गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ। बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोक लगाएका हुन्।
नेपालखबरसँग कुुरा गर्दै सांसद देवकोटाले भने, ‘म बैठकमा सहभागी हुन आएको छु, मर्यादापालकले भित्र प्रवेश गर्न दिनुभएन। अहिले बाहिर बसिरहेको छु।’
नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको थियो।
माओवादी केन्द्रले गत जेठ ३१ गते पत्रबाट गरेको कारबाही पत्र सुनाउँदै सभामुख कृष्ण प्रसाद धितालले निलम्बनको सूचना पढेर सुनाएका थिए।
त्यसविरुद्ध देवकोटा सर्वोच्च गएका थिए।
सर्वोच्चले कारबाही गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा पुगेका देवकोटालाई मर्यादापालकले रोकेका हुन्।
उनले गत जेठ २८ गते नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसको जेठ २९ गते उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरिएको थियो।
देवकोटालाई माओवादी संसदीय दलका नेताले २०८१ जेठ २९ गते स्पष्टीकरण सोधेको र ३१ गतेको पत्रबाट कारबाही गरिएको थियो।
गएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटाले चुनावमा भाग लिएका थिए।
Shares
प्रतिक्रिया