ad ad

कारोबार


निर्यात व्यापारमा औद्योगिक कच्चा पदार्थको घट्दो आयातको धक्का

निर्यात व्यापारमा औद्योगिक कच्चा पदार्थको घट्दो आयातको धक्का

वसन्त अर्याल
साउन १२, २०८१ शनिबार १०:७, काठमाडौँ

नेपालमा सबैभन्दा बढी वैदेशिक कारोबार हुने वीरगन्ज भन्सार कार्यालयले गत वर्ष लक्ष्यको ६४.१६ प्रतिशत अर्थात् १ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। 

खानेतेलको कच्चा पदार्थ, गाडीलगायतका वस्तुको आयातमा कमी आउँदा त्यसको असर राजस्व संकलनमा देखिएको हो। 

‘क्रुड आयलको (पाम आयल लगायत) आयात अघिल्ला वर्षको तुलनामा बढी नै घटेको छ’, वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत रघुलाल कर्णले राजस्व घट्नुको कारणबारे भने, ‘त्यसबाहेक निर्यातजन्य उद्योगले ल्याउने कच्चा पदार्थको आयात पनि घटेको छ।’

विद्युतीय गाडीको आयात बढे पनि पेट्रोल डिजेल गाडीको आयात लक्ष्यअनुसार नबढेको भन्सार विभागले जनाएको छ। 

दोस्रो बढी वैदेशिक व्यापार हुने नाका भैरहवाको अवस्था वीरगन्जको तुलनामा झन् कमजोर बनेको छ। भैरहवा भन्सारले सरकारी लक्ष्यको ६३.२४ प्रतिशत अर्थात् १ खर्ब २७ अर्ब रुपैयाँ लक्ष्यमध्ये ८० अर्ब ४५ करोड रुपैयाँ मात्रै राजस्व उठाएको छ। 

‘विगतका वर्षको तुलनामा मोटरसाइकल, ढुवानीका गाडी, मार्बल र टायल, गार्मेन्टका वस्तुको आयात नै घटेको छ’, भैरहवा भन्सारका अधिकृत नरेन्द्र प्रसाद चौधरीले भने। 

विभागको तथ्यांकअनुसार पछिल्ला २ वर्षमा लगातार वैदेशिक व्यापार घटेको छ। 

नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्ष २०८०/०८१ मा १.३३ प्रतिशतले घटेको छ। १२ महिनाको तथ्यांकअनुसार गत आवमा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँको कुल वैदेशिक व्यापार गरेको छ।    

यस अवधिमा आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले घटेको छ।  गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात र १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको मात्र निर्यात भएको छ।

आर्थिक वर्ष २०७९/०८० मा १६ खर्ब ११ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्बको निर्यात भएको थियो। जुन त्यसअघिका वर्षको तुलनामा १६ प्रतिशतले आयात र २१ प्रतिशतले निर्यात घटेको देखिन्छ। उक्त वर्ष १७ खर्ब ७८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएको थियो भने निर्यात २ खर्ब रुपैयाँ पुगेको थियो। सो वर्ष नेपालले २१ खर्ब २० अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। 

औद्योगिक कच्चा पदार्थको आयात घट्दा निर्यातमा धक्का
तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा उत्पादनमूलक उद्योगको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ। 

नेपालमा आयात भएर निर्यात हुने क्रुड आयलको आयात र निर्यात दुवै घटेको छ। त्यसैगरी वनस्पतिजन्य घिउ तथा तेल आव ०७९/८० मा ८६ अर्ब ८१ करोड भित्रिएको थियो। गत वर्ष भने ४८ अर्ब २७ करोड रुपैयाँको मात्र यस्ता वस्तु भित्रिएका छन्। भारतले नेपालबाट हुने आयातमा कडाइ गर्दा क्रुड आयलको आयात र निर्यातमै गिरावट आएको छ। नेपालमा प्रयोग हुने तेलको आयात पनि घटेको छ। २४ अर्ब २७ करोड रुपैयाँको आयात भएको तेल गत वर्ष २१ अर्ब ७७ करोडको मात्र भित्रिएको थियो। 

यसबाहेक नियमित उपभोगमा प्रयोग हुने तरकारी र दलहनको पैठारी पनि गत वर्ष घटेको छ। आर्थिक वर्ष २०७९/८० मा ३१ अर्ब ८७ करोड  तरकारीको आयात भएकोमा गत आर्थिक वर्षमा २८ अर्ब ३१ करोडको मात्र आयात भएको थियो। यता अघिल्लो वर्ष ५६ अर्ब ६२ करोड रुपैयाँको आयात भएको दलहन गत वर्ष ४५ अर्ब ७९ करोडको मात्र आयात भएको छ। मलजन्य वस्तु अघिल्लो आवमा ४० अर्ब ४६ करोडको भित्रिएकामा गत वर्ष ३६ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। 

त्यसैगरी नेपालमा विद्युतीय गाडीको प्रयोगको वृद्धि र ढुवानीका साधनको बिक्री कम हुँदा पेट्रोलियम पदार्थको आयात वृद्धिदरमा ‘ब्रेक’ लागेको छ। रकमको हिसाबले पेट्रोलियम पदार्थ अघिल्लो वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँको भित्रिएकोमा गत आर्थिक वर्षमा ३ खर्ब ३७ अर्ब रुपैयाँको मात्रै भित्रिएको छ। 

यता औषधिजन्य पदार्थको आयातमा पनि गिरावट देखिएको छ। अघिल्लो वर्ष ४४ अर्ब ४६ करोड रुपैयाँको आयात भएको फार्मास्युटिकल प्रोडक्ट्स गत वर्ष ४२ अर्ब १३ करोडको आयात भएको छ। 

त्यस्तै अघिल्लो वर्ष ६० अर्ब ८५ करोडको प्लास्टिकजन्य वस्तु आयात भएकामा गत वर्ष ५९ अर्ब १ करोडमा सीमित भएको छ। यसबाहेक सेरामिक प्रोडक्ट अघिल्लो वर्ष ११ अर्ब ५५ करोडको आयात भएकोमा गत वर्ष ९ अर्ब ६८ करोड रुपैयाँबराबरको भित्रिएको छ। गरगहनाको आयात ५१ अर्ब ५३ करोड रुपैयाँबाट ३४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ। 

आइरन र स्टिल १ खर्ब ४० अर्ब रुपैयाँको आयात भएकोमा गत वर्ष १ खर्ब २४ अर्बको भित्रिएको छ। स्टिल र आइरनको कच्चा पदार्थको आयात २६ अर्ब ३३ करोड रुपैयाँबाट २२ अर्ब ५२ करोड रुपैयाँमा झरेको छ। आल्मुनियमा १५ अर्ब आयात भएकोमा १४ अर्ब ३० करोडमा खुम्चिएको छ।

आयात (रु. अर्बमा)

वस्तु २०७९/८० ०८०/०८१ 
पेट्रोलियम पदार्थ ३५२ ३३७
स्टिल १४० १२४
स्टिलको कच्चा पदार्थ २६.३३ २२.५२
गरगहनाको आयात ५१.५३ ३४.११
वनस्पति घ्यू, तेल ८६.८१ ४८. २७
मल ४०.४६ ३६.४४
दलहन ५६.६२ ४५.७९

स्रोत : भन्सार विभाग

डन्डी र सिमेन्ट निर्यात बढ्दा अरु वस्तुको घट्यो
गत आर्थिक वर्षमा सिमेन्ट र डन्डीको निर्यात भारतमा बढ्दा अधिकांश वस्तुको निर्यातमा गिरावट आएको छ। २ वर्षअघिको निर्यातमा ४८ अर्बले गिरावट आएको छ। त्यसमा सबैभन्दा ठूलो हिस्सा क्रुड आयलकै छ।

वनस्पति तेल तथा घ्यूको निर्यात सबैभन्दा धेरै घटेको छ। अघिल्लो वर्ष २९ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएकोमा ७ अर्ब ५२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ। यसमा मुख्यगरी पाम आयलको भूमिका छ। 

अघिल्लो वर्ष १५ अर्ब ९७ करोड रुपैयाँको टेक्सटायल र बुनेका कपडा निर्यात भएको थियो। जुन गत आवमा १६ अर्ब ५० करोड पुगेको छ।

तयारी कपडाको निर्यात केही बढे पनि सिल्क ऊनीका कपडाको निर्यात घटेको छ। भन्सारको तथ्यांकअनुसार सिल्क र ऊनीका कपडा अघिल्लो आवमा २५ अर्ब ५२ करोडको निर्यात गरेकोमा गत आवमा २४ अर्ब ३४ करोडको मात्रै निर्यात भएको छ। 

कार्पेटजन्य निर्याततर्फ अघिल्लो वर्ष १२ अर्ब २५ करोड पुगेकामा गत आवमा ११ अर्ब ४८ करोडको मात्रै निर्यात भएको छ। अघिल्लो वर्ष कफी, चिया १४ अर्ब ७ करोडको निर्यात गरेको नेपालले गत आवमा १३ अर्ब ४४ करोड रुपैयाँमा घटेको छ। डेरी प्रोडक्टको निर्यात पनि १ अर्ब ६३ करोडबाट १ अर्ब ५९ करोडमा घटेको छ। 

अघिल्लो वर्ष नेपालले १ वर्षमा १० अर्ब ८२ करोड रुपैयाँको स्टिलजन्य निर्यात गरेको थियो। गत आवमा बढेर उक्त निर्यात १७ अर्ब ४० करोड पुगेको छ। यो वर्ष सिमेन्टको निर्यात ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार १ वर्षमा क्लिङ्कर १ अर्ब ८८ करोड रुपैयाँको निर्यात भएको छ भने सिमेन्ट १ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ।

निर्यात (रु. अर्बमा)

वस्तु २०७९/८० ०८०/०८१
सिल्क र ऊनी कपडा २५.५२ २४.५२
कार्पेट १२.२५ ११.४८
वनस्पति घ्यू तेल २९.४४ ७.५२
चिया–कफी १४.०७ १३.४४

स्रोत : भन्सार विभाग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .