ad ad

कारोबार


एसपीए स्टार्टअप फन्डको विजेता बन्यो एकता भैँसी फार्म स्टार्टअप आइडिया, १० लाख पाउने

एसपीए स्टार्टअप फन्डको विजेता बन्यो एकता भैँसी फार्म स्टार्टअप आइडिया, १० लाख पाउने

नेपालखबर
असार १२, २०८१ बुधबार १३:१९, धनगढी

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ थालनी गरेको स्टार्टअप फन्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन्।

सोमबार भएको ग्रान्ड फिनालेमा एसपीए कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत छात्र तामाङको एकता भैँसी फार्म स्टार्टअप आइडिया छनौटमा परेको हो।

तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनौट भएसँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्नेछ।

२०८० साउन १७ गते एसपीए कलेजले 'एसपीए स्टार्टअप फन्ड' को घोषणा गरेसँगै २०८० भदौ २५ सम्म विद्यार्थीहरूलाई आफ्नो आइडिया सहितको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो।

सोहीअनुसार प्रस्तावित आइडियाहरूमाथि विद्यार्थीहरूले विभिन्न चरणमा प्रकाश पारेसँगै त्यसबाट उत्कृष्ट ५ आइडिया छनौट गरी कलेजको पेजमा उनीहरूका आइडिया सार्वजनिक गरी त्यसबाट सर्वसाधारणको प्रतिक्रिया लिइएको थियो भने २०८१ असार १० गते तीन जना जज सहितको भव्य ग्रान्ड फिनाले कार्यक्रम मार्फत उत्कृष्ट स्टार्टअप आइडिया छनौट गरिएको छ।

उक्त कार्यक्रमको प्यानल अफ जजमा आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय रहेका थिए।

फाइनल राउन्डमा उनीहरूले आफ्नो आइडिया प्रस्तुत गरेसँगै अनलाइन भोटिङ, आइडिया प्रस्तुत गर्ने शैली, आत्मविश्वास, बजारले स्वीकार गर्ने योग्य सम्भाव्यता र जजहरूको दिएको नम्बरको आधारमा नवीन सोच, योजना, विचार लाई उत्कृष्ट स्टार्टअप आइडिया घोषणा गरिएको कोषका संयोजक मनोज भट्टले बताए।

भट्टका अनुसार उत्कृष्ट ५ स्टार्टअप आइडिया मध्ये पहिलो भएको मेखराज तामाङको एकता भैंसी फर्म स्टार्टअप आइडियाले कलेजबाट प्रदान गरिने स्टार्टअप फन्ड मार्फत दश लाख नेपाली रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो रोशन सिंहको धनगढी गट फार्मिङ, तेस्रो यशोदा जोशीको इमेज फुटवयर, चौथो आयुस्मा जोशीको फारवइस्ट डेकुरेसन हब र रमेश रानाको प्रिन्स पोल्ट्री फम स्टार्टअप आइडियाले पाँचौँ स्थान हासिल गरेको थियो।

एकता भैंसी फर्म स्टार्टअप आइडिया प्रस्तुत गरी विजेता बनेका मेखराज तामाङले यो विशेष अवसरका लागि एसपीए कलेज परिवारलाई धन्यवाद दिँदै आफ्नो आइडिया साकार पार्न शतप्रतिशत मिहिनेत गर्ने र लगानी कर्ता कलेजलाई दु:खी नबनाउने बताएका छन्।

सो अवसरमा प्रतिक्रिया दिँदै जज समेत रहेका कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले एसपीए कलेजले प्राइभेट क्षेत्रबाट पनि नवउद्यमीहरूको नवप्रवर्तनको निम्ति आफ्ना विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु नौलो र उदाहरणीय काम भएको बताउँदै यस कार्यको लागि कलेज परिवारलाई बधाई दिएका छन्।

यस्तै, उक्त कार्यक्रमको जज समेत रहेका आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकीले यो उत्कृष्ट कार्यको लागी एसपीए कलेजलाई बधाई दिँदै विजेता तथा टप फाइनलिष्टहरू ले आफ्नो आइडियामा निरन्तर काम गरे सदैव सहयोग गर्न तयार रहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एसपीए कलेजले स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन, आईटीका विभिन्न विषयहरू सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .