सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा, रुपन्देहीमा आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ।
संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनले भीष्मप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
संघको पदाधिकारी, वाणिज्य (महिला) सदस्य र कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित भए पनि कार्यसमिति सदस्यमा भने निर्वाचन भएको थियो।
संघको वरिष्ठ उपाध्यक्षमा ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण गोयन्का, उद्योग उपाध्यक्षमा दिलीपकुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्रप्रसाद आचार्य, महासचिवमा विजय पाण्डे, सचिवमा दीपेन्द्र प्रधान र कोषाध्यक्षमा गोविन्द ज्ञवाली निर्वाचित भएका छन्।
त्यस्तैगरी कर्पोरेट सदस्यमा रोहितकुमार अग्रवाल र विकास गोयन्का, वस्तुगत सदस्यमा कृष्णप्रसाद घिमिरे र वाणिज्यतर्फ (महिला) सदस्य यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले बताए।
संघको अन्य पदमा शनिबार मतदान भएको थियो। आइतवार बिहान आएको मत परिणाम अनुसार वाणिज्यततर्फ सदस्यमा संजयकुमार बेरिवाल (१०६०), प्रितम रौनियार (१०५८), प्रमोद रिजाल (१०४६), अर्जुन कार्की (१०२५), धर्मवीर शर्मा (१००७), कमल प्रसाद मरासिनी (९४९), गोपाल भण्डारी (८६४), गौरव श्रेष्ठ (८४०), अभिनव मयुर कसौधन (८३७) र हरिश सेठिया (८३५) मत प्राप्त गरी विजयी भएका छन्।
वाणिज्यतर्फ १० जना सदस्यक लागि १९ जनाले उम्मेदवारी दिएका थिए।
त्यस्तै उद्योगतर्फ सदस्यमा मंगल भण्डारी (१२८८), रमेश घिमिरे (९५०), रचना क्षेत्री (८०८), भुवनकुमार कान्दु (७५१) र हरिबहादुर थापा (७३९) मत प्राप्त गरी निर्वाचित भएका छन्।
उद्योगतर्फ ५ जना सदस्यक लागि ११ जनाले उम्मेदवारी दिएका थिए।
त्यस्तै उद्योगतर्फ (महिला) सदस्यमा पल्लवी न्यौपानेले ६ सय ५१ मत ल्याइ विजयी भएकी छन्। उद्योगतर्फ एक जना (महिला) सदस्य पदक लागि ४ जनाले उम्मेदवारी दिएका थिए। १ हजार ९ सय ४ मतदाता रहकोमा निर्वाचनमा १ हजार ५ सय ६५ मत खसेको निर्वाचन अधिकृत गौडेलले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले संघलाई अझै उचाइमा पुर्याउने र सबैलाई समेटेर अघि बढ्ने बताए। उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्ने बताए।
प्रतिक्रिया