रुपन्देहीमा बोधी होल्डिङ्ग प्रालिले हाउजिङ परियोजना अघि बढाएको छ। जिल्लाको ओमसतिया गाउँपालिका–४, वसन्तपुर (भैरहवा)मा ‘बोधी होम्स’ हाउजिङ निर्माण सुरु गरिएको हो।
प्रालिले भैरहवामा पत्रकार सम्मेलन गरी दुई चरणमा हाउजिङ बनाउने गरी परियोजना अघि बढाइएको बताएको छ। उक्त हाउजिङ भैरहवा–परासी सडकखण्ड छेउमा पर्छ।
प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले हाउजिङभित्र पहिलो चरणमा १०५ र दोस्रो चरणमा १९५ वटा गरी ३ सय घर निर्माण गरिने बताए। यो परियोजना लुम्बिनी प्रदेशकै ठूलो आवासीय परियोजना हो। यसअघि प्रदेशमै यस्तो आवासीय परियोजना सुरु भएका छैनन्।
‘हामीले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सामुदायिक आवासको संस्कार विकास गर्न यो हाउजिङ परियोजना सुरु गरेका हौं’, उनले भने, ‘काठमाडौं लगायतका सहरमा विकसित रहेको हाउजिङ आवास अब लुम्बिनी क्षेत्रमा पनि विकास भएको छ। यो ठाउँका लागि राम्रो सन्देश हो।’
१४ बिघा क्षेत्रफलमा बन्ने हाउजिङभित्र ३ सय घर निर्माणका लागि ४ अर्ब रुपैयाँ लाग्ने प्रालिले जनाएको छ। पहिलो चरणमा बन्ने १०५ घर दुई वर्षमा सक्ने लक्ष्य लिइएको छ।
‘बाँकी घरहरु थप दुई वर्षमा निर्माण सकिनेछ’, अध्यक्ष पाण्डेले भने, ‘चार वर्षभित्र सबै घरहरु निर्माण भइसक्नेछन्।’ प्रालिले हाउजिङ निर्माण सुरु गरेसँगै घर खरिदका लागि बुकिङ्ग खुल्ला समेत गरेको जनाएको छ।
हाउजिङ परियोजनामा पर्यटन एवं बैंक व्यवसायी पाण्डेसहित रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य प्रमोद यादव, चार्टर्ड एकाउण्टेण्ट दीपक पाण्डे, दिनबन्धु पोखरेल, एनआरएनए छविलाल कुँवर र रवीन्द्र कुँवर लगायतका व्यवसायीहरुले लगानी गरेका छन्।
यो समूहले लामो समयदेखि हाउजिङ, पाँचतारे होटललगायत बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरी अनुभव बटुलेको छ। प्रालिका प्रबन्धनिर्देशक दिनबन्धु पोख्रेलले हाउजिङ निर्माण सुरु हुनै लाग्दा १५ वटा घर प्रि–बुकिङ्ग भइसकेको बताए।
‘बुकिङ्ग खुल्ला नहुँदै प्रि–बुकिङ भइसकेको छ। अब द्रुतगतिमा बुकिङ बढ्ने हाम्रो अपेक्षा छ’, पोख्रेलले भने।
प्रालिले २०७८ वैशाखभित्र बुकिङ्ग गर्नेलाई ११ देखि १४ धूर जग्गामा बनेको घरको मूल्य १ करोड ६० लाख र १७ धूर जग्गामा बनेको घरको मूल्य १ करोड ९० लाख निर्धारण गरेको छ।
‘अहिले कायम गरिएको मूल्यमा २०७८ वैशाखपछि १२.५ प्रतिशतले वृद्धि हुनेछ, सुरुमा बुकिङ गर्नेलाई फाइदा हुन्छ’, लगानीकर्तामध्येका सांसद यादवले भने। उनका अनुसार बुकिङ्ग गर्दा सुरुमै मूल्यको १० प्रतिशत भुक्तानी दिनुपर्नेछ।
‘हामीले हाउजिङभित्र बन्ने घर खरिद गर्ने ग्राहकको सुविधाका लागि मूल्यको ६० प्रतिशत रकम ग्लोबल आईएमई बैंकबाट सस्तो ब्याजदरमा २० वर्षे कर्जा उपलब्ध गराउने सम्झौता समेत गरेका छौं’, उनले भने, ‘जसले गर्दा पैसा पूरा नभए पनि ग्राहकले कर्जामार्फत् घर खरिद गर्न सक्नुहुनेछ।
दुई तलासहित ४ वटा विभिन्न डिजाइनमा निर्माण गरिने घरहरु १३–१८ धूरसम्मका बनाइनेछ। काठमाडौंपछि आर्थिक, पर्यटकीय र पूर्वाधारका हिसावले दु्रत गतिमा विकास भइरहेको रुपन्देहीमा यस्ता परियोजनाले यहाँको थप विकास हुने सांसद यादवको विश्वास छ।
हाउजिङभित्र आधुनिक सुविधासहितका घरसँगै स्विमिङ पुल, फराकिलो बाटो, हेल्थ क्लब, सभा हल, जिम हाउस, बगैंचा हुनेछन्। यस्तै, पार्किङ क्षेत्र, खानेपानी, सपिङ सेन्टर र मजबुत सुरक्षा व्यवस्था मिलाएर घर निर्माण गरिनेछ।
‘भैरहवाको काखैमा लुम्बिनी छ, छिट्टै यहाँबाट अन्तर्राष्ट्रिय उडान हुँदैछ यसले गर्दा पनि हामी यहाँ लगानी गर्न आतुर थियौं र परियोजना अघि बढायौँ’, अध्यक्ष पाण्डेले भने, ‘हरेक दृष्टिले लुम्बिनी क्षेत्र लगानीयोग्य छ भन्ने हाम्रो ठम्याइ हो।’
केही समयमै मुलुककै आधुनिक सहरमा विकसित हुँदै गइरहेको भैरहवा सहरलाई थप व्यवस्थित गर्न हाउजिङ परियोजनाले टेवा पुग्ने लगानीकर्ताको विश्वास छ।
यो पनि –
सातदोबाटोमा बन्दै युरोपेली शैलीको हाउजिङ : सिलिन्डरको विकल्प पाइपलाइनबाट ग्यास, घरकाे मूल्य कति?
प्रतिक्रिया