भने, ‘नजिकै खुल्ला ल्यान्डफिल साइट हुँदा चरा रोक्न सकिँदैन।’

पोखरा महानगरले फोहोर व्यवस्थापनको लागि विभिन्न देशमा गएर अध्ययन गरे पनि त्यसको कार्यान्वयन राम्रोसँग गर्नसकेको छैन। जुन ठाउँमा विमानस्थल छ, सोही ठाउँमा डम्पिङ साइट रहँदा चरा आउने सम्भावना अत्यधिक हुन्छ। 

‘हामीले खोलामा सिनो नफाल्न र विमानस्थल क्षेत्र वरपर सरसफाइमा बढी ध्यान दिनुपर्ने नै छ’, महानगरका प्रवक्ता तिम्सिनाले भने, ‘आइतबार एक्कासि धेरै चरा देखिएका छन् त्यसको लागि विमानस्थल कार्यालय र हामी मिलेर रोकथामका काम गर्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .