ग्लोबल


२ पटकको असफलतापछि शुक्रबार फेरि चन्द्रमामा यान पठाउँदै भारत

२ पटकको असफलतापछि शुक्रबार फेरि चन्द्रमामा यान पठाउँदै भारत

नेपालखबर
असार २८, २०८० बिहिबार ९:१२, काठमाडौँ

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको छ। १४ जुलाई (शुक्रबार) दिउँसो भारतको महत्वकांक्षी मिसन चन्द्रयान-३ प्रक्षेपण गर्न लागिएको हो।

यसअघि चन्द्रमा चुम्ने भारतका दुई प्रयास असफल भइसकेका छन्।

यस मिसनको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु रहेको छ। यसअघि सन् २०१९ मा भारतले चन्द्रयान-२ प्रक्षेपण गरेको थियो। तर चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो।

तर उक्त मिसन अपूरो भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान मिसनबाट आफू खुसी भएको र भारतको ठूलो जित भएको बताएका थिए।

चन्द्रयान इसरोको चन्द्रमा अन्वेषण कार्यक्रम हो। तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीले सन् २००३ मा उक्त प्रक्षेपणको घोषणा गरेका थिए भने पहिलोपटक उक्त यान सन् २००८ अक्टोबर २२ मा प्रक्षेपण गरिएको थियो। त्यसबेला ३१२ दिनसम्म चलेर २००९ अगस्ट २९ मा निष्क्रिय भएको थियो।

त्यसबेला उक्त यानले चन्द्रमाको ३४ चक्कर लगाए पनि चन्द्रमाको सतहमा अवतरण गर्न भने सकेन।

त्यसैलाई भारतले निरन्तर निरन्तरता दिँदै चन्द्रमामा चुम्ने लक्ष्य जारी राखेको छ। हालसम्म चन्द्रमामा रुस, अमेरिका र चीनले आफ्नो यान अवतरण गराएका छन्। मिसन सफल भएमा भारत चन्द्रमामा यान ‌ओराल्ने चौथो राष्ट्र बन्नेछ।

शुक्रबारको प्रक्षेपण सफल भयो भने त्यो अन्तरिक्षमा भारतको ठूलो सफलता हुनेछ। यो मिसन भारतको श्रीहरिकोटाबाट दिउँसो २:३५ मा उड्नेछ। अगस्ट २३ वा २४ मा चन्द्रमामा अवतरण गराउने लक्ष्य इसरोको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .