एक समय नेपाली फिल्म उद्योगमा रेखा थापा नम्बर वान नायिका थिइन्। हिम्मतवाली नायिकाको छवि बनाएकी रेखाको क्रेज थामिनसक्नु थियो। उनले फिल्म उद्योगमा नै काम गरिरहेको भए त्यो क्रेज पातलिने थिएन।
तर कलाकारबाट सफल निर्माताको छवि बनाएकी रेखाले फिल्म लाइनलाई माया मारिन्। संसद् छिर्ने सपनासहित राजनीतिमा लागिन्।
फिल्ममा देखिएको आफ्नो क्रेज र दर्शकलाई मतमा बदल्ने प्रयास गरिन् तर हुन सकिनन्।
फिल्मकी बोल्ड नायिका राजनीतिमा भने कमजोर साबित भइन्। विभिन्न समयमा राजनीतिक दल बदल्दै पहिलोपटक संसदीय चुनावको प्रतिस्पर्धामा उत्रिएकी रेखाले ९ हजार ४ सय ८९ मत ल्याइन्। तर यो मतले उनको संसदीय यात्राको सपना पूरा गर्न सकेन।
रेखाले आफ्नो पराजयपछि भनिन्, ‘यो निर्वाचनले जनतासँग ग्राउन्डमै गएर भिज्नुपर्ने रहेछ भन्ने पाठ सिकेँ।’
उनले मोरङ ३ मा राप्रपाको बलियो संगठन नभएको र स्थानीय तहको अंकगणित हेर्दा २५ सयभन्दा बढी मत नभएको अवस्थामा आफूले पाएको मत निकै ठूलो भएको बताएकी छन्।
उनलाई पार्टीले समानुपातिकमा बस्न भनेको थियो। तर उनलाई लाग्यो ‘ग्राउन्ड, जनता, समाज र आफ्नो भूगोल नबुझी नेता भइन्नँ।’
उनले समानुपातिक छाडिन्, प्रत्यक्षमा लड्न मोरङ पुगिन्। राम्रै प्रचारप्रसार गरिन्। पर्दामा देखिएकी नायिकालाई आफ्ना घर-आँगनमा देख्दा दर्शकले घेरे। त्यही भीड हेरेर धेरैले रेखाको जित हुने अनुमान गरेका थिए। रेखा पनि आत्मविश्वासी देखिन्थिन्।
तर उनले तेस्राे स्थानमा रहँदै चुनाव हारिन्।
जित नभए पनि निर्वाचनले धेरै कुरा सिकाएको रेखा बताउँछिन्।
भन्छिन्, ‘मलाई चुनावी प्रक्रिया बुझ्नु थियो। मौन अवधिमा कसरी मतदातालाई ‘डाइभर्ट’ गरिन्छ, यो सब मलाई थाहा पाउनु थियो। चुनावमा कसरी परिचालन हुन्छ, जनता के चाहन्छन्, जनतालाई कसरी ‘म्यानुपुलेट’ गरिन्छ यो सबै प्रत्यक्षमा लडेर देख्न र बुझन पाएँ।’
माओवादीबाट राजनीति सुरु गरेकी रेखा राप्रपा प्रवेश गरेर पार्टीको महामन्त्री पदमा लडेकी रेखा कुन्ती शाहीसँग हारिन्।
राजनीतिमा पटकपटक चर्चा पाएकी रेखाको यो दोस्रो हार हो।
Shares
प्रतिक्रिया