ad ad

समाज


अग्नि सापकोटाविरुद्धको रिटमा निर्णय भएन, फेरि सुरूबाटै सुनुवाइ हुने

अग्नि सापकोटाविरुद्धको रिटमा निर्णय भएन, फेरि सुरूबाटै सुनुवाइ हुने

नेपालखबर
असोज ९, २०८१ बुधबार १८:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा अहिलेसम्म भएको सुनुवाइ शून्यमा गएको छ।

बुधबार संवैधानिक इजलासले निर्णय नदिएपछि अब नयाँ प्रधानन्यायाधीशको नेतृत्वमा अर्को इजलासमा सुरूबाटै सुनुवाइ गर्नुपर्ने भएको हो।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको थियो।

काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै १२ वर्ष पहिले दर्ता भएको रिटमा संवैधानिक इजलासले गत जेठ २३ गते नै सुनुवाइ सकेर निर्णय सुनाउने दिन तोकेको थियो। पूर्वनिर्धारित इजलास प्रभावित हुने गरी वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत पूर्वनिर्धारित इजलास प्रभावित हुने गरी बाग्लुङ पुगेका थिए। त्यसपछि भदौ १२ गते निर्णय सुनाउने दिन तोकिए पनि सर्वोच्चले निर्णय दिएको थिएन। बुधबार असोज ९ गते निर्णय सुनाउने भनेर पेसीसूचीमा चढाए पनि कुनै निर्णय नदिएर अन्य ‘आदेश’ गरिएको छ।  

अब असोज २० बाट प्रधानन्यायाधीश श्रेष्ठ र कात्तिक ४ बाट न्यायाधीश ढुंगाना अवकाश पाउँदै छन्। यी दुवैजनाले मुद्दाको सुनुवाइका लागि इजलास बस्न यसअघि नै छाडिसकेका थिए। त्यसैले अब नयाँ इजलास गठन हुँदा सुरूबाटै सुनुवाइ गर्नुपर्नेछ।

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।

द्वन्द्वसँग कुनै सम्बन्ध नभएका निहत्था नागरिकलाई नियन्त्रणमा लिएर बेपत्ता पारिएको, डेढ दशकसम्म पनि संक्रमणकालीन न्यायका संयन्त्रबाट मुद्दा नटुंग्याइएको र आरोपितहरू राज्यशक्तिको उच्च ओहोदामा पुगिरहेको भन्दै नियमित फौजदारी न्याय प्रणालीबाटै निरुपण हुनुपर्ने निवेदकको माग छ।

यस्तै तत्कालीन सूचना तथा सञ्चारमन्त्री सापकोटाले कनकमणि दीक्षिततविरुद्ध २०६८ असार ६ गते दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा र २०७२ चैत २६ गते सुशील प्याकुरेलसमेत ८ जनाले सरकारविरुद्ध दायर गरेको रिट पनि एकसाथ राखेर सुनुवाइ गरिएको थियो।

यता संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोग मार्फत टुंगो लगाउनुपर्ने भन्दै संसदबाट यससम्बन्धी विधेयक पारित गरिएको छ। उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .