नेपालका लागि संयुक्त राज्य अमेरिकाको काठमाडौंस्थित दूतावासले हिउँचितुवाको विवादित तस्बिरबारे स्पष्टीकरण दिएको छ।
अमेरिकी दूतावासले अमेरिकी फोटो पत्रकार कितिया पावलोभ्स्कीले गत अक्टोबर ८ मा कैद गरेको भनिएको फोटोबारे तथ्यजाँचसहितको अल्पाइन म्याग डटकमले समाचार प्रकाशन गरेपछि आफ्नो भनाइ सार्वजनिक गरेको हो।
दूतावासका अनुसार ती पत्रकारले फोटोको सत्यताबारेका पछिल्ला समाचारप्रति कुनै वक्तव्य पनि जारी नगरेको र आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउन्ट पनि डिलिट नगरेको उल्लेख गरेको छ।
उनको अमेरिकी दूतावासलगायतका संस्थासँगको सम्बन्धन र धेरै फोटोग्राफी अवार्ड पाएको दाबीसहितको वेबसाइट अहिले पनि सक्रिय रहेको दूतावासले जनाएको छ।
आइतबार बिहानसम्म अन्तर्राष्ट्रिय आउटलेट्सले समेत उनको सगरमाथा क्षेत्रमा हिउँचितुवा देखिएको तस्बिरको समाचार नहटाएको वा पछिल्लो तथ्यजाँचबारे अपडेट नगरेको उल्लेख छ।
अमेरिकी दूतावासले भनेको छ, ‘हामी केही हप्ताअघि मात्र राखिएको हाम्रो आफ्नै फेसबुक पोस्ट डिलिट गर्नेछौँ।’
दूतावासले कितियासँग दूतावासको कुनै साझेदारी नरहेको पनि जानकारी दिएको छ।
Shares
प्रतिक्रिया