ad ad

ग्लोबल


लालुप्रसाद यादवको भविष्यवाणी : यसपटक मोदी आउने छैनन्

लालुप्रसाद यादवको भविष्यवाणी : यसपटक मोदी आउने छैनन्

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १७:५०, काठमाडौँ

राष्ट्रिय जनता दलका प्रमुख एवम् बिहार राज्यका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले आगामी लोकसभा चुनावमा 'इन्डिया' एलायन्सकै जित हुने बताएका छन्।

बीबीसीसँगको कुराकानीका क्रममा उनले मानिसहरूमा 'इन्डिया'एलायन्समा समस्या आएको भ्रम रहे पनि चुनावसम्म उसकै जित हुने बताए।

उनले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको जितलाई लिएर गरिएका दाबीहरूलाई खारेज गर्दै सञ्चारमाध्यमहरूलाई पनि डरपोखको संज्ञा दिए। 

‘सबै सञ्चारमाध्यम बिकेका छन्। मोदी-मोदी केबल उनीहरूको मनमा छ। तर यस पटक मोदी आउने छैनन्। म भविष्यवाणी गर्छु, यस पटक मोदी आउँदैनन्, इन्डिया एलायन्सले जित्नेछ’, उनले भने। 

पछिल्लो समय भारतीय कांग्रेससमेत सदस्य रहेको ‘इन्डिया’ एलायन्सलाई लिएर कयौँ प्रश्न उठेका छन्। यस गठबन्धनका कयौँ सदस्यले क्याम्प छाडेपछि यस्तो प्रश्न उठेको हो। 

यिनमा सबैभन्दा प्रमुख बिहारका मुख्यमन्त्री नीतिश कुमार हुन्। एक समय नीतिश कुमार ‘इन्डिया’ एलायन्सका प्रमुख खम्बा थिए। तर हालै मात्र उनले महागठबन्धनबाट छुट्टिएर भाजपासँग मिल्दै बिहारको सत्तामा पुनरागमन गरेका छन्। 

यसका अलाव उत्तर प्रदेशमा जयन्त चौधरीको पार्टी राष्ट्रिय लोकदल (आरएलडी) पनि भाजपा नेतृत्वक एनडीएमा मिसिएको छ।

एक समय विपक्षको राजनीतिका अहम अनुहार मानिने लालु प्रसाद यादव आफ्नो स्वास्थ्य समस्याका कारण नियमित सक्रिय छैनन्। 

उनका छोरा एवम् बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवले अहिले राजनीतिक कमान सम्हालेका छन्। 

तर बीबीसीसँगको कुराकानीमा लालुप्रसाद यादवले आफ्नो कुरा खुलेर राख्दै ‘इन्डिया’ एलायन्सको पक्षमा चुनावी भविष्यवाणी पनि गरे। 

‘सबैजना एकजुट भइरहेका छन्। जो छाडेर गए, उनीहरू केबल नेता मात्रै हुन्। जनता गएका छैनन्। मतदाता हामीसँगै छन्’, यादवले भने। 

उता तृणमूल कांग्रेसकी प्रमुख एमव् पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि  'इन्डिया' गठबन्धन बनाउन अहम् भूमिका खेलेकी थिइन्। 

तर पछिल्ला दिन उनले पनि पश्चिम बंगलमा एक्लै चुनाव लड्ने घोषणा गरेकी छन्। उनले कांग्रेस नेता राहुल गान्धीको न्याय यात्रामा सहभागी हुन पनि अस्वीकार गरिदिएकी छन्। 

कांग्रेसको प्रदेश इकाईले पनि ममता बनर्जीमाथि आक्रमक रवैया अपनाएको छ। भाजपासँगै कांग्रेसका कयौँ प्रादेशिक नेताले पनि ममताविरुद्ध मोर्चा कसेका छन्। 

यसको जवाफमा लालुप्रसाद यादवले ममता बनर्जी इन्डिया एलायन्सबाट नबाहिरिने बताउँदै मिलेर चुनावमा होमिने पनि उल्लेख गरे।

एक समय उत्तर प्रदेश र दिल्लीमा पनि कांग्रेस, समाजवादी पार्टी र आमआदमी पार्टीबीच सिट बाँडफाँटमा कुरा नमिल्ने देखिएको थियो।

तर पछिल्ला दिन 'इन्डिया' एलायन्सलाई सफलता मिलेको छ। उत्तर प्रदेशमा कांग्रेस र समाजवादी पार्टीबीच सिट बाँडफाँट सम्झौता गरिएपछि यो गठबन्धनमा पनि उत्साह देखिएको छ।

त्यसपछि कांग्रेस र आम आदमी पार्टीबीच पनि दिल्ली र गुजरातमा सिट बाँडफाँटका लागि सम्झौता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .