कारोबार


लगानी सम्मेलनमा एडीबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल आउने

आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता
लगानी सम्मेलनमा एडीबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल आउने

नेपालखबर
चैत २७, २०८० मंगलबार १४:३५, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्। 

नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले सो कुरा बताएका हुन्। 

मन्त्री पुनले आर्थिक रुपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको उनको भनाइ थियो। गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरु भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे।

आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे। उत्पादनमुलक क्षेत्रमा वृद्धि घटेको  देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको बताए। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको उनको भनाइ थियो।

आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरुसँग निरन्तर संवाद र परामर्श गरिरहेको मन्त्री पुनले बताए। 

नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको भन्दै मन्त्री पुनको भनाइ छ। १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे।

पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए। ती सडकहरुको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे। 

महानिर्देशक कोनेसीले एडीबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए। यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा एडीबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .