ad ad

गण्डकी


रास्वपा कार्यकर्ताविरुद्ध सहकारीपीडितको टिप्पणीः नाटकीय प्रदर्शन, मानवता हराएका मानिस

‘हामीले रविविरुद्ध जाहेरी दिएका हौँ, रास्वपाविरुद्ध होइन’
रास्वपा कार्यकर्ताविरुद्ध सहकारीपीडितको टिप्पणीः नाटकीय प्रदर्शन, मानवता हराएका मानिस

पोखरामा सोमबार रास्वपा कार्यकर्ताले गरेको प्रदर्शन।


वाशुदेव मिश्र
असोज ९, २०८१ बुधबार १४:४१, पोखरा

गत सोमबार पोखराको सहिदचोकमा सहकारीपीडितका नाममा नाराबाजी गर्ने दुईथरी मान्छे देखिए।

तीमध्ये एकातिरकाले सहकारीपीडितलाई न्याय देऊ, फासिस्ट सरकार मुर्दावाद, सरकारको षड्यन्त्रविरुद्ध भण्डाफोर गरौँलगायत लेखिएका प्लेकार्ड बोकेका थिए भनेका अर्कोतिरकाले घण्टी बजाएर पैसा खाने ठगहरू होसियार, सहकारी ठगलाई कारबाही गर, हाम्रो बचत फिर्ता गर, रवि लामिछानेलाई पक्राउ गरजस्ता नारा लगाइरहेका थिए।

सरकारविरुद्ध नाराबाजी गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता थिए। अघिल्लो दिन (असोज ७ गते)  रास्वपाकै सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविराज जोशी पक्राउ परेछि उनीहरू सडकमा उत्रिएका थिए।

छवि पक्राउपछि रविलाई पनि पक्रने आशंकाले सांकेतिक विरोध गर्न आफूहरू सडकमा आएको रास्वपा गण्डकीका सभापति एकराज न्यौपानेले बताएका थिए। 

उता सूर्यदर्शन बचतपीडित तदर्थ संघर्ष समितिका संयोजक किरण श्रेष्ठको कुरा फेरि भिन्नै थियो।

‘सहकारीपीडितलाई न्याय दे भन्ने तर हाम्रा सभापतिलाई पक्राउ नगर भन्नुको अर्थ पीडितलाई थप पीडा दिनु र दोषीलाई उम्काउने षड्यन्त्र हो, हामीले उहाँहरू प्रदर्शनमा उत्रनुहुन्छ भन्ने सोचेका पनि थिएनौँ तर सडकमा आउनुभएछ’, उनी भन्दै थिए, ‘हामीले व्यक्ति रविको विरुद्ध जाहेरी दिएको हो, रास्वपाविरुद्ध हैन तर सिंगो पार्टी प्रतिरोधमा उत्रिएर पीडितको आँशुमाथि खेलबाड भयो, आँशुको अगाडि दम्भ र शक्तिको नांगो प्रदर्शन गरियो।’

सहकारीका वास्तविक पीडित र रास्वपा कार्यकर्ताबीच जिल्ला प्रशासन कार्यालयअगाडि जुहारी चलिरहेकै बेला सूर्यदर्शन सहकारी ठगी काण्डमा पक्राउ परेका छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दियो। अहिले उनका विषयमा अदालतमा बहस चलिरहेको छ।

यसैबीच सहकारीपीडितहरूले आज बुधबार विज्ञप्ति जारी गर्दै आफूहरूविरुद्ध सिंगो पार्टी (रास्वपा) नै लागेको भनी आपत्ति प्रकट गरेका छन्।

सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचतपीडित संघ कास्कीले संयुक्त विज्ञप्ति जारी गरी रास्वपाको प्रदर्शनप्रति विरोध जनाएका हुन्। 

विज्ञप्तिमा ‘वास्तविक सहकारीपीडितको पहिचानमाथि नै प्रश्नचिह्न खडा हुने किसिमको अभिव्यक्ति र नाराको साथ सामाजिक सञ्जालमा पनि विभिन्न झुटा लाञ्छना यिनै पार्टीका मुख्य व्यक्ति तथा कार्यकर्ताले निरन्तर लगाइराखेका छन् तर यी यस्ता झुटा लाञ्छना र पार्टीका झोले, नक्कली पीडित या परिचालित व्यक्तिजस्ता शब्दले सहकारीपीडितलाई कुनै फरक नपर्ने’ उल्लेख गरिएको छ। 

साथै उनीहरूले प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताहरूलाई मानवता हराएका व्यक्तिको संज्ञा पनि दिएका छन्।

रास्वपाको नाम नलिई विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी यस्ता दस झुटा लाञ्छना सहन तयार छौँ तर त्यसको बदलामा एक पीडितको रकम फिर्ता होस् भन्ने कुरामा तपाईं र तपाईंको पार्टी सहमत छ? हामी सहकारी पीडितको जीवनयापनमा के समस्या छ भन्ने र कति समस्या छ भन्ने कुरा आजसम्म कसैले चिहाएर हेर्ने प्रयास गरेको छ? आज एउटा उदीयमान राजनीतिक पार्टीले देशको विकास, जनताको न्याय र सुशासनको पक्षमा काम गर्नु र बोल्नुपर्ने बेलामा सहकारीपीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडाको दुखाइमा पनि लाज लागेर आएको छ।’

बचत फिर्ताको सुनिश्चितता नभएसम्म संघर्ष जारी राख्ने र सहकारीपीडितलाई नै फुटाउने कार्यविरुद्ध लागिरहने अडान पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

गएको माघ २६ गते सूर्यदर्शन सहकारीका पीडितले कास्की प्रहरीमा दिएको पूरक निवेदनमा रास्वपा सभापति रवि लामिछानेको नाम किटान गरिएको छ।

सोही जाहेरीलाई आधार बनाएर सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले रविविरुद्ध कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ भने गृह मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .