कला


कुमारी हल, जहाँ फिल्म देखाइँदैन

कुमारी हल, जहाँ फिल्म देखाइँदैन

रुपक चौलागाईं
जेठ २३, २०७९ सोमबार १९:३३, काठमाडौँ

नेपाली चलचित्रको प्रिमियरका लागि विशेष मानिन्थ्यो, राजधानीको कमलपोखरीस्थित कुमारी फिल्म हल। मानिसहरु राम्रो फिल्म बजारमा आएको थाहा पाउनासाथ हतारिँदै कुमारी हलमा पुग्छन्। तर, त्यहाँ अचेल सिनेमा देखाइन्न, अर्थोकै बिजनेश चलेको छ। 

कोरोना महामारीसँग जुध्न नसकेपछि आफ्नो ३७ वर्ष लामो ‘ब्राण्ड’ र इतिहासलाई ‘ब्रेक’ लगाउँदै गत वर्षदेखि यो सिनेमा हल कलेजमा परिणत भएको छ।

हल सञ्चालक टिमले कुमारी हल इस्लिङ्टन कलेजलाई जिम्मा लगाइदिएको छ।

०६२ सालदेखि क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको कुमारी हल फिल्म निर्मातालाई नाफा दिनेमध्येको एक मानिन्थ्यो।

कुमारीको गेटमा बस्ने ‘सुरक्षागार्ड’ का अनुसार राम्रो फिल्म चलेको दिन कुमारीमा अहिले पनि मान्छेको भीड लाग्ने गर्छ।

‘यहाँ कलेज खुलेको १ वर्षभन्दा बढी भइसक्यो,’ उनले सुनाए, ‘तर, अहिले पनि फिल्म हेर्न आउने मान्छेहरु फर्काउँदा हैरान भइन्छ।’

कुनै चर्चित अभिनेता वा अभिनेत्रीको फिल्म चलेका दिन दैनिक १ सयको हाराहारीमा मानिसहरु कुमारी हलको पार्किङस्थलसम्म पुगेर फर्कने गरेको गार्ड बताउँछन्।

सरकारले लकडाउन घोषणा गरेसँगै ११ चैत्र ०७७ देखि यो हल सदाका लागि बन्द भएको छ।

कुमारीमा अहिले इस्लिङ्टन कलेज सञ्चालनमा छ। हलका दुई पर्दा भएको भवन भने कलेजकै ठूला–ठूला कार्यक्रमका लागि सञ्चालनमा आउँछन्।

पार्किङ बिक्री भयो, हल भाडामा!
कुमारी हल रहेको पार्किङको जग्गा बिक्री भइसकेको छ। पार्किङको जग्गा इस्लिङ्टन कलेजले नै खरिद गरेको हो। क्यूएफएक्सका अध्यक्ष नकिम उद्धीनका अनुसार हलको भवन भने भाडामा लिइएको थियो।

कोरोना महामारीको लगातार प्रभावपछि हलको जग्गा बिक्री गरिएको उद्धीनले नेपालखबरलाई बताए।

‘कुमारी हल लिजमा थियो। सँगैको पार्किङ चाहिँ हाम्रो थियो,’ उनले भने, ‘२ वर्षसम्मको महामारीले हामीलाई धेरै घाटा लगाइसकेपछि भविष्यको ब्यापारलाई सुरक्षित गर्ने हिसाबले हामीले जग्गा बेच्यौं। हलचाहिँ इस्लिङ्टन कलेजलाई लिजमा दियौं।’

पार्किङको जग्गा पनि सोही कलेजले नै खरिद गरेको उनले बताए। भवनचाहिँ भाइरत्न बज्राचार्यको परिवारसँग भाडामा लिइएको कलेजले जनाएको छ। बज्राचार्यको परिवारसँग समन्वय गराएर कलेजलाई भवन भाडामा दिइएको हो।

बेलायतमा रहेको लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा पनि सञ्चालनमा ल्याइएको कलेज हो, इस्लिङ्टन।

कलेजले स्नातक तह र स्नातकोत्तर तहमा आईटी र बीबीएका कक्षाहरु सञ्चालन गर्दै आएको छ। यस कलेजले बीबीए अन्तर्गतका कार्यक्रमहरु साढे तीन वर्षे कोर्स अन्तर्गत चलाइरहेको छ भने आईटीका कक्षाहरु तीन वर्षे कार्यक्रम अन्तर्गत चलाइरहेको छ।

आईटी अन्तर्गत बीएस्सी (अनर्स) कम्प्युटिङ, बिएस्सी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी तथा बिएस्सी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी अन्तर्गतका कोर्षहरूको लागि तीन वर्षको १३ लाख ३८ हजार शुल्क तोकिएको छ।

बीएस्सी (अनर्स) मोबाइल एप्लिकेशन डेभलपमेन्ट र बिएस्सी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्सका लागि भने १४ लाख ३४ हजार शुल्क तोकिएको छ। त्यस्तै, बिबिएतर्फ १३ लाख ३७ हजार शुल्क तोकिएको छ भने दुई वर्षे एमएस्सी आईटीका लागि साढे ६ लाख शुल्क तोकिएको छ। 

कलेजले स्नातकोत्तरमा दुई विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिने गरेको बताएको छ।

सिनेमा हलमा माओवादीको प्रशिक्षण
सिनेमा हल बन्द भएपछि प्रायः विद्यार्थी र प्रध्यापकहरुको मात्र भीडभाड देखिने यहाँ गत बुधबार र बिहीबार दिनभर माओवादी केन्द्रका नेताहरुको बाक्लो चलह–पहल थियो। कलेजको चारैतिर माओवादी नेताहरुको जमघट रोमाञ्चक देखिएको थियो।

हलमा माओवादी केन्द्रले बुधबार र बिहीबार जनप्रतिनिधिलाई प्रशिक्षण आयोजना गरेको हो।

माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार देशभरबाट २८३ जना जनप्रतिनिधि काठमाडौं आएका थिए। १५२ जना प्रमुख÷अध्यक्ष र १३१ जना उपप्रमुख/उपाध्यक्षलाई विभिन्न विधामा रहेर नेताहरुले प्रशिक्षण दिएको उनले नेपालखबरलाई बताए।

उक्त हल कलेज सञ्चालकसँग भाडामा लिएर चलाइएको ढकालले जानकारी दिए। तर, के कति भाडामा लिइएको भन्नेबारे भने उनी खुल्न चाहेनन्।

‘अन्य कुराहरु टेक्निकल हुन्,’ उनले भने, ‘के कति भाडा भन्नेबारे अरु कुरा नगरौं, हामीले कलेज सञ्चालकसँग मिलाएर लिएका हौं।’

बाहिर किताबको व्यापार
माओवादीको प्रशिक्षण चलिरहँदा हलको गेटमै कम्युनिस्ट विचारधाराका किताब बेच्न राखिएका थिए। बागबजारस्थित बेगा पब्लिकेशनबाट अन्जन बाबु र विष्णु अधिकारी केही किताब राखेर हल बाहिर बसेका थिए।

किताब बेच्न बसेका अधिकारीका अनुसार केही शीर्ष नेताहरुले किताबप्रति चासो राखेका थिए।

माओवादी नेता वर्षमान पुन र गिरिराजमणी पोखरेलले किनेर राखेको किताबको पोको देखाउँदै अधिकारी भन्छन्, ‘केही नेतामा पढाइ र किताबप्रतिको भोक अहिले पनि देखिएको छ।’

मुख्यतः ‘स्थानीय शासन प्रणालीका विविध पक्षहरु’ भन्ने किताब बढी बिक्री भएको उनले सुनाए।

‘भर्खरै नयाँ स्थानीय सरकार बनेको छ,’ उनले भने, ‘त्यही भएर पनि यो किताब धेरैले किनेर लगेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .