ad ad

गण्डकी


पोखरामा शौचायल बनाउँदै एनआरएनए

पोखरामा शौचायल बनाउँदै एनआरएनए

नेपालखबर
पुस २०, २०७९ बुधबार १९:६, पाेखरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा ९, महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणमा सघाउने भएको छ।

शौचालय निर्माणको लागि महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाबीच सम्झौता भएको छ।

सम्झौता अनुसार महेन्द्रपुलको उत्तरतर्फ रहेको किन ८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण गरिनेछ। यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ।

करिब १ करोडको लागतमा ३ महिनाभित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेनागृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च महानगरपालिका आफैले बेहोर्नेछ।

महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ। त्यहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूको झन्डा राखिने महानगरले जनाएको छ। पार्कको बीचमा नेपालको सबैभन्दा ठूलो झन्डा राखिनेछ। 

पोखराको मुटुमा रहेको महेन्द्रपुलको सार्वजनिक जग्गामा रहेको पुरानो संरचना भत्काएर महानगरले सार्वजनिक शौचालय बनाउन लागेको हो। महेन्द्रपुलको छेउमा सार्वजनिक शौचालय, पुस्तकालय, आर्ट ग्यालरी र ३२ वटा सटरहरु रहेका थिए। महानगरले ती सटरहरु भाडामा लगाउँदै आएको थियो। भूगोलविदहरुले संरचनाहरु खतरामा रहेकोले उहिल्यै भत्काउन सुझाव दिएका थिए। 

बूढापाकाहरुका अनुसार महेन्द्रपुलको सो क्षेत्रमा कुनैबेला पोखरी र चौतारो रहेको थियो। कालान्तरमा चौतारी र पोखरी पुरिए। महेन्द्रपुल छेउको सार्वजनिक जग्गामा भने महानगरले सटर बनायो र भाडामा लगायो।  

पोखरा महानगरको छैटौं नगरसभाले सो क्षेत्रमा रहेका भवन र सटर भत्काउने निर्णय गरेको थियो। २०७६ सालमा भएको सो निर्णयलाई हालका मेयर धनराज आचार्यले कार्यान्वयनमा ल्याएका हुन्। अहिले त्यो ठाउँ खाली गरिएको छ।

महानगरका मेयर आचार्यका अनुसार नयाँ सार्वजनिक शौचालयमा स्तनपान कक्षसहित सेनेटरी प्याडसमेत उपलब्ध हुनेछ।

एनआरएनएका कार्यकारी अध्यक्ष थापाले सो ठाउँमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह बन्ने बताइन्। इतिहास बोकेको महेन्द्रपुलमा बन्ने नयाँ संरचनाले पर्यटन प्रवद्र्धनमा सघाउने उनको भनाइ रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .