ad ad

कारोबार


कृषि, संस्कृति र होटलको त्रिवेणी भिलेज रिसोर्ट

कृषि, संस्कृति र होटलको त्रिवेणी भिलेज रिसोर्ट

प्रकाश न्यौपाने
असोज ७, २०७७ बुधबार १०:११,

पाहुनालाई एकै ठाउँमा फरक–फरक स्वाद चखाउने र व्यवसायिक कृषिलाई थप विस्तार गर्ने उद्देश्यले रुपन्देहीका एक किसानले कृषि फार्म तथा रिसोर्ट संचालन गरेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, कानपारामा स्थानीय अजयकुमार चौधरीले एकै स्थानमा कृषि फार्म तथा रिसोर्ट संचालन गरेका हुन्।

चौधरीले ६ बिघा जमिनमा कृषि पर्यटन, प्रवद्र्धन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालिमार्फत् कागती खेती, माछा, टर्की, हाँस तथा कुखुरापालन गरिरहेका हुन्। उनले माछापालन र रिसोर्ट सञ्चालन गरेको धेरै वर्ष भए पनि अहिले यसलाई विस्तार गरी कागती खेती तथा कुखुरा र हाँसपालन समेत गर्न थालेका हुन्।

‘मैलै व्यवसायिक कृषि गर्न लागेको ७ वर्ष भइसक्यो। तर, पाहुनालाई थप स्वाद चखाउने र कृषि पेसालाई पनि व्यवसायीकरण गर्दै लैजाने उद्देश्यले लगानी थप गरेको छु’, उनले भने, ‘यहाँ स्वाद मात्रै होइन्, व्यवसाय गर्न चाहनेले अनुसन्धान गर्न र सिक्न पनि पाउनुहुनेछ।’

रिसोर्टको बगैँचामा रमाउँदै बालबालिका

चौधरीले अहिलेसम्म साढे ३ करोड रुपैयाँ लगानी गरिसकेका छन्। पछिल्लो समय रुपन्देहीमा कृषि पर्यटनको पनि विकास हुँदै गएकाले धमाधम यस किसिमका रिसोर्ट र फार्म खुल्ने क्रम बढ्दो छ।

चौधरीले अनुसन्धान केन्द्रको बगैँचामा कागतीसहित विभिन्न मेडिसिनल प्लान्टहरु, लज्ज्वाती झार, अगस्त, पारिजात लगायतका बिरुवा लगाएका छन्। ०७३ सालमा सुरु गरिएको उक्त केन्द्रमा ५ वटा माछा पोखरी छन्। कलकतिया, सनुकागती, बनारसी, युराका, एनएच हाईब्रेडजस्ता विभिन्न ७ प्रजातिका ५ सय बोट कागतीले फल दिन थालेका छन्।

पाहुनाहरुका लागि यहाँ तोरीको तेलमा पकाएको घोंगी, माछाको परिकार, हाँसको छोयला, ढिकरी, दलिया रोटी, चिचर, भुजासहितको टिपिकल थारु खानाहरु पाइन्छ। ‘थारुदेखि अन्य परिकार पनि खान पाइने भएपछि टाढाटाढाका आन्तरिक पर्यटक यहाँ आउने गर्नुभएको छ’, चौधरीले भने, ‘यसले व्यवसाय गर्नमा मलाई थप प्रोत्साहन मिलेको छ।’ कोरोना कहरअघि यहाँ थेगिनसक्नु गरी पाहुना आउने गरेको भएपनि अहिले भने धेरै कमी आएको उनले सुनाए।

No description available.

बगैँचामा लटरम्म कागती फलेका छन्। माछा, कुखुरा, हाँस हुर्किरहेका छन्। मनै लोभ्याउने उक्त केन्द्रमा ढकमक्क फुलेका फूलले आगन्तुक पाहुनालाई थप मोहित बनाउने गरेको छ। चौधरीका अनुसार एउटै कागतीको बिरुवामा मात्रै डेढ सय दाना फलेको छन्। ५० हजार बढी माछा पोखरीमा हुर्किरहेका छन् भने केही तयार भएका छन्। हाँस, लोकल कुखुरा ५ सय बढी छन्।

केन्द्रमा पुग्ने पाहुनाले हिउँदमा पोखरीमै बोटिङको आनन्द लिन पाउँछन्। अहिले ‘ओपन थारु म्युजियम’सहितको योजना बनाएर काम भइरहेको छ। ‘यसपछि थप आकर्षण बढ्ने छ। यहाँ आउनेहरु लोभिनेछन्’, उनले थपे। माछा पोखरीमाथि अबका केही वर्षभित्रै खाने, बस्ने, म्यूजिकसहित नाचगान र सुत्नका लागि रुमहरु बनाउने तयारी चौधरीको छ। ‘यी सुविधा माथिपट्टि हुन्छ भने तल पोखरीमा बोटिङ हुनेछ’, उनले भने। यहाँ थारु समुदायको संस्कृति झल्किनेगरी साँस्कृतिक कार्यक्रम राख्ने पनि तयारी गरिएको छ।

चौधरीको रिसोर्ट तथा अनुसन्धान केन्द्रमा जाने जो कोही लोभिन्छन्। प्राकृतिक वातावरणमा धेरै परिकार खान र सुगन्धित फूलहरुसँगै आनन्द लिन पाएपछि धेरै लोभिने गरेका हुन्। वार्षिक २० लाख बढी आम्दानी गर्ने चौधरीले खासगरी थारु समुदायको पहिचान झल्कने गरी अबका दिनमा लगानी थप गर्ने योजना सुनाउँछन्। स्थानीय परिकारलाई मन पराउनेहरु यहाँ पुग्ने गर्छन्। एकपल्ट आउने पाहुन पटकपटक आउने गरेको चौधरी सुनाउँछन्।

No description available.लटरम्म फलेका कागती देखाउँदै रिसोर्ट सञ्चालक चौधरी

व्यवसायसँगै उनले १४ जनालाई रोजगारी पनि दिएका छन्। बुटवल, भैरहवाबाट नजिकै पर्ने भएकाले पनि यहाँ सधैंजसो पाहुना भरिभराउ हुन्छन्। ‘एकान्त ठाउँमा रमाउनेहरु धेरै आउनुहुन्छ’, उनी भन्छन्।

आफैँले मिहेनत गर्न सक्ने र कामप्रति लगाव हुने हो भने जुनसुकै व्यवसाय सहज रुपमा गर्न सकिने र त्यसबाट मनग्य फाइदा हुने चौधरीको अनुभव छ। ‘मैले जति सफलता पाएको छु, कामप्रतिको लगाव र कडा परिश्रम नै हो’, उनले भने। व्यवसाय गर्न चाहनेलाई आफूले प्रोत्साहन गर्ने उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .