नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले युनिलिभर नेपाल लिमिटेडको बढेको अधिकृत पुँजी अपडेट गरेको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले अधिकृत पुँजी वृद्धिको लागि युनिलिभरले गरेको प्रस्ताव स्वीकृत गरेको थियो। योसँगै ३० करोड रुपैयाँ रहेको अधिकृत पुँजी २ अर्ब १४ करोड रुपैयाँ पुगेको हो।
बढेको पुँजी कम्पनीको प्रतिसेयर मूल्य १ सय रुपैयाँका दरले २ करोड १४ लाख कित्ता सेयरमा विभाजन गरिएको युनिलिभरले जनाएको छ। उक्त सेयरहरु प्रिफरेन्स वा साधारण सेयरहरुमा र शर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका सेयरहरुमा विभाजित गर्न सकिने कम्पनीले जनाएको छ।
नेप्सेमा कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छ। यसअनुसार चुक्ता पुँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ। युनिलिभरको बजार पुँजीकरण ३६ अर्ब २३ करोड ४ लाख ६५ हजार ७ सय रुपैयाँ छ।
सेयरबजारमा कम्पनीको सेयर सोमबार प्रतिकित्ता ३९ हजार ३ सय ५१ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीमा शतप्रतिशत संस्थापक सेयर स्वामित्व छ।
युनिलिभरले आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिकमा ४८ करोड ६१ लाख २२ हजार ८ सय ४६ रुपैयाँ नाफा गरेको थियो भने उक्त अवधिमा प्रतिसेयर आम्दानी ५२८ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ उक्त अवधिसम्म ३ हजार १ सय ६२ रुपैयाँ छ।
Shares
प्रतिक्रिया