चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्। दुई दिने चीन भ्रमणको अन्त्यमा उनले सीलाई भेटेका हुन्।
आइतबार नै बेइजिङ आएर द्विपक्षीय वार्ता गरे पनि सीसँग उनले भेट्न पाउने हुन् कि होइनन्, टुंगो थिएन। भेटको एक घण्टाअघि मात्रै उनले सीलाई भेट्ने टुंगो लागेको थियो।
ग्रेट हल अफ द पिपुलमा उनले सीलाई भेटेका हुन्। यसलाई उनको भ्रमणको ठूलो उपलब्धिका रुपमा हेरिएका छन्।
उनको यो सफलतालाई अमेरिका–चीन सम्बन्धमा स्थिरता आउने संकेतका रुपमा पनि हेरिएको छ।
‘राज्य–राज्यबीचको अन्तर्क्रिया आपसी सम्मान र विनम्रतापूर्वक हुनुपर्छ,’ सीले ब्लिन्केनलाई भनेका छन्, ‘मलाई आशा छ, यो भ्रमणका माध्यमबाट तपाईंले चीन–अमेरिका सम्बन्धलाई स्थिर तुल्याउन सकारात्मक योगदान दिनुहुने छ।’
सीले केही खास विषयमा दुई पक्षबीच सहमति भएको र प्रगति भएको बताएका छन्।
तर, भ्रमणमा अहिलेसम्म चिनियाँ विदेशमन्त्री छिन काङले अमेरिका भ्रमण गर्ने तथा दुई देशबीचको उडान र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने सहमति मात्र घोषणा गरिएको छ।
यसअघि ब्लिन्केनले सोमबार नै चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेटठेका थिए। तीन घण्टा लामो सो भेटमा वाङले ताइवान मामिलामा सम्झौताका लागि कुनै ठाउँ नभएको स्पष्ट पारेका थिए।
उनले चीनमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउन माग गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
‘संवाद गर्ने टकराव, सहकार्य गर्ने द्वन्द्व, तपाईंहरुले रोज्नैपर्छ,’ वाङले भनेका थिए।
त्यसअघि ब्लिन्केनले विदेशमन्त्री छिनसँग आइतबार साढे सात घण्टा लामो वार्ता गरेका थिए। एजेन्सी
Shares
प्रतिक्रिया