ad ad

अन्तर्वार्ता


गठबन्धन परिवर्तनको उद्देश्य अस्वाभाविक छ, संविधान संशोधन गरे धन्यवाद भन्छौँ : मनीष झा (अन्तर्वार्ता)

‘एकातिर मुस्कुराउने, अर्कोतिर मोहनी लाउने हुँदो रहेछ, हामी नयाँले थाहै पाएनौँ’
गठबन्धन परिवर्तनको उद्देश्य अस्वाभाविक छ, संविधान संशोधन गरे धन्यवाद भन्छौँ : मनीष झा (अन्तर्वार्ता)

गीता चिमोरिया
असार १८, २०८१ मंगलबार २०:५८, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको नयाँ सम्झौताले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताबाहिर पुग्ने देखिएको छ। यसैबारे सो पार्टीका सहप्रवक्ता मनीष झासँग नेपालखबरले गरेको कुराकानी :

पछिल्लो समय जुन राजनीतिक घटनाक्रम विकसित भयो, यसको कारण के हो जस्तो लाग्छ? 
यसलाई विशेष घटना, विशिष्ट परिस्थितिको रूपमा लिन आवश्यक नै छैन। यो त्रिशंकु सदन हो। त्रिशंकु सदनमा कुनै पनि दलको बहुमत छैन। 

बहुमत नभएको बेलामा गठबन्धन बनाउनै पर्‍यो। अनि गठबन्धन बनाउँदा कहिले कोसँग, कहिले कोसँग हुनु स्वाभाविक हो। विश्वको राजनीति हेर्दैगर्दाखेरी यो स्वाभाविक होइन फेरि। तर नेपालको राजनीतिमा विभिन्न राजनीतिक दलहरूले एक अर्कासँग गठबन्धन गर्ने यो प्रक्रिया जुन छ, त्यो चाहिँ स्वाभाविक हुन गइरहेको छ। जुन राजनीति, लोकतन्त्र, संविधान सबै चिजको लागि राम्रो होइन। तर यस्तो भइराखेको छ। 

अहिले जुन परिवर्तनहरू भएको छ, त्यो स्वाभाविक प्रक्रिया हो तर उद्देश्य अस्वाभाविक हुनसक्छ। गिरीबन्धुको फाइल खोल्छु, भुटानी शरणार्थीको फाइल खोल्छु भन्दैगर्दा हामीलाई अस्तिसम्मचाहिँ कांग्रेस समर्थक सामाजिक सञ्जालका कांग्रेसका अनुयायीहरूले के भन्थे भने, फाइल खोल्न सक्छस्? खोलेर देखा भन्थे। अहिलेचाहिँ फाइल खोल्न थालेको मात्र के थियो, डराइहाले। 

एउटा बेचन झाजस्तो एजेन्ट, अपराधी समात्दैमा देशको सबैभन्दा ठूलो, आफूलाई लोकतन्त्रको ठेकेदार भन्ने दल तर्सिएर दोस्रो दलकोमा पुग्छ र सत्ता परिवर्तन गरिहालौँ भन्छ। तपाईं प्रधानमन्त्री बन्नुस्, तपाईं जे मन लागेको छ, बन्नुस् भन्छ। यहाँ त प्रधानमन्त्री र मन्त्रीको कुरा मात्रै छैन नि, यहाँ त दसवटा अरू संवैधानिक नियोगको नियुक्तिहरूको पनि कुरा छ। त्यसैले गर्दा यो प्रक्रिया स्वाभाविक हो तर उद्देश्य स्वाभाविक होइन। 

गृहमन्त्री रवि लामिछानेले ठूला फाइल खोल्न खोजेकैले गठबन्धन हेरफेर भएको हो भन्ने तपाईंहरुको कुरा?
त्यो हो नि। त्यही त हो। पाँच दिनअगाडि मात्र त्यही दलको महामन्त्रीले एक ठाउँमा हामी यो सरकार गिराउनेतिर लाग्दैनौँ। हामी ०८४ सम्म प्रतिपक्षमै बस्छौँ भन्नुभएको थियो। तीन दिनअघि त्यही दलको वरिष्ठ नेता कोइरालाले हामीलाई अहिले सत्ताको केही मतलब छैन भन्नुभएकै थियो। 

कि त उहाँहरू हावा गफ गर्दै हिँड्नुहुन्छ। मान्छे झुक्याउँदै हिँड्नुहुन्छ भन्ने कुरा हामीले पत्याउनुपर्‍यो। त्यो दलले त्यो कुरा मान्दिनु पर्‍यो। कि मेरो दलको नेताहरू मान्छे झुक्याउँदै हिँड्छन्, अर्को नेताचाहिँ गठबन्धन बनाउँदै हिँड्छन् भनेर। 

नत्र एउटै दलको सभापति र उनकी श्रीमती जाने अर्को गठबन्धन बनाउन। र, त्यही दलको वरिष्ठ नेता र महामन्त्रीचाहिँ हामीलाई अहिले सत्ताको मोह छैन, हामी अहिले ०८४ को तयारीमा जान्छौँ, हामी संगठन बनाउनतिर जान्छौँ भन्ने। किन यस्तो हुन्छ? कि त उहाँहरू झुटो बोल्नुहुन्छ, कि त उहाँहरूको बुझाइमा एकरूपता छैन।

कांग्रेस–एमालेले सत्ताका लागि मात्र होइन, संविधान संशोधन गर्न मिल्नुपर्ने अवस्था आयो भनेका छन्। यसमा तपाईंहरूको धारणा के हो? 
त्यो त हामी धन्यवाद दिन्छौँ नि। हिजोसम्म हामीलाई विचार छैन, विचार छैन भन्दै हुनुहुन्थ्यो, आज आएर हाम्रै विचारले सहमति गरायो। निर्वाचनको हाम्रो वाचापत्र हेर्नुस् त, सबै बुँदाहरू हाम्रो वाचापत्रमा आजभन्दा डेढ वर्षअघि नै लेखेको छौँ। 

हामीलाई यो पार्टीले सिद्दान्त बोक्दैन, यो पार्टीले विचार गर्न सक्दैन, यो पार्टीको सोच नै छैन, राजनीतिक बुझाइ नै छैन भनेका थिए। वृद्ध नेताहरूले आज आएर हामीले २० महिनापहिले लेखेको घोषणापत्रमा रहेका बुँदा सारेर सहमति गर्नुभएको छ। त्यो हाम्रो वाचापत्र उहाँहरूले पढेर त्यहीँबाट उतारेको भन्न पनि सकिन्छ। तर, त्यही दलका वृद्धहरूले हामीलाई के भन्थे भने, यी फुच्चेहरूलाई राजनीतिक सुझबुझ नै छैन, यिनीहरूले बुझेकै छैन। 

मैले सदनमा उपराष्ट्रपतिको निर्वाचन भन्दाअगाडि यो कुरा बोलेकै छु। उपराष्ट्रपति चाहिँदैन हामीलाई, राष्ट्रिय सभाको अध्यक्षलाई नै त्यो दिए हुन्छ। 

म आफैँ समानुपातिक प्रणालीबाट सांसद भएको हुँ। तर मैले पनि यो प्रणाली/अभ्यास नगर्दा हुन्छ, यो अनावश्यक हो। यसले विकृति ल्याइरहेको छ। कसैको श्रीमती, कसैको भाउजू, कसैको आफन्त, कसैले व्यापारी/ठेकदारलाई बेच्ने यो पद, जसले सहयोगीको रूपमा सदनमा काम गरिरहेको छैन। जसको उपस्थितिको राजनीतिक र संवैधानिक/कानुन बनाउने प्रक्रियामा खासै अर्थ छैन भनेर। पालिकाको संख्या धेरै भयो, प्रदेश पुनर्संरचना गर्नुपर्छ। प्रदेश खर्चिलो भयो। आफ्नो दोस्रो तहको नेताहरू/कार्यकर्ता र आफन्त व्यवस्थापनका लागि मात्र प्रदेशलाई प्रयोग गरिराखियो भनेर यो कुराहरू त हामीले पटकपटक भनिराखेको छौँ नि। 

हाम्रो जलेश्वर बैठकको राजनीतिक प्रतिवेदन हेर्नुस्, त्यहाँ पनि यी कुुरा उल्लेख छन्। त्यसैले त्यसमा त उहाँहरूलाई धन्यवाद छ कि, हामीले जुनजुन कुरा बोलिराखेका थियौँ, लेखिराखेका थियौँ, जुन कुरा हामीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरिराखेका थियौँ, त्यही कुराहरू उतारेर सहमतिमा आउनुभयो। 

नयाँ आएका शक्तिहरूलाई रोक्नेगरी (खासगरी समानुपातिक प्रणालीको विषयलाई जोडेर) कांग्रेस/एमाले अघि बढे भन्ने कुरा पनि बाहिर आइरहेको छ। यसमा तपाईंहहरूको प्रतिक्रिया के हो? 
त्यो संशोधनले हामीलाई रोक्थ्यो भने त त्यो संशोधनको प्रस्ताव हामीले नै किन गर्थ्यौँ? त्यो एकदमै गैरराजनीतिक र केटाकेटीले गर्ने विश्लेषण मात्र हो। किनकि हामीले आजभन्दा २० महिना पहिला जुनजुन कुरा लेखेका छौँ, त्यही कुरा चर्चामा लिएर आएर हामीलाई कसरी रोकिन्छ र? रोकिने भए त हामी आफैँ प्रस्ताव किन गर्थ्यौँ र? उहाँहरूले वा तपाईंहरूले सम्भवतः हाम्रो वाचापत्र पढ्नु भएको छैन। यो सबै कुराहरू त्यहाँ लेखिएको छ। 

गृहमन्त्रीज्यूले हिजो दुई नेतासँग मेरो भेटघाट भइराखेको छ, गठबन्धन फेरबदलको कुरा केही होइन भन्नुभएको थियो। अहिलेको परिवर्तित घटनाक्रमको लागि दुई दलले लामै तयारी गरेको देखियो। रास्वपाले यसबारेमा साँच्चै केही थाहा पाएको थिएन?
हामी नयाँ छौँ राजनीतिमा। यो राजनीतिक धोखाधडी, दाउपेचहरू बुझेका छैनौँ भन्ने बुझाइ हो। यहाँ चाहिँ एउटै गठबन्धनमा भएर एकातिर मुस्कुराउँदै जाने, अर्कोतिर मोहनी लगाउँदै जाने/माया गर्दै जानेहरू हुँदा रहेछन्। हामीले त बाहरूले जे जे बोल्नुहुन्छ, त्यही कुरा नै सत्य हो भनेर पत्याइराख्यौँ। तर उहाँहरू त झुटो बोलेर हिँड्नुहुँदो रहेछ। त्यसैले गर्दा हामीले यो राजनीतिक दाउपेच, धोखाधडी बुझेनौँ। हामी सोझो तरिकाले देशलाई माया गरेर मात्रै राजनीति गरिराख्यौँ तर यहाँ चाहिँ धोखाधडी हुँदो रहेछ।     
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .