ग्लोबल


साहित्यकार लीलबहादुर क्षेत्री ‘गोर्खा गौरव’द्वारा सम्मानित

साहित्यकार लीलबहादुर क्षेत्री ‘गोर्खा गौरव’द्वारा सम्मानित

शैलेन्द्र समदर्शी
फागुन ४, २०७६ आइतबार १५:३४,

भारतीय गोर्खा परिसंघ (भागोप) ले असमनिवासी चर्चित आख्यानकार लीलबहादुर क्षेत्रीलाई गोर्खा गौरव सम्मानद्वारा सम्मानित गरेको छ।

छेत्रीसँगै असमका तेजपुर जिल्लाबाट दुईपटक सांसद निर्वाचित भएका स्व. मणिकुमार सुब्बालाई पनि मरणोपान्त गोर्खा गौरव सम्मानद्वारा सम्मानित गरिएको छ। स्व. सुब्बाको सम्मान उनकी श्रीमती ज्योति सुब्बाले ग्रहण गरेकी थिइन्।

शनिवार र आइतबार असमको आमगाउँमा सम्पन्न भागोपको राष्ट्रिय परिषद्को सम्मेलनमा भारतीय गोर्खाहरूका गौरव यी दुवै व्यक्तित्वलाई सम्मानित गरिएको हो। भागोप भारतीय गोर्खाहरूका गैरराजनीतिक स‌ंगठनहरूको माउ संगठन हो। भारतका लगभग सबै राज्यमा यसको शाखा छ।

असममा हिजो र आज गरी दुई दिनसम्म सम्पन्न राष्ट्रिय परिषद्को सम्मेलनमा पनि १६ राज्यका २०० भन्दा बढ़ी पदाधिकारी उपस्थित थिए।

यसैबीच, भागोपले भारतीय गोर्खाहरूका सामाजिक र राजनीतिक सुरक्षाका लागि कार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै गुवाहाटी घोषणा जारी गरेको छ। भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनिष तामाङका अनुसार गुवाहाटी घोषणामा भारतीय गोर्खाहरूका राजनीतिक र सामाजिक सरोकारका सातवटा मुद्दालाई सामेल गरी यी मुद्दाबारे कार्य गर्ने प्रतिबद्धता जाहेर गरिएको छ।

तामाङका अनुसार सातवटा मुद्दाहरूले बोडोल्यान्ड टेरिटोरी रिजन (बीटीआर)-मा बसोबास गर्ने गोर्खाहरूको जग्गा-जमिनको अधिकार र सुरक्षा बीटीआरपूर्वकै व्यवस्थामा झैं सुनिश्चित र सुरक्षित हुनुपर्ने, दार्जीलिङवासीको दीर्घकालीन माग गोर्खाल्यान्डको मागको स्थायी समाधानका लागि केन्द्र र पश्चिम बङ्गाल सरकारलाई यथाशीघ्र पहलका लागि अनुरोध गरिने, अरुणाचल प्रदेशको विजयनगरमा बसोबास गर्ने गोर्खाहरूका लागि स्थायी नागरिक प्रमाण-पत्रका लागि निरन्तर कार्य गर्ने तथा पश्चिम बङ्गालका चियाकमानहरूमा बसोबास गर्ने गोर्खा समुदायका लागि उनीहरूको जमिनको मालिकना हक दिलाउनका लागि प्रतिबद्धता जाहेर गरिएको छ।

‘हामीले यी मुद्दाहरूबारे लगातार कार्य गर्दै आएको छौं। र जबसम्म हामी यी मुद्दाहरूको समाधान गर्न सफल हुँदैनौं, तबसम्म निरन्तर लागिपर्नेछौं’, उनले नेपालखबरसँग कुराकानी गर्दै भने।

तामाङका अनुसार भागोप पूर्वोत्तरका छैटौं अनुसूची क्षेत्रहरूमा बसोबास गर्ने गोर्खाहरूका समस्याहरूलाई लिएर पनि गम्भीर छ। ‘अहिले छैटौं अनुसूची क्षेत्रका प्रावधानहरूको संशोधनलाई लिएर एक विधेयक स्ट्यान्डिङ कमिटीसमक्ष विचाराधीन छ। यसैले यस संशोधनमा यी क्षेत्रहरूका गोर्खाहरूको राजनीतिक र संवैधानिक सुरक्षाका लागि हामी गम्भार छौं’, भागोपका कार्यकारी अध्यक्ष मुनिष तामाङले भने।

उनका अनुसार यसका लागि भागोप पूर्वोत्तर क्षेत्रका अध्यक्ष जगन्नाथ कोइरालाको नेतृत्वमा प्रतिनिधि टोलीले स्ट्यान्डिङ कमिटीसमक्ष चाँड़ै छैटौं अनुसूची क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका गोर्खाहरूको जग्गा जमिनसँगै राजनीतिक र संवैधानिक सुरक्षा सुनिश्चित हुनुपर्ने मागमा आफ्नो दाबी पेश गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .