ad ad

कारोबार


लुम्बिनीमा तयार हुँदै सभागृह तथा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र

लुम्बिनीमा तयार हुँदै सभागृह तथा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र

प्रकाश न्यौपाने
असोज १, २०७७ बिहिबार ६:१४,

बुद्ध जन्मस्थल लुम्बिनीमा सभागृह तथा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माण धमाधम भइरहेको छ। पहिलो चरणमा सभा हल, दुईवटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ।

९० प्रतिशत काम सकिएको छ भने बाँकी काम अहिले जारी छ। सभागृह तथा ध्यान केन्द्रमा मौसमअनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने ईपीएस प्यानल प्रयोग गरेर छानो छाइएको छ।

३८६.८८ वर्गमिटरमा बनिरहेको सभागृहसहितको संरचना बनाउन पहिलो चरणमा २८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। अहिले अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको काम गरिरहेको छ।

‘खासगरी फल्स सिलिङको काम मात्र बाँकी छ। चीनबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको हो, दुई/चार दिनमै सामान आयो भने २०/२५ दिनमा काम सक्छौँ’, लुम्बिनी विकास कोषमा योजना प्रमुख सरोज भट्टराईले भने।

lumbini sabha dhyan kendra2

हलमा छानोदेखि तल १२ हजार ७ सय वर्गमिटरमा फल्स सिलिङ बनाइनेछ। २५६२औँ बुद्ध जयन्तीको अवसरमा २०७५ वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सभागृह तथा ध्यान केन्द्रको शिलान्यास गरेकी थिइन्। ध्यानकेन्द्रको छानो ५० एमएमको ईपीएस स्याण्डवीच प्यानलको ट्रसबाट बनेको छ भने यसको उचाइ १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म रहेको कोषका उपाध्याक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए।

छाता शैलीमा निर्माण भइरहेको सभागृह अत्याधुनिक र सुविधासम्पन्न हुनुका साथै मुलुककै सबैभन्दा ठूलो र आकर्षक हो। ५ हजार क्षमताको यो सभागृहमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरिएको योजना प्रमुख भट्टराईले जानकारी दिए।

उनले भने, ‘फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ। प्रत्येक पिलर एक वर्गमिटर गोलाइका छन्, निकै मजबुत र बलियो संरचना हो यो।’

मुलुककै नयाँ र फरक शैलीमा बनिरहेको सभागृहको छाना स्टिल र फलामको प्रयोगबाट बनाइएको छ। पहिलो चरणको काम सक्नु पर्ने समयावधि सकिए पनि लकडाउनलगायत कारणले ढिलाइ भएको छ। अहिले म्याद थपेर असोज मसान्तसम्म पुर्याइएको उपाध्यक्ष त्रिपाठीले बताए।

‘असोज मसान्तमा पहिलो चरणको काम सकिने गरी तीव्र गतिमा अहिले निर्माण जारी छ । आउनु पर्ने सबै सामान आएमा थप गरिएको समयमा काम पूरा हुनेछ’, उनले भने ।

२०७४ चैत ६ गते सम्झौता भएको हल २०७६ चैत ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। ठेकेदारतर्फका साइड इन्जिनियर वसन्त क्षेत्रीले लक्ष्यअनुसार कामको प्रगति राम्रो भए पनि केही सामान आउन ढिलाइ हुँदा, लकडाउनलगायत कारणले ढिलाइ भएको जनाए।

‘हामीले लकडाउनमा पनि काम जारी राख्यौँ, विस्तारै स्थिति सहज हुँदै छ। अब छिट्टै काम सक्छौँ’, उनले भने। सभागृहमा सानाठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभासम्मेलन तथा ध्यान शिविर सञ्चालन गर्न सकिनेछ। सानो ठूलो आकारमा विभाजन गरेर पनि कार्यक्रम गर्न मिल्ने गरी बनाइएकाले जस्तोसुकै कार्यक्रम गन मिल्ने विकास कोषले जनाएको छ। सभागृहको छानामाथि बुद्धको आँखा समेत बनाइनेछ।

जापानी वास्तुकलाविद् प्रो.केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजनामा सभागृह नभए पनि यसलाई गुरुयोजनामा मेलखाने गरी निर्माण गरिने भट्टराईले बताए। प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री भएको बेला २०७३ सालको २५६०औँ बुद्ध जयन्ती समारोह आयोजना गरिएको अस्थायी संरचना हावाहुरी र वर्षाले प्रभावित पारेको थियो।

समारोह नै बिथोलिएपछि प्रधानमन्त्री ओलीले समारोहमा सम्बोधन गर्दै लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्ने उद्घोष गरेका थिए। उनकै चाहनामा सभागृह तथा ध्यान केन्द्र बनिरहेको हो।

ध्यानकेन्द्रको अन्य संरचना बनाउन दोस्रो चरणको ठेक्का सम्झौताको तयारी भइरहेको कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए। यसका लागि इस्टिमेट र लागत अनुमान समेत तयार गरिएको छ। दोस्रो चरणमा करिब ४० करोड लागत लाग्ने जनाइएको छ। दोस्रो चरणमा कम्पाउण्ड वाल, ल्याण्ड स्केप, पार्किङ, विद्युतीकरण, विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, दुई शौचालय भवन, सौन्दर्यीकरणलगायतका काम गरिने कोषले जनाएको छ। करिब एक वर्षभित्रै दोस्रो चरणको काम सकिनेछ।

लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिप्रेमीहरुको आस्थाको केन्द्र हो। मुलुककै प्रमुख पर्यटकीय केन्द्र रहेको यहाँ वर्षेनी स्वदेशी र विदेशी गरी १५ लाख बढी पर्यटक आउँछन्। सभाहल तथा ध्यान केन्द्र निर्माणसँगै पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उपाध्यक्ष त्रिपाठीको विश्वास छ।

‘अब यहाँ ठूलो संख्यामा ध्यान गर्न पनि सकिने छ, आकर्षक डिजाइनमा सभागृह बन्ने भएकाले यो पर्यटकका लागि अर्को आकर्षण हो’, उनले भने। अघिल्लो हप्ता मात्रै पर्यटनमन्त्री योगेकुमार भट्टराईले लुम्बिनी क्षेत्रेको निरीक्षण गर्ने क्रममा ध्यानकेन्द्र निर्माण समयमै सक्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .