ad ad

राजनीति


रेशम-रञ्जिता समझदारी- बैठकमा दुवैको अध्यक्षता, हस्ताक्षर रञ्जिताकै

रेशम-रञ्जिता समझदारी- बैठकमा दुवैको अध्यक्षता, हस्ताक्षर रञ्जिताकै

गोकुल जोशी
असोज ८, २०८१ मंगलबार २२:२, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बोलाएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले संयुक्त रूपमा बैठक बोलाएका हुन्।

 श्रीमान्-श्रीमती समेत रहेका रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेर आह्वान गरेको सूचनामा बैठक असोज १८ र १९ गते काठमाडौँमा बस्ने भनिएको छ।

रेशम र रञ्जिताबीच नेतृत्वको विषयमा नाउपाभित्रको शक्ति संघर्ष चुलिएको थियो। जसका कारण नाउपाको नियमित बैठक नै बस्न सकेको थिएन।

रञ्जिताको पार्टी अध्यक्ष दोहोरिने चाहना हुँदा पनि रेशम एक्लैले महाधिवेशनमा उम्मेदवारी दिएर अध्यक्ष निर्वाचित भएका थिए। पछि निर्वाचन आयोगले अध्यक्षमा रेशमलाई अस्वीकार गरेर रञ्जितालाई पुनःस्थापित गरेपछि अन्तर्द्वन्द्व झन् चर्किएको थियो। कुन गठबन्धनमा सामेल हुने भन्ने विषयमा समेत उनीहरूबीच तीव्र मतभेद देखिएको थियो। यही कारण रेशम र रञ्जिता पक्ष समानान्तर गतिविधि गर्दै एकअर्कालाई कारबाही गर्नसम्म पुगेका थिए।

केन्द्रमा मात्रै होइन, उनीहरूबीचको विवाद प्रदेश तहसम्मै पुगेको थियो। सांसदहरू दुई कित्तामा विभक्त भएर कोही सत्तापक्ष र कोही प्रतिपक्षमा समेत रहे।

विवादकै कारण सुदूरपश्चिम प्रदेशमा पाएकै मुख्यमन्त्री नाउपाले गुमाउनुपरेको थियो। झण्डै ७ महिनाअघिदेखिको रेशम-रञ्जिता विवाद अहिले सहमतिमा अवतरण भएको सन्देश दिन दुवै पक्षले दिन चाहेको देखिएको छ। यही सन्देश दिन प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाउने सहमतिपछि रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेर बैठक बोलाएका हुन्। 

विवाद मत्थर गरेर पार्टी एक ढिक्का रहेको सन्देश दिने उद्देश्यले बैठक बोलाइएको पत्रमै उल्लेख छ।

‘बैठकमा समीक्षा गरी अगामी दिनमा कसरी जान सकिन्छ भनेर छलफल गर्छौँ,’ नाउपा केन्द्रीय सदस्य रामलाल डगौरा थारु भन्छन्, ‘विवाद साम्य हुँदै गएको छ। अब पार्टी एक ढिक्का हुन्छ। त्यसको विकल्प पनि छैन।’

विवादपछि सांगठनिक गतिविधि ठप्प भएर पार्टी पंक्तिमा निराशा छाएकाले विवाद साम्य पारेर सक्रिय बनाउनुको विकल्प नरहेको उनको भनाइ छ।

रेशमको सहमतिमा निर्णय, रञ्जिताको हस्ताक्षर
बैठक बोलाउनुअघि रेशम र रञ्जिताबीच पार्टीमा दुवै पक्षको समान सहभागितासहित बैठकको अध्यक्षता दुवैले गर्ने समझदारी गरेका छन्। 

रञ्जिताले एकलौटी नगरेर रेशमको सहमतिमा पार्टीको निर्णय गर्ने र रञ्जिताकै आधिकारिक हस्ताक्षर चलाउने समझदारी बनेको एक नेता बताउँछन्। 

‘महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगले वैधानिकता दिएको हैसियतमा बैठकको अध्यक्षता र निर्णय प्रक्रियामा दुवैको समान सहभागिता रहन्छ,’ ती नेताले भने।

उनका अनुसार पार्टीको निर्णयपुस्तिका तथा आधिकारिक प्रस्तावहरूमा रञ्जिताले हस्ताक्षर गरे पनि ती निर्णयहरूमा रेशमको सहमति अनिवार्य रहने गरी समझदारी बनेको हो।

रञ्जिताले यसअघि कारबाही गरेका नेता कार्यकर्ताका विषयमा बैठकमा छलफल गरेर कारबाही फुकुवा गर्ने तयारी पनि छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .