प्रदेश पाँचका सात जिल्लामा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएको व्यवसायीले गुनासो गरेका छन्।
रुपन्देहीस्थित नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालय भलवारी डिपोका ३, आयल निगमको भैरहवामा रहेको पम्पका ४ र विमानस्थलमा रहेको हवाई इन्धन डिपोका ४ जना कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएपछि ४ दिनयता पेट्रोलियम पदार्थको सहज आपूर्तिमा समस्या भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनका महासचिव हरिराम कसौधनले बताए।
कोरोनाका कारण निगमको डिपो र पम्प ५ दिनका लागि सिल गरिएको छ। व्यवसायीका अनुसार निगमले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका जिल्लालाई पुग्ने मात्रै तेल आयात गरिरहेको छ। जसले गर्दा बुधबारदेखि पहाडी जिल्लाहरुमा तेल अभाव भएको छ । ‘व्यवसायी आफैलाई तेल आयात गर्न दिइएको छैन । निगमले तीन जिल्लालाई मात्रै पुग्ने आयात गर्दा पहाडमा चरम अभाव सुरु भइसक्यो। त्यसैमा पनि पेट्रोल थोरै आयात गर्दा तराईकै जिल्लामा अभाव हुन थाल्यो’, महासचिव कसौधनले भने।
निगमको प्रादेशिक कार्यालय भलवारी डिपोले साविक लुम्बिनी अञ्चलका ६ र स्याङ्जा गरी ७ जिल्लामा तेल आपूर्ति गर्दै आएको छ । प्रदेशका अन्य जिल्लामा नेपालगंज डिपोबाट वितरण गरिँदै आएको छ। ७ जिल्लामा दैनिक ७ हजार लिटर डिजेल र २ लाख लिटर पेट्रोल आवश्यक पर्छ। अहिले कोरोना महामारीका कारण तेल विक्री ५० प्रतिशतले घटेको व्यवसायी बताउँछन्। तर, निगमका कर्मचारीमा कोरोना देखिएपछि तत्काल आवश्यक तेल आपूर्ति भएको छैन।
निगमले अहिले ३० हाराहारी ट्यांकरबाट मात्रै तेल आयात गर्दै आएको छ। निगमको भलवारी डिपोले अहिले अमलेखगन्जबाट तेल आपूर्ति गरिरहेको जनाएको छ। बेलहिया र कृष्णनगर नाकाबाट तेल आयात गरिए पनि गुणस्तर, परिणाम र तापक्रम नापजाँच रोकिएकाले डिलरमा तेल नपठाइएको निगमको प्रादेशिक कार्यालय भलवारीका प्रमुख प्रेङ्कर आचार्यले बताए। ‘अमलेखगन्जमा हाम्रो निगमको कार्यालय छ, त्यहाँ गुणस्तर, परिणाम र तापक्रम नापजाँच हुन्छ। कोरोनाका कारण डिपो सिल गरिएकाले यहाँ नापजाँच भएको छैन’, आचार्यले भने, ‘त्यसैले बेलहिया र कृष्णनगरबाट आएका ट्यांकरले डिपोमा तेल अनलोड गर्न नदिई डिपो अगाडि रोकेर राखिएको छ।’
अजलेखगन्जबाट तेल ल्याएर आएका ट्यांकरलाई पनि डिपो भित्र पस्न नदिई बाहिरैबाट विलिङ गरेर आफूहरुले नै डिलरसम्म पुर्याउने गरेको आचार्यले जनाए। निगमले न्यून मात्रामा तेल आयात गर्दा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीलाई समेत तेल सटेज हुन थालेको कसौधनले जनाए। ‘डिलरलाई पनि तेल आयात गर्न दिने हो भने समस्या समाधान हुन्थ्यो। तर हामीलाई नदिँदा सटेज भइराखेको छ’, उनले भने। तर, डिपो प्रमुख आचार्यले भने व्यवसायी भनेजस्तै तेल सटेज नभएको र मागअनुसार आफूहरुले आपूर्ति गरिरहेको दावी गरे।
यस्तै, तराईका जिल्लामा लकडाउनले गर्दा बैंकहरु बन्द छन् भने बैंकमा क्यास कारोबार रोकिएको छ। यसले पनि व्यवसायीले तेल डिलरसम्म ल्याउन सकेका छैनन्।
‘डिपोबाट तेल ल्याउँदा पहिला बैंकका क्यास पैसा जम्मा गर्नुपर्छ र बल्ल तेल ल्याउन पाइन्छ। तर, अहिले बैंक बन्द छन्, क्यास कारोबार भएको छैन । कम्तिमा दिनमा दुईघण्टा बैंक खोल्ने व्यवस्था हुनुपर्छ । होइन भने तेलको हाहाकार हुनसक्छ’, कसौधनले भने ।
व्यवसायीले अमलेखगंजबाट तेल ल्याएर निगमले नै डिलरमा लगिदिने गरेकाले आफूहरुको ट्यांकर खाली बसेको र कर्मचारीलाई तलब दिनसमेत समस्या भएको जनाएका छन् । ‘पहिला भलवारी डिपोबाट हामीले हाम्रै ६० ओटा ट्यांकर मार्फत् ३१५ पम्पमा तेल ल्याउँथ्यौं, अहिले निगमले लगेर छाड्ने गरेको छ । यसले पनि हामी झन मर्कामा परेका छौं’, उनले भने । निगमले नियमित अवस्थामा दैनिक २२५ ट्यांकरसँग कन्ट्याक गरी तेल आयात गर्दै आएको थियो । अहिले भने ३० हारारी ट्यांकरबाट मात्रै आयात हुँदै आएको छ। थोरै ट्यांकरबाट कम मात्रामा तेल ल्याइँदा अभाव भएको व्यवसायीको गुनासो छ।
प्रतिक्रिया