ad ad

कारोबार


पर्यटनमन्त्रीलाई सीएनआईको सुझाव : युरोपसँग सिधा हवाइ सम्पर्क पुनर्स्थापना गरौँ

कामको प्राथमिकता हेरेर अगाडि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
पर्यटनमन्त्रीलाई सीएनआईको सुझाव : युरोपसँग सिधा हवाइ सम्पर्क पुनर्स्थापना गरौँ

नेपालखबर
भदौ २, २०८१ आइतबार १४:५२, काठमाडौँ

नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ।

आइतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाइ सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ। 

यस्तै हवाइ दुर्घटना न्यूनीकरण, दुईवटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ। 

परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका उपाध्यक्ष राज बहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए। पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउँदै उनले समाधानका उपाय समेत सुझाए। 

छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे। पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राति १२ बजेसम्म गर्न उनले आग्रह गरेका हुन्। 

उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मुल्य धेरै भएकोले लक्ष्य अनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने बताए। हवाइ टिकटमा लगाइएको मूल्यअभिवृद्धि करलाई पुनरवलोकन गर्न जरुरी रहेको उनको भनाइ छ। 

समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागी नेपालले पहुँच बढाउन जरुरी रहेको बताए। जसका लागि नेपालबाट यूरोप जान आउन सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सुचीबाट हटाउन प्रभावकारी  पहल आवश्यक रहेको बताए। राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। 

सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए। २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले उल्लेख गरे।

पर्यटन ऐन तयारी अवस्थामा रहेकाले  चाँडै आउने समेत जानकारी गराए। नेपाल एयरलाइन्सलाई सवल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिदै अगाडि बढ्ने बताए।

सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरु हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .