कला


स्रष्टालाई ‘खेताला’बाट सिर्जनाको मालिक बनाउन लडिरहेका चेतन

‘आफ्नो  अधिकार हुँदैन भने किन सिर्जना गर्नु?’
स्रष्टालाई ‘खेताला’बाट सिर्जनाको मालिक बनाउन लडिरहेका चेतन

सिर्जनामाथि स्रष्टाको अधिकार कायम नहुञ्जेल गीतसंगीतमा नफर्किने मुडमा छन् चेतन। तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
साउन १३, २०८० शनिबार ११:२६, काठमाडौँ

‘जीवन रहँदासम्म संघर्ष रहिरहने रहेछ। हिजो बुबाले चामलका लागि गरेको संघर्ष हेर्दै हुर्किएको हुँ। अहिले म रोयल्टीका लागि संघर्ष गरिरहेको छु।’ 

संगीतकार चेतन सापकोटा हालैको एक भेटमा आफ्ना संघर्षका किस्सा सुनाए। चेतनको जीवनको यो अविराम संघर्ष सिन्धुपाल्चोकको बतासेबाट सुरु भएको हो। आर्थिक रुपमा विपन्न परिवार। बाँदर लाग्ने पाखो बारी। कृषिमा आश्रित चेतनको परिवारले चामल देख्न  दसैँ कुर्नु पथ्र्यो। दुई दाजुदिदीका कान्छा भाइ चेतनको बाल्यकाल मायाका हिसाबले भने भरिपूर्ण थियो। 

उनकी आमा रित्तो डोकोमा पछ्यौरा हाल्थिन्। पिठ्युँमा डोको र काखीमा छोरो बोकेर बारीमा पुग्थिन्। डोकोबाट पछ्यौरा निकालेर बारीमा ओछ्याउँथिन्। छोरालाई त्यही पछ्यौरामा राखेर गीत गाउँदै घाँस काट्थिन्। उनकी आमाले गाएको गीतले पाखोबारी गुञ्जन्थ्यो। किरा, फट्याङग्रासँग खेल्दै चेतन आमाको भाका सुन्थे। उनलाई थाहा छैन, यसरी उनकी आमाका हृदयमा कति भाका दबेर बसे। चेतनमा भने आमाको त्यही भाकाको रस पस्यो। उनी सानैबाट गीताङ्गे भएर निस्किए। चेतनका बुबा पनि गाउँभरि श्लोक गाएर कहलिएका थिए। 

पहिलो पटक घर छोडेर भागेको त्यो पल
स्कुलका कार्यक्रम, गाउँमा लाग्ने पुराण, विवाह, ब्रतबन्धमा गीत–भजन गाउँदागाउँदै चेतनले गायक बन्ने सपना देख्न थालिसकेका थिए। एकदिन चेतन गायकको सपना बोकेर घर छोडेर हिँडे। त्यतिबेला उनी ११ वर्षका थिए। 

गाउँको स्कुलमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। त्यसपछिको अध्ययनका लागि उनी चौतारा झरे। चौतारा आएपछि गाडी देखे। त्यतिबेला पनि चौताराबाट गाडी काठमाडौं आउँथे। रेडियोमा गीत बजेको सुन्थे। रेडियो नेपालमा गीत रेकर्ड हुन्छ, त्यसपछि मान्छे गायक हुन्छ भन्ने चर्चा गाउँसम्म पुगेको थियो। यही चर्चाले चेतनको कलिलो चेतनालाई काठमाडौं तान्यो। चेतनले सँगै पढ्ने साथीलाई भागेर काठमाडौं जाऊँ भनेर फकाए। तर साथी मानेनन्। उनी एक्लै काठमाडौं आउने गाडीमा चढे। गाडी काठमाडौं बसपार्कमा रोकिदा साँझ झमक्क परेको थियो।

काठमाडौं आएको रात उनी बसपार्ककै टिकट काउन्टर बाहिर सुते। त्यही रात उनको चप्पल हरायो। भोलिपल्ट खाली खुट्टै सिंहदरबारको गेटसम्म आए। त्यसदिन पत्ता लगाए, सिंहदरबार भित्र रेडियो नेपाल छ। तर भित्र पस्ने मेसो पाएनन्। गोजीमा पैसा थिएन, खुट्टामा चप्पल। भोको पेटमा चेतन गायक बन्न सपना बोकेर केही दिन काठमाडौंका सडकमा भौँतारिए। 

घरबाट भागेर आएको निकै दिन भैसकेको थियो। चेतन मैलो, धुस्रोफुस्रो भएर तीनकुनेमा हिँडिरहेका थिए। उनलाई खोज्दै आएका बुबा र फूपाजुसँग जम्काभेट भयो। चेतनको मुटुले ठाउँ छोड्यो। लुगलुग कापे। उनलाई लाग्यो ‘बुबाले अब कुटेर पिठो पार्छन।’ तर, उनलाई देखेपछि बुबा धरधरी रोए, बुबासँगै चेतन पनि रोए। त्यसपछि बुबा र फुपाजूको पछि लागेर उनी घर फर्किए।

चेतनका बुबाको जीवन कृषिमा बित्यो। उनी चाहन्थे, छोराहरुले राम्रोसँग पढून्, सरकारी जागिर खाऊन् र सानको जीवन बाँचून्। त्यसैले अभावले थिचिएर पनि छोराहरुलाई चौतारामा डेरा खोजेर राखिदिएका थिए। घरबाट आउजाउ गर्न गाह्रो थियो। दैनिक ६ घण्टा हिँड्नु पथ्र्यो। ट्युसन पढाउन गाउँकै कुमार सापकोटालाई राखिदिएका थिए। कुमार पढाइमा अब्बल थिए। तर कुमारले चेतनका दाजु–भाइलाइ पढाउन सकेनन्। चेतनका दाजु सोझा थिए, भाइले भनेपछि जे पनि गर्ने। चेतन थिए उदण्ड। झगडा गरिदिन्थे। उनी पुनः अर्को पटक गाउँ छोडेर काठमाडौं आए। 

यसपटक भेट्दा उनलाई बुबाले माया देखाएनन्। थाममा बाँधेर कुटे। चेतन अहिले पनि सम्झना गर्छन्, ‘एकपटक गएर दुःख पाएपछि, संसार देखेपछि फेरि नजाला भनेको भन्दै पिट्नु भएको थियो। त्यतिबेला पनि ममा आत्मग्लानि थिएन। मैले बुबालाई उल्टै तपाईंको हातमा पटपट किरा पर्छन् भनेर सरापेँ। आमा र दिदीले मलाई कुट्दा हेरेर बसेँ। उनीहरुलाई पनि मैले सरापेँ।’

यो घटनापछि चेतनका बुबाले बतासे छोड्ने निधो गरे। उनलाई लाग्यो, ‘छोराले सहर खोज्यो। राम्रो स्कुल खोज्यो।’ त्यसपछि ३ छोराछोरी लिएर उनका बुबाआमा मकवानपुरको लामसुरेमा बसाइँ सरे। चेतनाका दाजुले अर्को साल एसएलसी पास गरे। वन विभागमा जागिर खान थाले। बुबाले पछिल्लो वर्ष एसएलसी पास गरेका चेतनालाई आर्मीमा भर्तीका लागि तालिममा पठाए। उनले त्यहीँ साथीहरुको ग्याङ बनाए र भागेर काठमाडौं आए। 

उनका फुपाजूले काठमाडौंमा घर बनाइ सकेका थिए। चेतनले फुपूलाई फकाए, ‘दिदी म भागेर आएको, बुबालाई नभन्दिनू। म ललितकला क्याम्पस पढ्ने हो। गायक बन्ने हो।’ केही समय काठमाडौं बसे। बुबाले थाहा पाए। फेरि आए र हेटौंडा लिएर गए। त्यसपछि उनी मकवानपुर क्याम्पस भर्ना भए। 

परीक्षा छाडेर काठमाडौँ
क्याम्पसमा पनि चेतन पढाइ कम, उट्पट्याङ ज्यादा गर्थे। उनलाई जसरी पनि गायक बन्नु थियो। कक्षाकोठाका बेन्च, क्यान्टिनका टेबल ठोक्थे र गीत गाउँथे। कमर्स पढ्न भर्ना भएका चेतनले पहिलो वर्ष राम्रै अंकका साथ पास गरे। दोस्रो वर्षको परीक्षा सुरु हुनै लाग्दा ललितकला क्याम्पसमा इन्ट्रान्स खुलेको खबर पाए। चेतनले हेटौँडा छोड्ने सोच बनाए। बुबाको थोरै पैसा निकाले। केही जोर कपडा बोके र राजु लामा (साथी)सँग भागेर काठमाडौं आए। 

अब उनलाई फुपूको घरमा बस्नु थिएन। साथीहरुसँगै मिलेर कोठा खोजे। यही बेला दोलखाका हेमन्त अधिकारीसँग भेट भयो। हेमन्त त्यतिबेला काठमाडौंमा ट्याक्सी चलाउँथे। चेतन र हेमन्त साथी भए। त्यही बेला चेतनले गाडी चलाउन पनि सिके। हेमन्तसँगको बसाइ चेतनका लागि सहज भयो। 

काठमाडौं आएको ३ महिनापछि वडा कार्यालयमा फोन गरेर बुबालाई सन्देश छोडे। उनले त्यतिबेला भनेका थिए, ‘म काठमाडौंमा छु। ललितकला क्याम्पस पढ्न थालेँ। मलाई पढ्न पैसा पठाइदिनू।’ उनका बुबाले पनि खाममा पैसा राखेर ‘पढी खाएस्’ लेखेर पठाइदिएका थिए। त्यसपछि चेतनका बुबा हरेक दिन वडा कार्यालय धाउँथे। ‘मेरो छोराको फोन आएको छ?’ भनेर सोध्थे। उनका जागिरे दाजु पनि हरेक महिना आफ्नो तलबको केही रकम खामबन्दी गरेर भाइलाई पठाउँथे। 

ललितकला पढ्दापढ्दै चेतनले ‘ज्योति’ टेलिसिरियलको टाइटल गीत गाउने र संगीत भर्ने मौका पाए। सिरियल चल्यो। चेतनको स्वर केही मान्छेले थाहा पाए। त्यसपछि पनि उनले केही सिरियलमा काम गरे। 

दरबार होटल दिएको अवसर
एकदिन सुरेन्द्र शाहले चेतनलाई फिल्ममा काम गर्ने भनेर दरबार होटलमा लिएर गए। त्यो होटल कलाकार निर्मल शर्मा ‘गैँडा’को थियो। उक्त होटलमा जाने क्रम बढ्दै गयो। हरेक दिन होटलमा जानु, मकैका फूल र चिया खानु। सुरेन्द्रका कुरा सुन्नु र फर्किनु बाहेक केही उपलब्धि थिएन। ती दिन सम्झँदै उनी भन्छन्, ‘हरेक दिन गयो। चिया र मकै खायो। कुरा सुन्यो, फर्कियो। यसरी न मेरो पेट भरिएको थियो न सपना भेटिने कुनै संकेत।’

त्यही बेला दीपकराज गिरी र दीपाश्री निरौंलाको टेलिसिरियल ‘तितो सत्य’को केही भाग प्रसारण भएको थियो। तर, टाइटल सङ बनेको थिएन। निर्मल शर्माले एकदिन चेतनलाई देखाउँदै भने, ‘दीपकजी उहाँ चेतन सापकोटा। ज्योति सिरियलमा स्वर सुनेको ठिकै लागेको थियो। उहाँसँग काम गरौं।’ 

सिरियलको शीर्ष गीत यसअघि शम्भुजित बाँस्कोटासँग गर्ने पक्का भएको थियो। बाँस्कोटाले भ्याएका थिएनन्। दीपकसँगको त्यही भेटमा चेतनले लेखे, ‘हाने मर्छ, बोले टर्छ, आगो हो यो पोल्छ। सबको यो पोल खोल्छ, तितो सत्य बोल्छ। सत्य...सत्य... तितो सत्य।’ दीपकले यही गीत आफ्नो सिरियलका लागि फाइनल गरे। तर चेतनले दयाराम पाण्डेलाई भेटेर गीत फिनिसिङ गर्न लगाए। संगीत गरे, गाए। व्यावसायिक टेलिसिरियलमा काम गरे। सिरियलमा चेतनको स्वर बज्न थाल्यो। यो स्वर लगातार १२ वर्षसम्म बज्यो। यसपछि ‘मेरीबास्सै’बाट अफर आयो। चेतनले गीत लेख्न शंकर अधिकारी ‘घायल’लाई भने। उनले काम गरे। सिरियल चल्यो। चेतन पनि चले। यहीबाट चेतनका सुखद दिन सुरु भए। 

यसअघि चेतनले थुप्रै नमिठा अनुभव संगालेका छन्। चेतन संगीतकार बन्न सहर आएका थिएनन्। उनी त गायक बन्न घर छोडेर हिँडेका थिए। गायक बन्न उत्कट चाहना बोकेर उनले कति गीतकार/संगीतकारका दैलो धाए, त्यसको हिसाब चेतनले जनतसाथ राखेका छन्। फिल्म निर्मातालाई भेट्थे। गीतकारलाई भेट्थे, गीत माग्थे। संगीतकार भेट्थे। गीत गाउने रहर सुनाउँथे। तर उनीहरु कुनै अर्को ग्रहबाट आएको जस्तो व्यवहार गर्थे। चेतन मन अमिलो बनाएर फर्किन्थे। त्यसपछि उनी आफैँ संगीतकार/गीतकार बनेका हुन्। 

यही क्रममा चेतनले फिल्म ‘चट्टान’मा काम गर्ने मौका पाए। फिल्मका केही गीत चेतन आफैँले गाए। गीत रेकर्डका लागि मुम्बई गए। त्यहाँ चेतनको भेट उदितनारायण झासँग भयो। धेरैले चेतनालाई उदितको जस्तै स्वर भन्थे। उदितनारायणलाई भेटेपछि चेतनले गीत कम गाउन थाले। तर त्यसपछि उनले थुप्रै फिल्मका गीत गाएका छन्। सुरेश अधिकारी, महेश खड्का, हरि लम्साल लगायतका संगीतमा गीत गाए। २/४ वटा फिल्म हिट भए। 

हिट हुँदै जाँदा चेतनले बाटो बिराए। उनी नाइट क्लब, डिस्को जान थाले। त्यही अनुसारको खानपान। उनी नाइट लाइफमा रमाउन थाले। एकदिन उनी झसंग भए, सम्झिए गायनका लागि गरेको संघर्ष। उनी पुरानै लयमा फर्किए। तर त्यसपछि चेतनले गीत गाएनन्। भन्छन्, ‘गाउनका लागि बडो साधना चाहिन्छ। संगीत सिर्जना गर्न त्यो खालको साधना नभए पनि हुन्छ। मैले साधना गर्न सकिनँ।’ चेतनले नेपाली फिल्मको पाश्र्व संगीतमा लामो समय राज गरे। 

फिल्म निर्माता
संगीतकार भएरै चेतनले काठमाडौंमा घर बनाए। गाडी किने। केही रुपैयाँ जम्मा गरे। फिल्म लाइनमा काम गरिरहेका चेतनले फिल्म निर्माण पनि गरे। ‘भाग सानी भाग’नामको फिल्ममा संगीत गरेर कमाएको पैसा लगानी गरे। उनले निर्माण गरेको फिल्म चलेन। चेतनको लगानी डुब्यो। त्यसपछि उनले अर्को फिल्म बनाएका छैनन्। तर, चेतनलाई समाजको साँचो कथा भन्ने भोक भने मेटिएको छैन। उनी पुनः फिल्म निर्माताका रुपमा बजारमा आउने तयारी गरिरहेका छन्। 

यो बीचमा चेतन संगीतकार संघको अध्यक्ष भए। रोयल्टी संकलन समाजमा रहेर काम गरे। अन्य संघसंस्थामा रहेर काम गर्दैगर्दा स्रष्टा शोषणमा परेको मेसो पाए। उनी स्रष्टाको हितमा बोल्न थाले। उनी धेरैका आँखाको तारो भए। हिजोआज चेतनलाई संगीतप्रति नै वितृष्णा बढेर गएको छ। भन्छन्, ‘हामी स्रष्टा त खेताला जस्तो भैयो। आफ्नै सिर्जनामा आफ्नो अधिकार छैन। यहाँ मान्छेका आफ्नै खालका लडाइँ छन्। असली स्रष्टा सधैं मारमा छन्।’ 

चेतन अब संगीत नगर्ने मुडमा छन्। भन्छन्, ‘आफ्ना सिर्जनाको अधिकार आफ्नो हुँदैन भने किन सिर्जना गर्नु? गीत/संगीत व्यापार होइन भन्नेहरुले नै रोयल्टी उठाउने नाउँमा प्रतिलिपी ऐन २०५९ बनाए। हामी हाम्रो लागि गरेको भनेर खुसी भयौं। तर यो हाम्रो अधिकारका लागि थिएन। मलाई यो ऐन बदल्नु छ।’ 

एक समय थियो, जतिबेला रेडियो नेपालमा मात्रै गीत रेकर्ड हुन्थे। त्यो समय थुप्रै सर्जकका गीत रेडियो नेपालमा रेकर्ड भए। नारायणगोपाल, नातिकाजी, तारादेवी लगायत थुप्रै गायक गायिकाले गाएका गीत हिजोआज म्युजिक नेपालमा छन्। रेडियोमा रेकर्ड भएका यी गीत कसरी, कसको पालामा म्युजिक नेपालमा बेचिए भनेर चेतन बेलाबेला घोत्लिने गर्छन्। भन्छन्, ‘ललिता निवास प्रकरणजस्तै रेडियो नेपालका गीतसंगीत कसको पालामा कसरी म्युजिक नेपालमा हस्तान्तरण भए। आयोग बनाएर कारबाही गर्नु पर्छ।’ 

चेतनले संगीत नगरेको धेरै समय भयो। स्रष्टाको अधिकार दिलाउन नसकेसम्म व्यावसायिक रुपमा संगीतमा फर्किने पक्षमा उनी छैनन्। साथीहरु भनिरहन्छन्, ‘चेतनजी फिल्ममा तपाईंको संगीत सुनिन छाड्यो।’ उनी जवाफ दिन्छन्, ‘मैले काम पाउन छोडेँ। मेरो ठाउँमा नयाँ पुस्ता आए।’ 

तर चेतनले काम पाउँदै नपाएका भने होइनन्। उनले अफर आएका फिल्ममा पनि काम गरेका छैनन्। त्यसो त उनले रोयल्टी भनेर हिँड्दा थुप्रै फिल्म गुमाएका पनि छन्। यसमा उनलाई कुनै पछुतो छैन। भन्छन्, ‘रोयल्टी कुनै निर्माताले आफ्नो गोजीबाट दिने चिज होइन। म त निर्माताका लागि पनि लडिरहेको मान्छे हुँ।’ 

उनले यो विद्रोह पहिलो फिल्मबाटै गर्दै आएका हुन्। पहिलो पटक ‘चट्टान’बाट फिल्मी संगीतकारका रुपमा डेब्यु गरेका चेतनले पैसा पाएनन्। उनले सोचे, ‘अवसर पाएँ।’ दोस्रो फिल्म ‘निखिल दाइ’मा काम गरे। फिल्मका गीत हिट भए। पारिश्रमिक पाएनन्। चेतनले निर्मातासँग पेसा मागेका थिए। पैसा दिनुको सट्टा उनको नाम नै हटाइदिए। पोखराको विन्धवासिनी हलमा फिल्मको ५१ दिनको भव्य कार्यक्रम भयो। चेतनलाई डाकिएन। उनको नाम समेत कतै उच्चारण भएन। त्यसपछि चेतनले निर्माताविरुद्ध मुद्दा हालिदिए। त्यसपछि उनी विद्रोही संगीतकारका रुपमा चिनिए। उनको यो विद्रोह आज पनि जारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .