ad ad

अन्तर्वार्ता


महामन्त्रीले ओली–प्रचण्डलाई चिढ्याउन हुँदैनथ्यो, रास्वपाले सरकार छोडौँ भन्नुपर्थ्यो : कबिन्द्र बुर्लाकोटी (अन्तर्वार्ता)

‘दुई दिनमा छलफल भएन भने महामन्त्रीले प्रतिवेदन सार्वजनिक गर्दिहाल्नुहुन्छ’
महामन्त्रीले ओली–प्रचण्डलाई चिढ्याउन हुँदैनथ्यो, रास्वपाले सरकार छोडौँ भन्नुपर्थ्यो : कबिन्द्र बुर्लाकोटी (अन्तर्वार्ता)

सागर न्यौपाने
असार १३, २०८१ बिहिबार १६:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनले यतिबेला खैलाबैला मच्चाएको छ। 

३२ दिनमा ३२ जिल्ला घुमेर २ हजार जनाभन्दा बढीसँग कुरा गरी ढकालले तयार पारेको ३२ पृष्ठको प्रतिवेदनमा वर्तमान अवस्थामा पार्टीको पक्षमा जनमत नदेखिएको उल्लेख छ। उनले यही अवस्थामा चुनाव हुने हो भने पार्टीको हालत खराब हुने बताएका छन्।

ढकालले असार १२ गते बेलुका उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएका छन्। उनले सभापति लामिछानेलाई यात्राको समीक्षा प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। उक्त प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले अन्याय गरेको ठहरिने उनको भनाइ छ।

उनको प्रतिवेदन आएसँगै रास्वपाको आन्तरिक कलह सतहमा आएको छ। ढकालको प्रतिवेदन र यसले पार्टीभित्र ल्याएको हलचलबारे रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीसँग नेपालखबरले गरेको कुराकानी :

महामन्त्रीले ल्याउनुभएको प्रतिवेदनले पार्टीभित्र ठूलै हलचल ल्यायो नि!  
मेरो हातमा परेको त छैन। आज पार्टीको बैठक बसेको थियो। सभापतिजीलाई हामीले सुझाव दिएका छौँ। अध्ययन गरेर अब यसलाई पार्टीमा छलफल गर्नुपर्छ भने सभापतिजीले बैठक बोलाउनुपर्‍यो। होइन यो प्रतिवेदन छलफलै गर्नुपर्दैन भन्ने लाग्छ भने छलफल गर्नुपरेन भनेर सभापतिजीले भन्दिनु पर्‍यो।

किनभने त्यहाँ लेखिएका चिज, हुबहु सबै कार्यान्वयन गर्नुपर्छ भन्ने बाध्यता पनि छैन। होइन यसलाई कार्यान्वयन गर्नुहुँदैन भन्ने पनि छैन। त्यो त देशको, पार्टीको हितमा गर्नुपर्ने कुरा भए बैठकमा राख्छौँ। 

त्यो चिज छलफल भएर कार्यान्वयन पनि भइराखेको छ। त्यसकारण महामन्त्रीकै कुरा पार्टीमा कार्यान्वयन गर्नैपर्दैन, हुँदैन, भनेर कसैले भनेकै छैन। प्रक्रियामा जान्छ भनेका छौँ। यही हो कुरा। 

अनि महामन्त्रीले म माथि घृणित राजनीति भयो भन्नुभएको रहेछ।
कसले गर्छ त त्यो? त्यो कसैले गर्छ जस्तो लाग्दैन मलाई। कसैले पहल गरेजस्तो पनि लाग्दैन। त्यतातिर नजानुपर्ने हो। किन भन्नुभयो– म आफैँ अचम्ममा छु।

प्रतिवेदन शीघ्र सार्वजनिक गर्न महामन्त्रीले जोड दिनुभएको छ, सामान्य भएर भनिएको पक्कै होइन होला?
खै। उहाँलाई सार्वजनिक गर्न त कसैले छेकेको छैन।

उहाँले आधाउधी त सार्वजनिक गरिसक्नुभयो। अब बाँकी पनि सार्वजनिक गर्नुपर्ने हो। त्यो सार्वजनिक नगर्दा उहाँलाई तत्काल क्षति हुन्छ भने त उहाँले भन्नुपर्‍यो।

फेरि यो त कसैको पोल्टामा छैन। मेरो पोल्टामा भए पो! उहाँसँगै छ त। उहाँले नै पहिला चाहिँ पार्टीमा बैठक गराएर छलफल चलाएर गर्नुभयो। छलफल नगरी सार्वजनिक हुँदैन होला। 

महामन्त्री पार्टीभित्र असन्तुष्ट वा उहाँसँग पार्टीका कोही रुष्ट हुनुहुन्छ?
उहाँ नै मूल व्यक्ति। उहाँ अरुसँग असन्तुष्ट हुने कुरा भएन। बरु उहाँको कारण कोही रुष्ट छ भने उहाँले नै भन्दिनु पर्‍यो।

अस्ति उहाँले पार्टीको स्थापना दिवसमा मैले केही गल्ती गरेको छु भने सरी, अनि सहयोगका लागि थ्याङ्क यु त भन्नुभएको थियो। हामी सबैले हामीलाई प्राप्त सहयोगका लागि धन्यवाद भनेका थियौँ।

सात गते नै महामन्त्रीजीले सरी र थ्याङ्क यु भनिसक्या हो। कि त त्यही दिन भन्नुपथ्र्यो उहाँले। त्यो दिन भन्नुभएन।

भन्नाले महामन्त्रीले असार ५ गते प्रतिवेदन तयार पारिसक्नुभएको थियो, ७ गते पार्टी स्थापना दिवसमा पनि केही भन्नुभएन एक्कासि १२ गते बुझाउनुभयो?
हो। स्थापनाकै दिन प्रतिवेदन बुझाइसकेको भए पनि आजसम्म बैठक बसेर छलफल भइसक्थ्यो। त्यो त उहाँले ढिला गर्नुभएको हो। ७ गते नै बुझाएको भए पनि हुन्थ्यो। 

पार्टी स्थापना भएको यो २ वर्षमा पार्टीमा देखिएको समस्या के हो? महामन्त्रीले देखेको कुरा गम्भीर हो जस्तो लाग्दैन?
मान्छे विशेषका स्वभाव हुन्छन्। व्यक्ति विशेषका आचरण र व्यवहार हुन्छन्। उहाँलाई यसो भन्दिऊँ जस्तो लाग्यो, भन्दिनुभयो जस्तो लाग्छ। 

तर, प्रतिवेदनमा उठाएका केही कुराहरू दूरगामी खालका छन्, होइन र?
अहिलेको सरकारमा जानुपर्छ भनेर प्रस्ताव राख्नुभएको महामन्त्रीजीले नै हो। उहाँकै प्रस्ताव अनुसार सरकारमा गएको हो। अनि प्रस्ताव गरेर सरकारमा गएको कुरामा उहाँले समीक्षा गरेर आन्तरिक भन्नुपर्थ्यो। 

उहाँले केपी–प्रचण्डलाई मिडियामार्फत् चिढ्याउन पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्नेकुरा सबैलाई थाहा छ।

उहाँले त पार्टीको आन्तरिक छलफल गरेर अब उपयुक्त समयमा सरकारबाट एक्जिट हौँ भनेर पो भन्नुपर्थ्यो। मिडियाबाट किन चिढ्याउनु पर्थ्यो र!

दोस्रो पटक सरकारमा जाँदा उहाँकै हो प्रस्ताव। मलाई पनि फागुनको २०/२१ गतेतिर सरकारमा जानुपर्छ भनेर फोन गर्नुभएको थियो। अनि मैले, ठीकै छ। सबैलाई लाग्या छ भने मैले त्यसमा अड्काउने कुरा भएन भनेँ। म आफैँ बरु सरकारमा गइहाल्नुपर्छ भन्ने मनस्थितिमा थिइनँ। तर, साथीहरूले जानुपर्छ भनेपछि ठीकै छ केही शुभसंकेत भए होला, काम गर्न, देखाउन सक्छौँ होला भन्ने लाग्यो मलाई।

मैले सभापतिज्यूलाई मेसेज पनि गरेर भनेँ– मेरो तर्फबाट कुनै रोकतोक छैन तर, काम गर्न सक्ने संयन्त्र बनाएर जानुपर्छ।

अनि महामन्त्रीको हिसाबले उहाँले त्यतिखेरै भन्नुपर्थ्यो–सरकारमा जाँदा फाइदा छैन। अहिले मिडियामा बोल्न सक्नेले त्यतिखेर उहाँलाई कसैले दबाबमा पारेर सरकार जानुपर्छ भन भनेको होइन।

अर्काे, यो संघीयता खारेज गर्नुपर्छ, प्रदेश खारेज गर्नुपर्छ भन्नुभएको छ। यो त सभापतिज्यूको मंसिरको १३ मा जलेश्वरमा बसेको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमै उल्लेख छ।यो प्रदेश तहले काम दिएन, यसलाई हामीले छिटो छलफलमा ल्याउनुपर्छ भनेर सभापतिकै प्रतिवेदनमा लेख्नुभएको छ।

यसमा उहाँ चर्काे बोल्ने भन्दा पनि पार्टीभित्र त्यो प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भनेर २ वटा प्रतिवेदन लेख्नु पर्दैन नि। एउटै प्रतिवेदनमा लेखेर कार्यान्वयन गर्न सकिन्छ। महामन्त्री भएकोले उहाँ कार्यान्वयन गर्ने मूल ठाउँमा हुनुहुन्छ।

महामन्त्रीबाट हटाइनसक्छु भन्ने मुकुलजीको भनाइ छ। रास्वपाभित्र महामन्त्री फेर्ने प्रयास भइरहेको छ? 
त्यस्तो त मलाई लाग्दैन। आज पनि बैठकमा उहाँ हुनुहुन्छ। अस्ति पनि केन्द्रीय समितिको बैठक उहाँले नै चलाउनुभएको हो। उहाँमाथि त्यस्तो गरेजस्तो लाग्दैन।

तर, उहाँको धेरै पहिलादेखिका सबैकुरा निकालेर एकैचोटि व्यक्त गर्नुभएको हो भने त्यसमा मैले केही भन्न सकिनँ।

भन्नाले महामन्त्रीसँग पहिलादेखि गुनासा, असन्तुष्टि थिए?
त्यो त रहेछ र देखियो। 

अब बैठक बस्छ होला, यसको निकास वा हल कसरी हुन्छ? 
मैले त सभापतिज्यूलाई भनेको छु– यो (प्रतिवेदनमाथि) छलफल गर्नुपर्ने भएदेखि बैठकमा ल्याउनुहोला, छलफल गर्नुपर्ने देखिएन भने बैठकलाई भन्दिनुस्– यो छलफल गर्नुपर्ने देखिएन।

महामन्त्री प्रतिवेदन सार्वजनिक हुन्छ भन्नेमा विश्वस्त हुनुभएको छैन। प्रतिवेदन सार्वजनिक नहुन पनि सक्ने देखियो?
कसैले छुट्टै कहीँ प्रतिवेदन बनाएर दिएको, अनि त्यसपछाडि २ वर्षसम्म अल्झाएको भए अर्कै कुरा हुन्थ्यो। तर, उहाँले प्रतिवेदन बुझाउनुअघि नै आधा मिडियामा बोलिसक्नुभयो। आधा त्यसपछि बोल्नुभयो। अब बाँकी रहेको चिज छलफल भएपछि आइहाल्ला। त्यो पनि दुई दिनमा भएन भने उहाँले प्रतिवेदन सार्वजनिक गर्दिहाल्नुहुन्छ।

पार्टीभित्र असन्तुष्ट रहनुभएको संकेत कहिलेदेखि देखाउनुभएको थियो?
अब यो समीक्षा प्रतिवेदन लेख्न समीक्षा यात्रामा निस्कने दिन पनि उहाँ त्यतिधेरै खुसी देखिनु भएन। समीक्षा यात्रामा जाने प्रस्ताव उहाँले नै ल्याउनुभएको हो। त्यो प्रस्ताव ल्याउँदा पनि खासै खुसी हुनुहुन्थेन।

अनि देशभित्र विभिन्न ठाउँमा जाँदा पनि साथीहरू र उहाँबीच ठाउँठाउँमा त्यति राम्रो सम्बन्ध भएन भन्ने जस्तो पनि आएको थियो।

साथीहरूको मनसाय एकातिर उहाँले अर्काेतिरको प्रस्ताव राख्नुभयो, के भो, कसो भयो? संगठन विघटन गर्ने कुराहरू राख्नुभयो भनेर साथीहरूले भन्नुभएको थियो। महामन्त्रीज्यूले जेठको २२ गते अन्नपूर्ण पोस्टमा एउटा लेख लेख्नुभयो। जुन कुरा समीक्षा प्रतिवेदनमा आउनुपर्थ्यो, त्यो अलिअलि लेखमै लेख्नुभयो।

अनि असार ७ गते उहाँकै आफ्नै फेसबुकमा स्टाटस राख्दै पार्टी राख्ने कि फाल्ने भनेर लेख्नुभयो। अनि हिजो प्रतिवेदनका अंशहरू बाहिर ल्याउनुभयो। भनेपछि उहाँको पहिलेदेखि मनमा केही न केही थियो कि जस्तो लाग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .