ad ad

कला


जब केतन रावलले रुख पछाडि लुगा फेरिरहेकी अभिनेत्री देखे...

जब केतन रावलले रुख पछाडि लुगा फेरिरहेकी अभिनेत्री देखे...

नेपालखबर
चैत ६, २०७९ सोमबार १४:५४, काठमाडौँ

मुम्बईको गोरेगांव फिल्मसिटी नजिकै ठूलो पार्किङ क्षेत्र छ। त्यहाँ ४०/५० भन्दा बढी ठूला सवारीसाधन पार्क गरिएका छन्। सामान्य मानिसलाई लाग्न सक्छ यो सानो बस स्टेसन हो। तर, यी बसजस्ता गाडीहरू फिल्म स्टारहरूले लुगा फेर्न, मेकअप गर्न र सुटिङको समयमा आराम गर्न प्रयोग गर्ने भ्यानिटी भ्यान हुन्। 

त्यो भ्यानिटी भ्यानका मालिक हुन् केतन रावल। उनीसँग ६५ वटा भ्यानिटी भ्यान छन्। उनका भ्यानमा बलिउड स्टार अमिताभ बच्चनदेखि महेन्द्र सिंह धोनीसम्म, लगभग सबै ठूला फिल्म स्टारहरू, खेलाडीहरू र अम्बानी परिवारले पनि आफ्नो अनुकूलित भ्यानिटीहरू प्रयोग गर्छन्।

केतनसँग यी भ्यानिटी भन्दा अगाडिका थुप्रै सम्झना छन्। भन्छन्, ‘जतिबेला भ्यानिटीको सुविधा थिएन, अभिनेत्रीहरु रुखको पछाडि आफ्नो पहिरन परिवर्तन गर्ने गर्थे। धेरै कलाकारहरूका लागि जुनियर आर्टिस्टहरूले साडी र चादरको घेरा बनाएर लुगा फेर्ने गर्थे। मैले थुप्रै पटक अभिनेत्रीहरुले रुख पछाडि गएर कपडा फेरेको दृष्य देखेको छु।’

भ्यानिटीको सुविधापछि कलाकारको यो संघर्ष सकिएको छ। सबैभन्दा पहिले १९८५–८६ मा अभिनेत्री पूनम ढिल्लनले भ्यानिटी भ्यान प्रयोग गरिन्, जसको उद्घाटन अमिताभ बच्चनले गरेका थिए। उद्घाटनमा अनिल कपूर र श्रीदेवी पनि उपस्थित थिए।

यसबारे पूनमले सन् २०२१ मा सामाजिक सञ्जालमा लेखेकी थिइन्– ‘मैले पहिलो पटक मेकअप भ्यानिटी भ्यान सुरु गर्दा फिल्म उद्योगमा इतिहास रच्दै छु भन्ने मलाई थाहा थिएन। फिल्म उद्योगमा यो अवधारणा ल्याएकोमा धेरै कलाकारहरूले मलाई धन्यवाद दिए। यसअघि लोकेशनमा छायांकन गर्न निकै कठिनाइ हुने गरेको थियो, शौचालय नभएको, लुगा फेर्न र खाना खाने ठाउँ नहुँदा कलाकारले घाम र धुलोमा समय बिताउनु पर्थ्यो।’

केतनले भने सबैभन्दा पहिले सैफ अली खानका लागि कस्टमाइज भ्यानिटी बनाएका थिए। भन्छन्, ‘सन् २०१३ सम्म यस्तो थियो जुन भ्यान हामीले कलाकारलाई दियौं, उनीहरूले त्यही प्रयोग गर्थे। मैले सैफ सरलाई कस्तो भ्यान चाहियो भनेर सोधें। यसपछि मैले सोफा कभर, काठको फर्शदेखि पर्दासम्म उनीहरुको रोजाइअनुसार बनाएँ। सैफ सरलाई जेबीएल म्युजिक सिस्टम चाहिएको थियो, मैले त्यही इन्स्टल गरेँ।’

हरेक कलाकारको फरक फरक माग हुन्छ। कंगना रनौतलाई परम्परागत लुक चाहिन्छ। आफ्नो घरको इन्टेरियर डिजाइनर हुन्। उनले आफ्नो भ्यानिटीको डिजाइन पनि त्यसैगरी बनाएकी छिन्। यो पनि केतनले बनाएका हुन्।

भन्छन्, ‘यो मेरो स्वामित्वमा रहेको सबैभन्दा महँगो भ्यान हो। यसलाई कंगना अनुकूल बनाउन ६५ लाख रुपैयाँ लाग्यो। कंगना कतै सुटिङ गर्दा यो भ्यान प्रयोग गर्छिन्। उनीहरूका लागि सुटिङ नहुँदा भ्यान हाम्रो पार्किङमा पार्क गरिएको हुन्छ।’

केतनले आफ्नो पहिलो भ्यान ७५ हजार भाडामा दिएका थिए। जसमा कर्मचारीको तलब पनि समावेश गरिएको थियो। सन् २०१३ तिर फिल्मको बजेट पनि कम हुन्थ्यो। १५–२० लाखमा फिल्म बन्थे। अहिले सय करोडका फिल्म बन्छन्, भ्यानिटी भ्यानको मूल्य पनि बढेको केतनले बताएका छन्। 

सेलिब्रेटीले मात्रै नभएर आम मानिसले पनि यो भ्यान प्रयोग गर्न सक्छन्। हिजोआज विवाहमा पनि त्यस्ता लक्जरी भ्यानको प्रयोग हुन थालेको केतनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .