ad ad

गण्डकी


पहिरोको निरीक्षण गर्न पुगेका सञ्चारमन्त्री गुरुङलाई बख्खु र फुलमालाले स्वागत

पहिरोको निरीक्षण गर्न पुगेका सञ्चारमन्त्री गुरुङलाई बख्खु र फुलमालाले स्वागत

नेपालखबर
साउन १२, २०८१ शनिबार २२:३, लमजुङ

नयाँ सत्ता समीकरण बनेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिबार गृहजिल्ला लमजुङ पुगेका छन्। सरकारका प्रवक्ता समेत रहेका गुरुङ यसअघि गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदै अहिले संघीय सरकारमा छन्। 

गृहपालिका समेत रहेको क्व्होलासोथर गाउँपालिका–३ स्थित बगुम भन्ने ठाउँमा गएको पहिरो निरीक्षणका लागि उनी शनिबार त्यहाँ पुगेका थिए। 

गत असार ११ गते राति आएको पहिरोले तीन घर पुरिँदा चारजनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए। 

सोही पहिरोको निरीक्षण गर्दै उनले पहिरोले पूर्ण क्षति तथा विस्तापित भएका परिवारका घर सरकारले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

गृहपालिकाका स्थानीयले गुरुङलाई परम्परागत बख्खु ओढाएर र फुलमालाले स्वागत तथा सम्मान गरे।

संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र सोही वडाका वडाध्यक्ष आसवीर गुरुङलगायत उनीसँगै त्यहाँ पुगेका थिए।

गुरुङले आफूलाई लमजुङे जनताले जिताएर मन्त्री बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी आफूले काम गर्ने पनि बताएका छन्।

‘यहाँहरूले जिताएकाले म मन्त्री भएको छु, यसर्थ लमजुङको विकास तथा सुखदुःखमा सधैँ साथमा रहँदै विकासका काम गर्नु मेरो दायित्व हो। त्यसका लागि म सधैँ लागिरहने छु’, उनले आश्वासन दिएका छन्। 

मन्त्री गुरुङलाई वडामा टेलिकमको नेटवर्क नटिप्दा भएको समस्या समाधान, पहिरोपीडितहरूको तत्काल सहयोगलगायत विषय सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको थियो।

ती सबै बुझ्दै उनले स्थानीयलाई आफूले समस्या समाधान गर्ने बताएका छन्। (राससको सहायोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .