ad ad

कारोबार


भक्तपुरको पलाँसेमा मौलिक स्वाद पस्किरहेको ‘दाउरा चुलो’

२ करोड लगानी, अर्गानिक स्वाद विस्तारको योजना
भक्तपुरको पलाँसेमा मौलिक स्वाद पस्किरहेको ‘दाउरा चुलो’

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १६:३५, काठमाडौँ

काठमाडौंबाट पूर्व जाने मूलबाटोको किनारमै पर्छ दाउरा चुलो। अरनिको राजमार्ग। करिब २० किलोमिटर टाढा। भक्तपुरको पलाँसेमा साँगाको उकालो सुरु हुनैलाग्दा बायाँपट्टि।

एकैछिन बसेर चियानास्ता गर्ने कि अलि समय बसेर भोजनै गरेर जाने? आफ्नै मनखुसी। 

३ वर्षदेखि नेपाली अर्गानिक र स्थानीय परिकारको बेग्लै मेनु पस्किरहेको छ दाउरा चुलो रेस्टुराँ। यसको नाम मात्र मौलिक छैन। यहाँ खुवाइने विशेष परिकार साँच्चै दाउराकै चुलोमा पाक्छ।

यसका सञ्चालक हुन् विष्णु सापकोटा। ‘यहाँ खाजा, नास्ता र विशेष गरी खाना खुवाउन दाउरा चुलो रेस्टुराँ खोलेका हौँ’, उनी भन्छन्। 

विशेष परिकार थाली सेट र ढिँडो सेट
सापकोटाका अनुसार यहाँ विशेष सेट र साधारण सेटका खाना पाइन्छ। तर जे खाए पनि स्थानीय स्वादमै हुने उनको भनाइ छ। 

‘प्रिमियम खाना थाली सेट हो जसको एक हजार रूपैयाँ पर्छ। यसमा दाल, भात, तरकारी, खसीको पक्कु, लोकल कुखुराको पक्कु, फिस (माछा) फ्राई र कालिज करी (तरकारी) हुन्छ’, सापकोटा थप्छन्, ‘स्पेसल खाना ढिँडो सेट एक हजार दुई सय रूपैयाँ पर्छ।’

थाली सेट र ढिँडो सेट यहाँका विशेष परिकार हुन्। सामान्य खाना सेट भने तीन सय रुपैंयाँमै पाइन्छ। यसमा दाल, भातसँगै माछा, खसीको मासु, कालिज र लोकल कुखुराको मासु समावेश हुन्छ।  

यस रेस्टुराँको मेनुमा कालिज, बँदेल, लोकल भाले र खसीबोकाको मासुको परिकार बँदेलको परिकार पनि छन्। जसमा सेकुवा, पोलेको, पोलेर साँधेको, तास, बोइल्ड र फ्राई हुन्छन्।

कालिजको पक्कु र करी 
रेस्टुराँमा कालिजको पक्कु र करी पाइन्छ। लोकल भालेको मासु पोलेको, पोलेर साँधेको, सेकुवा, पक्कु, करी र पांग्रा समावेश हुन्छ। हाँसको छोइला र ट्राउट माछा समावेश छ। 

यसबाहेक आसपासमै उब्जनी गरिएका सागसब्जीहरु सिजनअनुसार पाइन्छ। यस्ता परिकारहर पस्किन उनले आफ्नै फर्म समेत सञ्चालन गरेका छन्।

पनौती र साँगामा कालिज र कुखुरा पालेको उनले सुनाए। ‘अन्य आवश्यक यहीँ आसपासमा उब्जनी भएका स्थानीय नै लिन्छौँ’, सापकोटाले भने। 

दाउरा चुलोले सञ्चालनको ३ वर्ष पूरा गरिसकेको छ। पलाँसेमा २०७८ असोजमा दाउरा चुलो खुलेको हो। दुई रोपनी क्षेत्रफलमा फैलिएको यो रेस्टुरेन्टमा दुई तलाको संरचना छ । एक पटकमा १५० जनालाई एक साथ सेवा दिन सकिने उनले बताए।

व्यवसाय विस्तारको योजना
यसलाई उनले विस्तार गर्ने योजना बनाएका छन्। अन्य स्थानमा समेत यस्तै नयाँ दाउरा चुलो खोलेर लोकल र अर्गानिक खुवाउने उनको योजना छ। 

‘नेपालमा गर्न सकिने धेरै काम छ’, उनले थपे, ‘एउटा यस्तो सुविधासम्पन्न होटल हुनपर्यो जहाँ अर्गानिक र लोकल परिकार मात्रै पाइन्छ। समयले साथ दियो भने त्यसको समेत योजना बनाउनेछु।’

दाउरा चुलो धुलिखेल, शिवमूर्ति, नमोबुद्ध, पलाञ्चोक भगवती, डोलेश्वर, आशापुरी घुम्न जानेका लागि खाना खाने उत्कृष्ट गन्तव्य बनेको छ। 

२ करोड बढी लगानी गरिएको दाउरा चुलो बाँस र स्टिलको संयोजनमा बनेको छ। दाउराबाटै पाक्ने हुँदा सहरको छेवैमा यसले गाउँको शैली र माटोको चुलोमा मौलिक स्वाद पस्किरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .