ad ad

कारोबार


अब नेपाल आउँदैछ विश्वका कुना–कुना पुगेको स्टारलिंकको स्याटेलाइट इन्टरनेट

पूरा हुँदै मस्कको सपना
अब नेपाल आउँदैछ विश्वका कुना–कुना पुगेको स्टारलिंकको स्याटेलाइट इन्टरनेट

नेपालखबर
असार ३०, २०८१ आइतबार ६:५६, काठमाडौँ

चर्चित अन्तरिक्ष कम्पनी स्पेस एक्स र धनाढ्य इलोन मस्कको लागि सम्झिराख्ने मिति हो– २०१९ मे २३। यही दिन स्पेस एक्सले पहिलो ब्याचका स्याटेलाइटहरु अन्तरिक्षमा प्रक्षेपण गर्दै संसारलाई स्टारलिंक उपहार दिएको थियो। 

स्टारलिंक 'स्टारलिंक सर्भिसेज, एलएलसी'ले सञ्चालन गरेको स्याटेलाइट इन्टरनेट सेवाप्रदायक कम्पनी हो। जुन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको पूर्ण स्वामित्वको सहायक कम्पनीका रुपमा छ। 

अमेरिकाको फ्लोरिडा सहरस्थित केप कानाभरलमा स्पेस एक्सको फाल्कन ९ रकेटबाट ती स्याटेलाइट प्रक्षेपण गरिएको अहिले ५ वर्ष पूरा भएको छ भने कम्पनी आफ्नो उद्देश्यप्राप्तिमा सफल पनि देखिएको छ। त्यतिबेला कम्पनीले २०२० बाट नै विश्वमा बिम इन्टरनेट पुर्‍याउने बताएको थियो। २२७ किलो तौलका ६० वटा स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा पठाएसँगै मस्कको कम्पनीले देखेको सपना पूरा हुने दिशामा अग्रसर भएको थियो।  

२०२४ को मार्च सुरुतिर आइपुग्दा ६ हजार बढी साना स्टारलिंक स्याटेलाइटहरु पृथ्वीको तल्लो कक्षमा फन्को मारिरहेका छन्। जसले पृथ्वीको सतहमा रेडियो सञ्चार गर्छन् अर्थात् इन्टरनेट सेवा दिन्छन्।  

सन् २०२३ को एक तथ्यांकअनुसार अहिले पनि २ अर्ब ६० करोड विश्व जनसंख्या इन्टरनेटको पहुँचबाहिर छ। तर पृथ्वीका कुनै पनि कुनामा स्टारलिंकले इन्टरनेट पुर्‍याउने बताउँदै आएका अर्बपति मस्कले त्यसलाई व्यवहारमा पनि पूरा गर्ने चरणमा देखिएका छन्। 

कहाँ कहाँ पुग्यो स्टारलिंक? 
मस्कको स्टारलिंक अहिले उत्तर अमेरिकाभर उपलब्ध भइसकेको छ। अमेरिका, क्यानडा, मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोरलगायत देशमा सेवा सुरु भइसकेको छ। कम्पनीका अनुसार क्युबा र निकारागुआबाहेकका देशमा सेवा सञ्चालनमा छ। त्यसैगरी दक्षिण अमेरिकामा पनि भेनेजुएलाबाहेक अधिकांश देशमा सञ्चालनमा छ। बोलिभियामा अर्को वर्षदेखि सुरु हुँदै छ। 

त्यसैगरी युरोपका धेरैजसो देशमा पुगिसकेको स्टारलिंक सर्बियामा यही वर्ष सुरु हुँदै छ भने टर्कीमा सेवा स्वीकृति पर्खेर बसेको छ। रुसको मस्कोमा उपलब्ध नरहे पनि स्टारलिंकले ऊसँग युद्धरत युक्रेनलाई भने अमेरिकी सरकारसँगको सम्झौताअनुसार सेवा सहयोगका रुपमा सन् २०२२ देखि नै सञ्चालनमा ल्याइसकेको छ। स्टारलिंककै सैन्य संस्करणको स्टारशिल्ड इन्टरनेट सेवाप्रदायक रहेको छ। 

अफ्रिकामा सिएरा लियोन, नाइजेरिया, रुवान्डा, केन्या, जाम्बिया, मोजाम्बिकलगायतका देशमा पुगिसकेको छ। 

एसियामा मंगोलिया, जापान, फिलिपिन्स, मलेसिया, इन्डोनेसियालगायतका देशले स्टारलिंकको सेवा सुरु गरिसकेका छन्। ताइवान, लाओस, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भारत, बंगलादेशलगायतका देशमा केहीमा स्वीकृति पाउने चरणमा र केहीमा सेवा सुरु हुने चरणमा रहेको कम्पनीले जनाएको छ। 

त्यसैगरी अस्ट्रेलिया, न्युजिल्यान्ड, तास्मानिया, फिजीलगायतका देशमा पनि स्टारलिंकले सेवा दिँदै आएको छ। एसियाका धेरै देशलाई स्टारलिंकले पछि सेवा सञ्चालन हुने वा वेटलिस्टमा राखेको छ। 

अमेरिका, युरोप र अस्ट्रेलियापछि एसिया र अफ्रिकामा विस्तार हुँदै 
अमेरिका, युरोप र अस्ट्रेलियापछि पहिलो स्याटेलाइट इन्टरनेट प्रविधि अब एसिया र अफ्रिकामा विस्तार हुने क्रममा छ। 

सन् २०२० मा अमेरिकी देशहरुमा सीमित परीक्षणका रुपमा स्टारलिंक इन्टरनेट सुरु भएको थियो। २०२० को नोभेम्बरपछि पब्लिक बेटा टेस्टरका लागि उपलब्ध भएको थियो। सन् २०२१ मा क्यानडा र युरोपेली देशहरु बेलायत र पिटकेर्न आइल्यान्डमा स्टारलिंक इन्टरनेट प्रयोगमा आयो। 

सोही वर्ष मार्चमा जर्मनी, अप्रिलमा न्युजिल्यान्ड र अस्ट्रेलियामा स्टारलिंकले सेवा विस्तार गरेको थियो। त्यसपछि २०२१ र २२ मा युरोपकै अन्य देशमा विस्तारित भएको स्टारलिंक दक्षिण अमेरिकी देशहरुमा पनि फैलियो। योसँगै अहिलेसम्म ८० बढी देशमा स्टारलिंकले सेवा दिन थालिसकेको छ। 

स्टारलिंकका अनुसार एसिया र अफ्रिकाका धेरै देशमा स्याटेलाइट इन्टरनेट पुग्ने चरणमा छ। यसअनुसार २०२४ मै ताजिकिस्तान, ओमन, ट्युनिसिया, मौरिसनिया, सेनेगल, आइभरी कोस्ट, चाड, गाबोन, एंगोला, नामिबियामा स्टारलिंक इन्टरनेट सुरु हुनेछ। त्यसगरी २०२५ मा श्रीलंका, काजकस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान, नाइजर, भियतनाम, बंगलादेशलगायतका देशमा सेवा सुरु हुने स्टारलिंकले जनाएको छ। 

चीन, उत्तर कोरिया, अफगानिस्तान र इरानमा स्टारलिंकको चाँडै उपस्थिति हुने सम्भावना नरहेको कम्पनीले उल्लेख गरेको छ। 

श्रीलंकाले कानुनै संशोधन गरेर खोल्यो बाटो  
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्यराष्ट्रहरुमा स्टारलिंक आउन बाँकी छ। यीमध्ये भुटानमा यही वर्षदेखि र बंगलादेश र श्रीलंकामा अर्को वर्षदेखि नै स्टारलिंकको इन्टरनेट प्रयोग हुँदै छ। 

श्रीलंकाको संसदले वर्षौँ पुरानो दूरसञ्चार सेवासम्बन्धी कानुन संशोधन गर्दै मस्कको इन्टरनेटलाई स्वागत गरेको थियो। २८ वर्षमा पहिलोपटक संशोधन भएको कानुनअनुसार अब दूरसञ्चार सेवाको लागि तीन प्रकारको अनुमति दिइने व्यवस्था मिलाइनेछ। योसँगै अनुमतिप्राप्त सेवा प्रदायकको रुपमा स्टारलिंक श्रीलंकामा प्रवेश गर्नेछ। 

भारत र पाकिस्तानमा भने नियामकीय स्वीकृति कुरिरहेको स्टारलिंकले जनाएको छ। कम्पनीले नेपाल र माल्दिभ्सलाई ‘कमिङ सुन’मा राखेको छ भने अफगानिस्तानमा सेवाबारे कुनै जानकारी छैन।  

स्टारलिंकले विश्वव्यापी रुपमा मोबाइल ब्रोडब्यान्ड उपलब्ध गराउने लक्ष्य राखेको छ। यसका लागि मस्क आफैँ कम्मर कसेर लागिपरेका छन्। 

गत मे १९ मा मस्क आफैँले इन्डोनेसियामा स्पेस एक्सको स्याटेलाइट इन्टरनेट सेवाको औपचारिक सुरुवात गरेका थिए। यसअघि नै मलेसिया र फिलिपिन्समा स्टारलिंक उपलब्ध भइसकेको छ। 

यता भारतमा स्टारलिंक इन्टरनेटका लागि मस्कको विशेष चासो रहँदै आएको छ। स्टारलिंकले भारतको दूरसञ्चार मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति पाइसकेको छ। 

फरक अवधारणा, उन्नत प्रविधि
स्टारलिंकका खास विशेषताहरु छन्। एक त यो परम्परागतभन्दा भिन्न प्रकृतिको छ। जमिनमा केबल (तारजडित)मार्फत इन्टरनेट चलिरहेको संसारमा यसले अन्तरिक्षबाट इन्टरनेट प्रवाह गर्छ।

त्यसो त यसका मालिक इलोन मस्क अरुभन्दा भिन्न काम गर्न रुचाउने महत्त्वाकांक्षी व्यक्ति हुन्। उनको स्पेस एक्सले पृथ्वीबाट चन्द्रमासम्म मात्र होइन, मानिसलाई मंगलग्रह लगेर उतै बस्ती बसाल्ने असम्भवजस्तो काम फत्ते गर्ने महत्त्वाकांक्षा पालेको छ। उसले अहिले संसारकै शक्तिशाली स्पेसक्राफ्ट निर्माण र परीक्षणलाई तीव्र पारिरहेको छ। 

लहडी अर्बपति मस्कको स्टारलिंक त्यसकारण पनि अर्थात् त्यही विविध महत्त्वाकांक्षाको एक स्वरुपमा सम्भव भएको हो। स्टारलिंक स्याटेलाइट प्रविधिको इन्टरनेट हो। पृथ्वीको तल्लो कक्षमा घुम्ने स्टारलिंकको बेस, राउटर, स्टारलिंक केबल र एसी केबलबाट इन्टरनेट चल्छ।

कम्पनीका अनुसार उन्नत प्रविधियुक्त स्याटेलाइटहरु र युजर हार्डवेयरसँग संयोजित स्टारलिंकले उच्च गतियुक्त, निकै कम विलम्बताको इन्टरनेट विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराउँछ। यो इन्टरनेटमा डाउनलोड १० जीबीपीएससम्म, अपलोड १० जीबीपीएससम्म र ९९ एमएससम्मको मात्र लेटेन्सी रहेको कम्पनीको दाबी छ। 

स्टारलिंक स्याटेलाइट नेटवर्कबाट स्टारलिंक गेटावे, कम्युनिटी गेटावे हुँदै स्थानीय नेटवर्कमा उपलब्ध हुन्छ। 

आवासीय प्रयोगकर्ताका लागि यो गुणस्तरीय रहेको कम्पनीले जनाएको छ। यसबाट स्ट्रिमिङ, भिडिओ कल, अनलाइन गेमिङ र अन्य धेरै प्रयोजनमा यसको प्रयोग गर्न सकिन्छ। केही मिनेटमै अनलाइन हुन आवश्यक सबै स्टारलिंक किटसँगै आइपुग्छ। यसमा एसी केबल (१.८ एम/६ फिट) प्रयोग हुन्छ।

स्टारलिंक वाइफाइ राउटरमा आधारित छ। यसमा आईईई ८०२.११/बी/जी/एन/एसी स्ट्यान्डर्डको वाइफाइ प्रविधि छ। यो पाँचौँ पुस्ताको वाइफाइ हो। यसबाहेक डुअल ब्यान्ड रेडियो, डब्लुपीए२ सेक्युरिटी, इन्डोर युजका लागि आईपी५४ इन्भाइरोन्मेन्टल रेटिङ, १८५ वर्गमिटरसम्मको कभरेज, माइनस ३० डिग्री सेल्सियसदेखि ५० डिग्री सेल्सियससम्म चल्ने क्षमता छ। मेश कम्प्याटिबिलिटी र एथरनेट अड्याप्टर यसका लागि चाहिन्छ। 

स्टारलिंकले व्यक्तिगत र व्यवसाय प्रयोजनमा इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। यसको इन्टरनेटको गति पनि उत्तिकै शक्तिशाली छ।

व्यवसाय प्रयोजनमा कम्पनीले दिने इन्टरनेटको डाउनलोड ४०–२२० बढी एमबीपीएस छ भने अपलोड ८–२५ बढी एमबीपीएस छ। यसमा लेटेन्सी केवल २०–६० एमएस छ। 

जहाँसुकै, जस्तोसुकै अवस्थामा चलाउन सकिने!
र, अर्को महत्त्वपूर्ण पक्ष भनेको स्टारलिंक जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि चलाउन सकिने सुविधा हो। 

गाडी गुडिरहेको अवस्थामा होस् कि विमान उडिरहेको अवस्थामा स्टारलिंक हरसमय उपलब्ध हुने कम्पनीको भनाइ छ। त्यस्तै स्टारलिंकले सुगम र दुर्गमताको भिन्नतालाई पनि चिर्छ। स्याटेलाइट प्रविधि भएकाले विश्वका जुनसुकै कुनामा यसको मज्जाले उपभोग गर्न सकिन्छ। 

त्यसैले त स्टारलिंकले आफ्नो इन्टरनेट उपभोक्तालाई ३० दिनको परीक्षण समय दिइरहेको छ। यसअनुसार सन्तुष्टि नमिले सबै खरिद लागत फिर्ता गरिने आफ्नो वेबसाइटमा नै कम्पनीले उल्लेख गरेको छ।

इन्टरनेटको गतिजस्तै छ आम्दानी 
स्टारलिंकको इन्टरनेट जति उच्च गतियुक्त छ, त्यतिकै रफ्तारमा छ यसको व्यवसाय। मज्जाले फस्टाउँदै गएको छ।

स्याटेलाइट टुडेका अनुसार कम्पनीको व्यवसाय फस्टाउँदै जाँदा यो वर्ष ६.६ अर्ब अमेरिकी डलर राजस्वको लक्ष्य भेट्टाउने लयमा छ। यदि यो लक्ष्य प्राप्त भयो भने सन् २०२३ को भन्दा २०२४ को आम्दानीमा लोभलाग्दो ८० प्रतिशत वृद्धि हुनेछ।

यो वर्षको मार्च सकिँदासम्म कम्पनीका सब्स्क्राइबर २७ लाख पुगिसकेका छन्। जुन यसका प्रतिस्पर्धी कम्पनीहरु भिस्याट र हग्स नेटवर्क सिस्टमको सबै जोड्दा पनि बढी हुन आउँछ। 

एक खुलासा भएको रिपोर्टअनुसार कम्पनीले सन् २०२२ मा १ अर्ब ४० करोड डलर राजस्व संकलन गरेको थियो। जुन अघिल्लो वर्षको २२ करोड २० लाख डलरको तुलनामा उल्लेखनीय वृद्धि हो।

मालिक मस्कले सन् २०२२ मा १२ अर्ब राजस्व प्राप्त हुने र सञ्चालन मुनाफा ७ अर्ब डलर हुने अनुमान गरेका थिए। आफ्नो सुरुवाती अनुमान पूरा नभए पनि स्टारलिंकको वृद्धिदर लोभलाग्दो नै छ। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .