ad ad

ग्लोबल


जसले ट्रम्पको कान छेडेर गएको गोलीको फोटो खिचे

‘ट्रम्प उठेपछि मात्रै उनी जीवित छन् भन्ने लाग्यो’
जसले ट्रम्पको कान छेडेर गएको गोलीको फोटो खिचे

नेपालखबर
असार ३०, २०८१ आइतबार १९:२९,

शनिबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यान लिने कोसिस भयो। पेन्सलभेनियामा एक चुनावी सभालाई सम्बोधन गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो। भाग्यवश, गोलीले उनको दायाँ कानमा चोट मात्र लगायो। 

उनको कान छेडेर गएको गोलीको तस्बिर भने न्युयोर्क टाइम्सका फोटोपत्रकारले कैद गर्न सफल भएका छन्।

भिडिओमा ट्रम्प गोली चलेलगत्तै कान छामेको देखिन्छ। त्यही बेला डग मिल्सले खिचेको तस्बिरमा कान छेडेर अगाडि गएको गोलीको दृश्य कैद भएको हो।

एआर १५ राइफलबाट ट्रम्पलाई गोली प्रहार गर्ने २० वर्षीय युवक सुरक्षाकर्मीबाट मारिइसकेका छन्। 

फोटो पत्रकार मिल्सले सोनी डिजिटल क्यामरालाई फोटो खिचिरहेका थिए, जसले प्रतिसेकेन्ड ३० फ्रेम फोटो खिच्न सक्छ। यो फोटो उनले १/८००० सटर स्पिडले खिचेको न्युयोर्क टाइम्सले जनाएको छ।

मिल्स सन् २००२ देखि टाइम्सको वासिङ्टन ब्युरोमा कार्यरत छन्।

फोटोपत्रकार मिल्सले भनेका छन् :
र्‍याली बिल्कुल साधारण थियो। पूर्वराष्ट्रपति करिब एक घण्टा ढिला आए। भीड दिनभरिदेखि उत्साहित थियो। डोनाल्ड ट्रम्प आइपुगे, भीडलाई हात हल्लाउँदै।

त्यहाँ फोटोग्राफरहरूको झुण्ड थियो। सायद हामी चार जना थियौँ। ट्रम्पभन्दा केही फिटको दुरीमा। हामी साधारण तस्बिर खिच्ने कोसिसमा थियौँ।

अचानक तीनचारपटक पड्किएको आवाज आयो। पहिले त मैले कार होला भन्ने सोचेँ। अन्तिममा मात्रै बन्दुक हो भन्ने लाग्यो।

मैले फोटो खिचिरहेँ। उनी डायसको पछाडि गए। अनि मैले सोचेँ, ‘हे भगवान् के भयो!’

त्यसपछि सबै एजेन्ट मञ्चतर्फ दौडिए र उनलाई छेके। उनीहरू चिच्याइरहेका थिए। कोही ‘सर, सर, सर’ भनिरहेको थियो।

त्यसपछि बन्दुक बोकेका अरु सुरक्षाकर्मी मञ्चमा आए। म ट्रम्पलाई देख्न सक्छु भनेर मञ्चको वल्लो छेउदेखि पल्लो छेउ गएँ। त्यहीबेला उनी उभिए र हावामा मुठ्ठी उठाए। अनि मैले सोचेँ, ‘उनी जीवित छन्।’

उनको अनुहारमा रगत देखिन्थ्यो। मैले फोटो खिचिरहेँ। मैले खिचेको एउटा फ्रेममा मुठ्ठी उचालेका उनी निकै निडर देखिन्छन्। लगत्तै अर्को फ्रेममा उनी हतप्रभ देखिन्छन्।

उनलाई वरिपरिबाट छेकेर खुड्किला ओरालेर गाडीमा चढाइयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .