ad ad

राजनीति


कास्की प्रहरी हिरासतमा छविलाल र ढाकाकुमार ‘रुमपार्टनर’

कास्की प्रहरी हिरासतमा छविलाल र ढाकाकुमार ‘रुमपार्टनर’

उजिर कार्की
असोज ८, २०८१ मंगलबार २२:२५, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा यतिबेला करिब ६० जना थुनुवा छन्। तिनै ६० जनामध्ये २ जना चर्तित दुई पात्र छन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे।

संयोग यो छ कि यी दुवैजना रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी–साझेदार हुन्।

पूर्वसांसद श्रेष्ठ लागु औषध कारोबारको कसुरमा पक्राउ परेका हुन् भने पूर्वडीआईजी जोशी सहकारी ठगीको कसुरमा। दुई दिनदेखि उनीहरूको वास एउटै हिरासतमा छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतका ५ वटा कोठा छन्। तीमध्ये तीनवटा कोठा ठूलठूला छन्। यी कोठामा २० जनाका दरले थुनुवालाई राख्न सकिन्छ। अहिले पनि तीनवटै कोठा भरिभराउ छन्। 

तर दुईवटा कोठा साना छन्। तिनैमध्येको एउटा कोठामा छन्, ढाकाकुमार र छविलाल। 

ढाकाकुमार १२ दिनदेखि सोही हिरासतमा छन्। उनलाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको थियो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागु औषध बिक्री भएको सूचनापछि प्रहरीले पक्राउ गरेको हो। 

त्यसअघि नै प्रहरीले दुई जना लागु औषध प्रयोगकर्तालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट लागु औषध बरामद भयो। उक्त लागु औषध कहाँबाट खरिद गरेको भनी अनुसन्धान गर्दा ढाकाकुमारसम्म प्रहरी पुगेको थियो।

उनलाई प्रहरीले अन्य थुनुवासँग नमिसाई छुट्टै राखेर अनुसन्धान गरिरहेको थियो। तर, आइतबार कास्की प्रहरीकै अनुरोधमा काठमाडौंको बानेश्वरबाट पूर्वडीआईजी छविलाल पक्राउ परेपछि ढाकाकुमारले रात कटाउने साथी पाएका छन्। 

जोशीविरुद्ध कास्कीको सूर्यदर्शन सहकारीका बचतकर्ताले गत माघमा नै जाहेरी दिएका थिए। सहकारी ठगीमा यसअघि नै मुद्दा दर्ता भइसकेको थियो। केही पक्राउ परेर पुर्पक्षका लागि थुनामा पनि गइसकेका छन्। 

सहकारीका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईसहित आधाभन्दा बढी अभियुक्त भने अझै फरार छन्। 

पूर्वगृहमन्त्री रवि लामिछानेसहित जोशीविरुद्ध पनि पूरक जाहेरी परेको थियो। गत माघमै परेको जाहेरी लामिछानेले पद र शक्तिको आडमा दबाइरहेका थिए। पछिल्लोपल्ट सहकारी छानबिनसम्बन्धी संसदको विशेष समितिले प्रतिवेदन दिएपछि प्रहरी पुनः सक्रिय भएको हो। गत आइतबार जोशीलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरियो। त्यसै राति उनलाई हजाईजहाजमार्फत पोखरा लगियो। 

राति नै पोखरा पु¥याएपछि उनले सुरुमा अस्पताल बस्ने इच्छा देखाएका थिए। उनलाई हिरासतमा राख्नुअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य जाँच गरिएको थियो। त्यतिबेलै उनले अस्पताल बस्न प्रहरीलाई अनुरोध गरेका थिए। 

तर प्रहरीले चिकित्सकको सिफारिसबिना अस्पतालमा राख्न नमिल्ने भन्दै हिरासतमा लिएर गए। जोशीले आफू बिरामी पनि रहेको दाबी गरेका थिए। तर चिकित्सकले अस्पतालमै बस्नुपर्ने खालको नरहेको भनिदिए। अनि प्रहरीले हिरासतमा लगेर ढाकाकुमार श्रेष्ठ रहेकै कोठामा राख्यो। 

सोमबार जोशीलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न पहिलोपटक ५ दिनको म्याद दिएको छ। तर जोशीले हिरासतमा बस्दा आफूलाई चिसो लागेको बताएपछि उनलाई मंगलबार पनि अस्पताल लगिएको थियो। 

मंगलबार सरकारी वकिलको रोहबरमा बयान लिँदा पनि जोशीले आफू बिरामी रहेको जिकिर गरिरहेपछि बयान छाडेर फेरि अस्पताल लगिएको थियो। अस्पतालबाट औषधि लिएर उनलाई हिरासतमै फर्काइएको छ। 

रास्वपा सभापति लामिछानेले ढाकाकुमारलाई समानुपातिक तर्फबाट सांसद बनाएका थिए। तिनै ढाकाकुमारले मन्त्री बन्न सभापति लामिछानेको ‘कोर समूहलाई दिनुपर्ने’ भन्दै विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड चन्दा मागेको अडिओ बाहिरियो। लामिछानेले उनलाई तत्कालै पार्टीबाट हटाए।

मेडिकल डाक्टरसमेत रहेका ढाकाकुमार सांसद पद गएपछि फार्मेसी चलाएर बसिरहेका थिए। 

त्यस्तै छविलाल जोशी लामिछानेका गोर्खा मिडिया नेटवर्कका स्थापनाकालीन साझेदार हुन्। लामिछानेलाई गोर्खा मिडिया नेटवर्कको साझेदार बनाउँदा जोशीले आफ्नो भागको सेयर दिएका थिए। सुरुमा गोर्खा मिडिया नेटवर्कको सेयर जीबी राई र छविलाल जोशीको आधाआधा थियो। 

जोशीले रवि लामिछानेलाई आफ्नो भागको १५ प्रतिशत सेयर दिएको बयान संसदीय छानबिन समितिमा दिएका छन्। अहिले जोशी र लामिछानेमाथि त्यही गोर्खा मिडियामा लगेर सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ। 

अहिले त संयोग यस्तो बन्यो, ढाकाकुमारलाई कारबाही गर्ने पार्टी सभापति लामिछानेका व्यावसायिक साझेदार हिरासतमा ‘रुमपार्टनर’ बने।
अझ रोचक त यो छ कि ढाकाकुमारले रकम माग गरेको अडिओ सार्वजनिक गरेर सांसद पद नै धरापमा पारिदिने दुर्गा प्रसाईं पनि विद्युतीय अपराध (साइबरक्राइम) को अनुसन्धानका लागि काठमाडौँको सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै छन्।

अर्को संयोग यस्तो बन्यो प्रसाईंलाई हिरासतसम्म  पुर्‍याउने भने रास्वपाकै केन्द्रीय सदस्य हुन्। उनको जाहेरीपछि साइबर ब्यूरोले आइतबार पक्राउ गरेको थियो। पक्राउ परेकै रातिदेखि वीर अस्पतालमा बस्दै आएका प्रसाईंलाई मंगलबारदेखि प्रहरी हिरासत लगिएको हो। 

उनको पनि यता बयान सुरु भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .