कारोबार


फस्टाउँदै दुईपांग्रेको एसेम्बल : तयारी आयातभन्दा नेपालमै बन्ने धेरै

५६ हजार भित्रिँदा आधा बढी नेपालमै बने
फस्टाउँदै दुईपांग्रेको एसेम्बल : तयारी आयातभन्दा नेपालमै बन्ने धेरै

वसन्त अर्याल
पुस ९, २०८० सोमबार १७:५४, काठमाडौँ

नेपालमा तयारी अवस्थाका दुईपांग्रेभन्दा नेपालमै एसेम्बल हुने बढेका छन्। सरकारले नेपालमै एसेम्बल हुने उद्योगलाई करछुट दिएसँगै एसेम्बल हुनेको संख्या बढेको हो। 

भन्सार विभागको तथ्यांकअनुसार ५ महिनामा कुल ५६ हजार १६२ मोटरसाइकल आयात भएकामा आधा बढी नेपालमै एसेम्बल हुनथालेका छन्। साउनदेखि मंसिरसम्मको अवधिमा अनएसेम्बल अवस्थाका २९ हजार ७११ दुईपांग्रे भित्रिएका हुन्। नेपालमा एसेम्बल हुनेमा सबैभन्दा बढी १२५ सीसीसम्मका दुईपांग्रे छन्। त्यसमा पनि अधिकांश स्कुटर १२५ सीसीसम्मका हुन्छन्। 

अनएसेम्बल अवस्थाका १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटर ११ हजार ८२६ वटा भित्रिएका छन्। १२५ देखि २०० सीसीसम्मका ११ हजार ३०१ वटा अनएसेम्बल अवस्थाका दुईपाग्रे भित्रिएका छन्। २०० देखि २५० सीसीसम्मका ६८३ वटा मोटरसाइकल भित्रिएका छन्। 

२५१ देखि ४०० सीसीसम्मका ५ हजार ७९८ वटा मोटरसाइकल भित्रिएका छन्। ४०१ देखि ५०० सीसीसम्मका ११२ वटा मोटरसाइकल भित्रिएका छन्। 

सहुलियत दिँदा सफल हुँदै एसेम्बल
नाडा अटो मोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष ध्रुव थापाले सरकारले एसेम्बल उद्योगलाई सहुलियत उपलब्ध गराउँदा सफल भएको बताए। 

‘सरकारले जुन उद्देश्य लिएर एसेम्बल उद्योगलाई करछुट गरेको थियो। त्यो पूरा हुँदै छ’, थापाले भने, ‘तयारी अवस्थाका मोटरसाइकलभन्दा नेपालमै आएर एसेम्बल हुने बढी हुनु राम्रो हो।’

सरकारले छुट दिँदा तयारी अवस्थाका मोटरसाइकलभन्दा नेपालमै एसेम्बल हुने दुईपांग्रे केही सस्तो रहेको बताए। तर सरकारी अधिकारी भने सरकारले दिएको सहुलियतअनुसार उद्योगीले मूल्य नघटाएको बताउने गरेका छन्। 

‘बजारमा प्रतिस्पर्धा गर्नकै लागि एसेम्बलिङ उद्योग खोल्नुपर्ने अवस्था छ’, अध्यक्ष थापाले भने, ‘नेपालको अर्थतन्त्रको लागि एकदम राम्रो हो। यसले बाइकमा प्रयोग हुने ब्याट्री, टायर उद्योग, सिट, लुकिङ ग्लासजस्ता उद्योग समेत बढ्दै गएका छन्।’

उनले केही वर्षमा एसेम्बलिङ उद्योगमा ‘भ्यालु एड’ (मूल्यअभिवृद्धि) हुने गरी पार्ट्सको समेत उत्पादन हुने बताए। 

अनएसेम्बल अवस्थाका सबै मोटरसाइकलमा ३० प्रतिशत भन्सार महशुल लगाउने गरेको छ। अन्तःशुल्क भने फरक–फरक छ।    २०० सीसीसम्मका मोटरसाइकलमा ४०, २०० सीसीमाथिका मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ। 

‘एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट हुनेछ’, आर्थिक ऐन २०८०/०८१ मा उल्लेख छ। 

सरकारले सुरुमा नेपालमा एसेम्बल गर्ने दुईपांग्रे साधनको लागि अन्तःशुल्कमा ५० प्रतिशत छुट दिँदै आएको थियो। तर एसेम्बल गरे पनि कम्पनीहरुले मूल्य नघटाएको भन्दै त्यसलाई २५ प्रतिशतमा झारिएको थियो। अघिल्लो आर्थिक वर्षमा फेरि ५० प्रतिशत नै पुर्‍याएको छ। 

ठूला बिक्रेताको नेपालमै एसेम्बल
नेपालमा विद्युतीय र पेट्रोल इन्जिनका दुईपांग्रेले नै एसेम्बल थालेका छन्। धेरै बिक्री हुने ब्रान्डहरू बजाज, टीभीएस, यामाहा, रोयल इन्फिल्ड, बेनेलीलगायतले एसेम्बल युनिट बजारमा ल्याइसकेका छन्। 

त्यस्तै नेपालमै एसेम्बलिङ प्रोडक्ट ल्याउन होन्डा र हिरोले पनि उद्योग दर्ता गरिसकेका छन्। 

यसबाहेक भारत र चीनबाट विद्युतीय स्कुटर ल्याई नेपालमा एसेम्बल गर्ने समेत बढ्दै गएको छ। तर तिनको बजार हिस्सा कम छ। 

बढी बजार हिस्सा रहेको बजाजका बाइक उत्पादन गरिरहेको हुलास अटो क्राफ्ट प्रा.लिको नवलपरासीमा एसेम्बली प्लान्ट छ। उद्योग विभागको तथ्यांकमा १२५ सीसीसम्मका ८ हजार र १५० सीसीका १० हजार उत्पादन क्षमता रहेको उल्लेख गरेको छ। सोहीअनुसार पल्सर बाइक नेपालमै एसेम्बल हुने गरेका छन्। 

त्यस्तै जगदम्बा अटो ग्रुपले टीभीएसको दुईपांग्रे उत्पादन सुरु गरिसकेको छ। कम्पनीले पर्सामा एसेम्बल युनिट स्थापना गरी अपाचे मोटरसाइकलबाट एसेम्बल थालेको थियो। उसले बारा जिल्लामा मोटरसाइकल वार्षिक ६० हजार र स्कुटर ४० हजार थान उत्पादन क्षमताको प्लान्ट बनाएको छ। 

यता यामाहाको आधिकारिक बिक्रेता एमएडब्लुले समेत एफजेट बाइक नेपालमै एसेम्बल सुरु गरेको छ। उद्योग विभागका अनुसार कम्पनीको वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन गर्ने क्षमता रहने उल्लेख गरेको छ। 

त्रिवेणी समूहले पनि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता लिएसँगै नेपालमा एसेम्बल प्लान्ट बनाई बाइकको मूल्य समेत घटेको छ।

प्रतिवर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्नसक्ने क्षमतासहित वीरगन्जमा एक लाख वर्ग फिटमा फैलिएको    एसेम्बली युनिट कम्पनीले तयार गरेको छ। 

कम्पनीले नेपाली बजारमा ल्याएका नयाँ क्लासिक ३५० र स्क््रयाम ४११ को उत्पादन गरिरहेको छ। प्लान्ट स्थापना गर्दा नेपालको बढ्दो बजारलाई प्रोत्साहित गर्दै मध्यम आकारको मोटरसाइकलको प्रवर्द्धन गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ। 

क्लासिक ३५० को मूल्य ४ लाख ९९ हजार तथा स्क््रयाम ४११ को मूल्य ६ लाख ६० हजार हुनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .