कला


संगीतका लागि अनेक हन्डर र संघर्षसँग नहारेका राजेन्द्र

संगीतका लागि अनेक हन्डर र संघर्षसँग नहारेका राजेन्द्र

फाइल तस्बिर


राधिका अधिकारी
साउन १५, २०८० सोमबार ८:११, काठमाडौँ

संसारमा हरेक प्राणीलाई डोर्‍याउने हजारौँ बाटा छन् र त्यति नै गन्तव्य पनि। जीवनमा जति चुनौती आउँछन् उति नै, विकल्प पनि भेटिन्छन्।

तर, कति मानिसहरु साना चुनौतीसँग डराउँछन्। दुःखपछि सुख आउँछ भन्ने भुलेर सानै दुःखको पोखरीमा तैरिरहन्छन्। पीडाको एउटै बाटोमा अल्झिरहन्छन्। त्यो दुःखभन्दा पर अर्को बाटो पनि भेटिएर रमाउन सकिन्छ भन्ने बुझेर मुस्किल छिचोल्ने हिम्मत कमैले राख्छन्। तिनै मान्छेमध्येका एक हुन्, संगीतकार राजेन्द्र बजागाईं।

उनले जीवनलाई सुन्दर बनाउन कुनै कसर बाँकी राखेनन्। कहिले हर्मोनियम काँधमा बोकेर दौडिए। कहिले डोजरको स्टेरिङमा भविष्य खोजे। जीवनको केही अंश भान्से भएर बिताए। केही वसन्त परदेशमा पसिना बगाए। यी सबै उनका लागि सजिला थिएनन्। कयौँ पटक अप्ठ्यारा मोड आए। कति पटक आफ्नैले माया मारे। उनी आफैँले रोग र भोकसँग संघर्ष गरे। तर, जीवनसँग हारेनन्। हरेक परिस्थितिमा जिउने उत्कठ अभिलाषा र संगीतमा केही गर्ने चाहनाले छोडेन। त्यसैको परिणाम हो, राजेन्द्रले अहिले बाँचिरहेको जिन्दगी।

चितवनको पिठुवामा जन्मिएका राजेन्द्रको बाल्यकाल हजुरबुवा–हजुरआमाको छत्रछायाँमा बित्यो। कलिलै उमेरदेखि बुवाआमाको काखन्दा हजुरबुवा–हजुरआमाको साथ के कुराले प्यारो बनायो? भन्न मन छैन। तर, उनका लागि हजुरआमाको सानिध्यता नै संगीतको रस भरिदिने माध्यम बन्यो। हजुरआमा हरेक साँझ बिहान हर्मोनियमको धुनमा आफ्नो गला मिसाउँथिन्। सुरिलो स्वरमा भजन गाउँथिन्। राजेन्द्र उनीसँगै बसेर हर्मोनियममा औँला चलाएको हेर्थे। हजुरआमासँगै ‘हरेराम हरेकृष्ण...’ मा लय मिलाउँथे। 

उनी अलिक बुझ्ने भएपछि परिवार चितवनबाट बर्दियाको बढैयाताल सर्यो। त्यहाँको वातावरण झन् धेरै संगीतमय थियो। राजेन्द्रमा पसेको सांगीतिक चेत टुसाउन थाल्यो। उनी स्कुलका कार्यक्रममा गीत गाउन थाले। अब संगीत उनको सपना मात्रै भएन, लत भयो। एसएलसीपछि परिवारको अनुमतिबिनै काठमाडौं आए।

परिवारको आर्थिक अवस्था उनलाई काठमाडौंमा राखेर संगीत सिकाउन सक्ने थिएन। आफैँले संघर्ष गर्नुपर्ने थियो। राजेन्द्रले काठमाडौंमा टिक्न अनेक उपाय अपनाए। टिक्नु मात्रै थिएन, संगीत पनि सिक्नु थियो। त्यतिबेला बालाजुमा ‘श्रीकृष्ण गुरुकुल पाठाशाला’ खुलेको थियो। जहाँ तिलक सिंह पेला संगीत सिकाउँथे। राजेन्द्रले पनि त्यहीँबाट संगीतको औपचारिक शिक्षा लिन थाले

त्यसपछि रत्नराज्य क्याम्पसमा आईए पढ्न भर्ना भए। काम, संगीत, कलेजको पढाई सबै कुराको दौडधूपले राजेन्द्रलाई गलाउँथ्यो। समयमा खाना खाने पाएनन्। काठमाडौं आएको केही समयपछि उनी नराम्रोसँग बिरामी भए। जन्डिसले गाल्यो। त्यसपछि बर्दिया फर्किए। 

परिवारको आर्थिक अवस्थाले तत्काल काठमाडौं फर्किन समस्या थियो। घर्किँदै गएको हजुरबुवा हजुरआमाको उमेर, आफैँले व्यवस्थापन गर्नुपर्ने घर व्यवहारको बोझ छँदै थियो। त्यसपछि राजेन्द्र बर्दियाकै क्याम्पसमा भर्ना भए। 

संगीतको नसाले छोड्न सकेन। काठमाडौंमा सिकेको संगीतको ज्ञान अरुलाई पनि बाँड्ने सोच बनाए। बर्दियामै ‘साधना संगीत प्रशिक्षण केन्द्र’ खोले। यहाँका सुख–दुःख पनि बेग्लै छन्। सिक्ने र सिकाउने यो क्रम पनि लामो समय टिक्न सेकन। 

परिवारको जिम्मेवारी काँधमा बोकेर एकदिन उनी चितवन झरे। रोजगारीका लागि चितवन झरेका उनले सुरुमा डोजर चलाउने मानिसहरुलाई खाना पकाएर ख्वाउने काम गरे। 

त्यहीँ उनले डोजर चलाउन सिके। संगीतको मोहले मन कहिले काठमाडौं, कहिले बर्दिया डो¥याएर लगिरहन्थ्यो। तर, उनले बुझेका थिए परिस्थितिभन्दा ठूलो केही हुँदैन। राजेन्द्रकी हजुरआमा भनिरहन्थिन्, ‘जति धेरै परिस्थितिसँग लडेर उठ्न सकियो, त्यति धेरै बलियो हुन्छ मान्छे।’ 

जीवनको हरेक अप्ठ्यारोमा उनले हजुरआमालाई सम्झिए। हजुरआमाको वाणीलाई सम्झिँदै सहज हुने कोसिस गरिरहे। उनलाई लाग्थ्यो, ‘समय अहिले पो खराब छ, एक दिन पक्कै राम्रो आउने छ।’

जीवनको यो कालखण्डमा उनी कहिले जीवन सम्झेर रोए, कहिले सपना सम्झेर। उनले यो आँसुसँगै बोकेर गएको हर्मोनियममा गाए। यसो गर्दा मन बुझाउन सजिलो हुन्थ्यो। काममा भने उनले आफूलाई प्रमाणित गरे। निर्माण कम्पनीमा आवद्ध उनले छोटो समयमै डोजर अपरेटरको जिम्मेवारी पाए। 

त्यसपछि सडक खन्न बाग्लुङको बुर्तिवाङ पुगे। संगीतमा रमाएको ठिटो डोजरसँग खुसी थाल्यो। हार्मोनियममा नाचेका औँला डोजर अपरेटिङमा चल्न थाले, तर संगीत मनबाट हटेको थिएन। संगीतको सम्झनाले उनलाई उकुसमुकस बनाएकै हुन्थ्यो। 

डोजर चलाइरहेकै बेला उनको दिमागमा अवसरबाट मनमा संगीतको भोक बोकेर दौडिरहेकालाई त्यहाँ सञ्चालित एफएम रेडियोमार्फत प्लेटफर्म निर्माण गर्ने। उनको प्रस्तावलाई रेडियो परिवर्तनले स्वीकार गर्यो र सुरु भयो, ‘रेडियो परिवर्तन तारा’ खोजी प्रतिभाको अर्थात् संगीत क्षेत्रको प्रतिस्पर्धात्मक कार्यक्रम। 

उनको पेसा डोजर अपरेटर, लगाव गीत संगीत।! लुकेका प्रतिभा प्रस्फुटन गर्ने त्यो कामले उनी बागलुङसहित आसपासका जिल्लामा परिचित भए। नाम कमाइरहेकै बेला उनी कामको सिलसिलामा लमजुङ जानु पर्यो। काम गर्दागर्दै स्वास्थयमा समस्या आयो। डाक्टरको सल्लाहमा काम छोडे। केही समय घर बसे। 

राजेन्द्रलाई जिम्मेवारीले लखेट्न छोडेन। स्वास्थ्य सुधारेर तंग्रिदै तगए तर, आर्थिक दुरावस्था झांगिँदै गयो। अब डोजर चलाएर जीवन धान्ने अवस्था थिएन। वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गए। विदेशको बसाइ पनि सुखद रहेन। 

फिल्मका काल्पनिक पात्रहरुको पो सधैँ सफलताको कथा हुन्छ। संघर्षमा होमिएको मान्छेको जीवन त कहिले फूल त कहिले काँडामा ठोक्किन्छ। राजेन्द्रले आँखा चिम्लिएर कयौँ शीतल सपना देखे। त्यही सपनाले डो¥याएर उनलाई परदेश पुर्‍याएको हो। तर आँखा खोल्दा पोल्ने सपना उनीसामु ठिङ्ग उभिन्थे। उनले यो असफलताको कथा भन्न पनि आफूलाई सफल बनाउनु पर्यो। परिवारिक जिम्मेवारी र ऋणको तापले पोलेपछि परदेश उडेका राजेन्द्र १६ महिनामै फर्किए। 

नेपाल फर्किएपछि फेरि सम्झिए धुन हाल्दा हाल्दै छोडेका गीत। अठोट गरे, म संगीतमा केही गरेरै छाड्छु। काठमाडौं आएर शास्त्रीय संगीतज्ञ गुरुदेव कामतसँग जोडिए। 

गुरुदेव कामतसँग करिब डेढ वर्ष संगीत सिके। त्यसपछि उनी गुरु चण्डीप्रसाद काफ्लेसँग संगीतको थप अध्ययन थाले। काफ्लेसँगको सिकाइ त्यसयता निरन्तर चलिरहेकै छ। 

काठमाडौं फर्किएपछिको यात्रा सहज भयो। गायक बन्ने सपना बोकेका राजेन्द्र संगीतमा जम्न थाले। हिजोआज उनी गीत एरेन्ज पनि गर्छन्।

कयौं गीत गाएका छन्। झन्डै ८ सय गीतमा कला देखाइसके। उनले कयौँ नाम चलेका गायक गायिकासँग काम गरिसके। बलिउडकी गायिका र एरेन्जरसँग उनले काम गरिरहेका छन्। अहिले उनी आफ्नो संगीत जीवनसँग सन्तुष्ट छन्। तर, उनको सपना यहीँसम्मकको होइन। 

२०६४ सालमा ‘कस्ले चोर्यो ओँठको लाली’ बाट संगीत यात्रा सुरु गरेका राजेन्द्रले आधुनिक, राष्ट्रिय, लोक, शास्त्रीय, बाल, चलचित्रका गीत र भजनसहित सबै विधामा काम गरेका छन्। नेपाली, हिन्दी, मैथिली, भोजपुरी भाषाका गीतहरुमा संगीत भरेका छन्।

उनका ‘यो देशको लागि म’, ‘टेन्डर’, ‘मुसुमुसु हाँसेर’, ‘ट्राफिक जाम’, ‘ओ मेरो परान’, ‘चिनी अमिलो’, ‘जाला जोवन’, ‘डल्ली’, ‘झम्के झम्के साँझमा’, ‘फूल फुल्यो पारी’, ‘सुगर फ्री’ लगायतका गीत लोकप्रिय भए। उनले ‘म त मर्छु कि क्या हो’, ‘काँचुली’, ‘एकलब्य’, ‘चिट्ठी’ लगायत चलचित्रमा संगीत गरेका छन्। 

गीत-संगीतको यो यात्रामा उनले ‘कालिका म्युजिक अवार्ड–२०७२’, ‘कालिका म्युजिक अवार्ड–२०७४’, ‘जिनियस म्युजिक अवार्ड–२०७५’, ‘नेपाल म्युजिक तथा फेशन अवार्ड–२०७७’, ‘बिराट म्युजिक अवार्ड–२०७८’, ‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड–२०७८’ र ‘पिम नेपाल फिल्म फेस्टिभल अवार्ड–२०७८’, जितेका छन्।

यात्रामा राजेन्द्रले ‘दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड–२०७८’, ‘दशौं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२’, ‘नेशनल क्यापिटल अवार्ड–२०२२’ लगायतका अवार्ड हात पारे। यी अवार्डले भन्दा स्रोताको माया र हौसलाले पुलकित छन् राजेन्द्र। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .