ad ad

कला


सिसाको पर्खाल भत्काएर एउटा बाटो बनाएँ : प्रियंका

सिसाको पर्खाल भत्काएर एउटा बाटो बनाएँ : प्रियंका

नेपालखबर
बैशाख १८, २०८० सोमबार १२:२९, काठमाडौँ

फिल्म ‘सिटाडेल’पछि प्रियंका चोपडाले आफ्नो आगामी फिल्म ‘लभ अगेन’मा पनि पुरुष कलाकारको बराबर पारिश्रमिक लिएकी छिन्। वर्षौंदेखि महिला र पुरुष कलाकारलाई दिइने फरक पारिश्रमिकका बारेमा बोल्दै आएकी प्रियंकाले समान पारिश्रमिक पाएपछि खुशी व्यक्त गरेकी छिन्। उनले फिल्ममा पुरुष कलाकार सरह पारिश्रमिक लिएको कुरा आफैंलाई विश्वास गर्न गाह्रो भएको समेत बताएकी छिन्।

फिल्म ‘सिटाडेल’मा प्रियंकाले रिचर्ड म्याडेनसँग काम गरेकी थिइन्। उनले यो फिल्ममा रिचर्डको जतिनै पारिश्रमिक लिएकी थिइन्। त्यसपछि उनले ‘लभ अगेन’मा पनि पुरुष कलाकारकै सरह पारिश्रमिक लिएकी हुन्।

हालैको एक अन्र्तवार्तामा प्रियंकाले भनेकी छिन्, ‘साँच्चै भन्नुपर्दा म धेरै अचम्ममा परेँ, किनकी मैले यसबारे सोच्न वा बोल्न छोडेको थिएँ। मेरो पुरुष कलाकारले लिएको पारिश्रमिक र मैले लिएको पारिश्रमिकमा धेरै फरक हुन्थ्यो। जीवनमा यस्तो घटना घट्छ भन्ने मैले साँच्चै सोचेको थिइनँ।’

प्रियंकाले अगाडि भनेकी छिन्, ‘मेरो यूटीए (युनाइटेड ट्यालेन्ट एजेन्सी)का साथीहरु बोले र यो सम्भव भयो। सुरुमा मलाई निकै अचम्म लागेको थियो उनीहरु किन बोले भनेर तर पछि थाहा भयो कि अमेजन स्टुडियोकी प्रमुख जेनिफर साल्के आफै एक महिला थिइन्।’

यसअघि पनि प्रियंकाले लैंगिक तलब अन्तर र समानताका विषयमा खुलेर कुरा गरिरहेकी छिन्।

प्रियंकाले प्रोजेक्टका लागि अभिनेताको पारिश्रमिक बराबर लिएपछि भनेकी छिन्, ‘जब महिला उद्योगमा ठूलो पदमा हुन्छन्, के उनीहरूले पछाडि फर्केर हेर्छन्?, अन्य महिलाहरूलाई मद्दत गर्छन् र अन्य महिलाहरूको लागि अवसरहरू सिर्जना गर्छन्? मलाई लाग्छ त्यसको उत्तर यही हो। अब म धेरै लामो यात्रा गरिसकेको महसुस गर्छु। सिसाको पर्खाल भत्काएर मैले आफैंको लागि एउटा बाटो बनाएको जस्तो लाग्छ, जुन आगामी कलाकारहरूको लागि उपयोगी हुन सक्छ। ‘लभ अगेन’ र ‘सिटाडेल’ पछि, मैले धेरैजसो परियोजनाहरूको लागि समान शुल्क लिएको छु।’

प्रियंकाले फिल्मका लागि कति रकम लिएकी छिन् भन्ने जानकारी भने खुलेको छैन। उनले २२ वर्षको करियरमा पुरुष सह–स्टारको बराबर पारिश्रमिक पाएको यो पहिलो पटक भएको बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .