गण्डकी


काठमाडौँ विश्वविद्यालयको टोली किन आयो पोखरा?

काठमाडौँ विश्वविद्यालयको टोली किन आयो पोखरा?

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १०:२३, पोखरा

दक्ष जनशक्तिको अभाव उद्योगी/व्यवसायीको साझा समस्या हो। पलायनको समस्या उस्तै छ। योग्यताका फाइल बोकेकाहरूको लर्को पनि उस्तै। 

एकातिर विश्वविद्यालयबाट उत्पादित जनशक्ति उद्योग/प्रतिष्ठानमा नबिक्ने, अर्कातिर बेरोजगारी। समस्याको समाधान के होला?

काठमाडौँ विश्वविद्यालयले उपाय खोज्न थालेको छ। उसले उद्योगी/व्यवसायीहरूसँगको सहकार्यमा उनीहरूले चाहेजस्तो जनशक्ति तयार पार्ने रणनीति तय गरेको छ।

काठमाडौँ विश्वविद्यालयले रणनीति निर्माणकै क्रममा पोखराका उद्योगी/व्यवसायीसँग छलफल गरेको छ।

 पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा सम्पन्न अन्तरक्रिया वर्तमान अवस्थामा उद्योगीहरूले भोग्नुपरेका समस्या र समाधानका लागि विश्वविद्यालय र नेपाल सरकारसँग सहकार्य विषयसँग सम्बन्धित थियो। 

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले विश्वविद्यालय हातमा मैलो लाग्छ कि भन्ने हैन कि साँच्चै कार्यक्षेत्रमा खटिने इन्जिनियर र त्यस्तै जनशक्ति उत्पादनको दिशामा अगाडि बढेको बताए।

निजी क्षेत्रको आवश्यकताअनुसार जनशक्ति उत्पादनले मात्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने तथा रोजगारी बढाउने भएकाले विश्वविद्यालयले यो अवधारणा अगाडि सारेको उनले जानकारी गराए। 

‘हामी तपाईंले चाहेजस्तो जनशक्ति उत्पादन गर्न चाहन्छौँ, त्यस्तो जनशक्तिलाई पढ्दापढ्दै जागिर दिने अवस्था सिर्जना हुनुपर्‍यो भन्ने पनि छ,’ उनले भने,‘नीतिगत रूपले यस्ता विषयमा पैरवी गर्ने पनि हाम्रो उद्देश्य हो।’

काठमाडौँ विश्वविद्यालयले हालै हरित ऊर्जाका रूपमा हाइड्रोजन ग्यासको सफल उत्पादन र परीक्षण गरेको प्रसंग झिक्दै उनले उद्योग क्षेत्रमा त्यसको उपयोगिता बढाउनुपर्ने  आवश्यकता औँल्याए। 

विश्वविद्यालयका अर्का प्रा.डा. भूपेन्द्र विमल क्षेत्रीले अब उद्योग क्षेत्रमा अनुसन्धानमुलक जनशक्तिको आवश्यकता औँल्याउँदै निजी क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन नै यो परियोजनाको लक्ष्य भएको बताए।

विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले हाइड्रोजनको उपभोग बढाउँदै निर्माणलगायत क्षेत्रमा यसको प्रयोग हुने वातावरण सिर्जना गर्नुृपर्नेमा जोड दिए। यो अभियानमा पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने उनले बताए। 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले नेपालको निजी क्षेत्र प्राज्ञिक अनुसन्धानमा सघाउन तथा सहकार्य गर्न तयार रहेको बताए। हरित ऊर्जाको खपत बढाउन आवश्यक नीतिका लागि पैरवी गर्ने प्रतिबद्धता पनि उनले जनाए। 

कार्यक्रममा धारणा राखेका निजी क्षेत्रका प्रतिनिधिहरूले दक्ष जनशक्तिलाई देशमै रोक्न नसकिएको, पढेर आएका व्यक्तिलाई काममा लगाउँदा धुलोमैलो छुनै नचाहेको, हरित ऊर्जा उपयोगलाई कसरी औद्योगिक क्षेत्रमा प्रयोगमा ल्याउने भन्नेबारे नीतिगत अस्पष्टता रहेको लगायत समस्या सुनाए।

उद्योग/व्यवसायलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन भए उनीहरूलाई पढ्दापढ्दै जागिर दिन सकिने पनि विचार उनीहरूले राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .