एअर इन्डियाको लन्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिक रूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ।
एअर इन्डियाका एक अधिकारीले एएनआईसँग भने,“कूल २५६ यात्रु लिएर दिल्लीबाट लन्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ।
सोमबार बिहान ६ः३० बजे हिथ्रो विमानस्थल (लन्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजेतिर दिल्ली विमानस्थलमा फर्किएको थियो।
यस सम्बनधमा एअर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अप्रिल १०, २०२३ मा दिल्ली–लन्डन हिथ्रो उडान गर्ने तय भएको एअर इन्डियाको विमान एआइ–१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ। मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पुर्याएपछि कमान्डमा रहेका विमान चालकले आफू दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ।
एअर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रहरीमा एफआइआर पनि दर्ता गरिएको छ। एअर इन्डियामा हाम्रो लागि जहाजमा सवार सबैको सुरक्षा र सम्मान महत्त्वपूर्ण छ। हामी प्रभावित चालक दलका सदस्यहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दै छौं।”
अन्य यात्रुहरुलाई परेको असुविधाप्रति कम्पनीले दुःख प्रकट गर्दै सोमबार दिउँसो लन्डनका लागि उडान तालिका परिवर्तन गरेको जनाएको छ।
विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एअर इन्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो।
प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ। आरोपित र पिडित दुवै दिल्ली बाहिरका हुन्। रासस/एएनआई
Shares
प्रतिक्रिया