ad ad

राजनीति


पार्टीका विदेश विभाग सम्हाल्न वरिष्ठ नेताको यस्तो अटुट आकर्षण

पार्टीका विदेश विभाग सम्हाल्न वरिष्ठ नेताको यस्तो अटुट आकर्षण

रामकुमार डिसी
साउन ३२, २०८१ शुक्रबार २०:११, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको १७ साउनमा बसेको सचिवालय बैठकले पार्टी नेताहरूको कार्यविभाजन हेरफेर गर्दा परराष्ट्र मामिला विभागको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दियो। आफुलाई अध्यक्ष केपी शर्मा ओली निकट ठान्ने उनको पहिलो चाहना मधेस प्रदेशको इन्चार्ज बन्ने थियो।

त्यो नपाएको खण्डमा पार्टीको परराष्ट्र मामिला विभाग प्रमुख भएर काम गर्ने महासेठको रुचि थियो। छोटो समय परराष्ट्रमन्त्री भएर काम गरेका महासेठले भूगोलकै जिम्मेवारी त पाएनन्, तर लामो समय विभागको नेतृत्व गरेका राजन भट्टराईलाई विस्थापित गरेर उनले रोजाइको विभाग परराष्ट्र मामिला भने पाए।

महासेठ आफैले किन परराष्ट्र मामिला विभाग रोजे भन्ने जिज्ञासा एमालेभित्र व्याप्त छ, साथै अन्तर्राष्ट्रिय सम्बन्ध नै पढेका, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार भैसकेका र लामो समय यही विभागको नतेृत्व गरेका भट्टराईलाई हटाएर किन महासेठलाई यो जिम्मेवारी दिइयो भन्ने प्रश्न पनि एमालेभित्र उठेको छ। 

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रमा विदेश विभाग गठन हुँदा विवाद भएको थियो। २०७८ असोजमा सचिव राम कार्कीको नेतृत्वमा पूर्व राजदूतहरू समेत समेटेर विभाग गठनका लागि तयार पारिएको मस्यौदा सार्वजनिक भएपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असहमती जनाएका थिए। 

श्रेष्ठले असन्तुष्टि जनाएपछि कार्कीलाई कोसी प्रदेश इन्चार्जको जिम्मेवारी दिँदै विदेश विभाग प्रमुखबाट हटाइएको थियो। त्यसपछि श्रेष्ठ विभाग प्रमुख बनेका थिए।

यी दुई पछिल्ला दृष्टान्तले पार्टीहरूका विदेश विभागको महत्व र यसमा नेताहरूले दिने गरेको चासो दर्शाउँछ। पार्टीका बरिष्ठ नेताहरूले नै यो विभागको नेतृत्व लिन खोज्नुको अझ वृहत् छ।

प्रमुख नेताकै रुचि
अधिकांश पार्टीका प्रमुख नेताहरूले नै विदेश विभागको जिम्मेवारी लिन रुचि देखाउने गरेका छन्। प्रधानमन्त्री भइसकेका नेताहरूले पनि विदेश विभागमै रहेर काम गर्न रुचि देखाएको पाइन्छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुख छन्। खनालले परराष्ट्रमामिला सम्बन्धी विषयहरू आउँदा विदेश विभाग प्रमुखको हैसियतमा विज्ञप्तिमार्फत आफ्ना धाराणा बेला–बेला सार्वजनिक गर्ने गरेका छन्। 

नेकपा एमालेमा रहँदा माधव नेपालले सधैजसो विदेश विभागको नेतृत्व लिने गर्दथे। नेकपा एमाले र माओवादीबीच एकीकरण भएर २०७५ मा बनेको नेकपामा पनि नेपाल नै विदेश विभाग प्रमुखको जिम्मोवरीमा थिए। 

नेकपा एमालेबाट माधव नेपाल लगायतका नेता बाहिरिएपछि उपमहासचिव प्रदीप ज्ञवाली, राजन भट्टराई लगायतका नेता एमालेको परराष्ट्र विभागको नेतृत्वमा पुगेका थिए।

नेपाली कांग्रेसको विदेश विभागमा पनि प्रभावशाली नेताहरू नै रहने गरेका छन्। डा. नारायण खड्का कांग्रेसको विदेश विभाग प्रमुख थिए। 

१४ औं महाधिवेशनपछि भने विदेश विभाग गठन भइसकेको छैन्। अनौपचारिकरुपमा आरजु राणा देउवा र एनपी साउद लगायतले त्यस सम्बन्धी मामिला हेर्दै आएका थिए। राणा हालै परराष्ट्र मन्त्री बनेकी छिन्। साउद पनि यसअघि परराष्ट्र मन्त्री थिए। 

नेकपा माओवादीमा प्रचण्ड सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री रहेका नारायणकाजी श्रेष्ठले नै धेरैजसो समय विदेश विभागको नेतृत्व लिने गरेका छन्। केही समय पूर्व सभामुख समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले पनि त्यसको नेतृत्व लिएका थिए। 

२०७९ को चुनावपछि उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीमा शिशिर खनाल विदेश विभाग प्रमुख छन्।

किन आकर्षक छ विदेश विभागमा ?
विदेश विभागमा रहने नेताको प्रमुख दायित्व पार्टीलाई बाहिरी विश्वसँग जोड्नु हो। त्यसक्रममा उनीहरू विदेश आउजाउ गरिरहन्छन्।

विदेश विभागको जिम्मेवारीमा रहेर धेरै विदेश भ्रमणमा जाने नेतामा पर्छन, पूर्व प्रधानमन्त्री माधव नेपाल। नेकपा एमाले र नेकपामा विदेश विभाग प्रमुख हुँदा उनी धेरै पटक विदेश गए।

उनको उत्तर कोरिया भ्रमणले भने चर्चा र विवाद दुवै उत्पन्न भएको थियो। २०७४ को साउन अन्तिम सातातिर नेपाली टोलीको नेतृत्व गर्दै नेपाल उत्तर कोरिया गएका थिए। 

दक्षिण कोरिया, जापान लगायतमाथि हमला गर्ने धम्की दिइरहेका बेला उत्तर कोरिया गएको भन्दै नेपालको आलोचना भएको थियो। तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संस्थागत निर्णयबिनै गएको भन्दै उनको आलोचना समेत गरेका थिए। 

नेपालपछि अर्का पूर्व प्रधानमन्त्री खनाल पनि विदेश विभागबाट धेरै विदेश जाने नेतामा पर्छन। खनाल २०८० कात्तिकमा चीन गएका थिए। त्यहाँ उनले तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागीता जनाएका थिए। 

त्यस्तै २०७९ मा बंगलादेशको ढाकामा आयोजित ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पार्टी विदेश विभागको तर्फबाट धेरै विदेश गइरहने नेतामा पर्छन्। 

परराष्ट्र मामिलाकी जानकार इन्द्र अधिकारी विदेशीसँग सम्पर्क बढ्ने भएकाले पार्टीहरुमा विदेश विभागको आकर्षण भएको बताउँछिन्। उनले भनिन्, ‘विदेशीहरुसँग भेट्ने, विदेशीहरूसँग कुराकानी गर्ने र विदेशीहरूले पार्टीमा सम्पर्क गर्ने भन्ने बित्तिकै विदेश विभागको महत्व हुन्छ।’

विभागमा रहेर ‘अनुभव लिने, सम्पर्क विस्तार गर्ने र आफ्नै बुझाई पनि फराकिलो बनाउने अबसर प्राप्त हुने’ अधिकारीको भनाइ छ। त्यस्तै विभागमा रहेर काम गर्दा राजदूत, परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार जस्ता पदमा दावी गर्न पनि सहज हुने भएकाले नेताहरूले रुचि देखाउने उनको ठम्याइ छ।

‘राजदूत हुन, पराष्ट्र मन्त्री बन्न र प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार बन्न पनि विदेश विभागमा काम गरेको अनुभव भयो भने प्राथमिकतामा पर्न सक्ने भएकाले नेताहरूको रोजाइमा विदेश विभाग परेको देखिन्छ,’ अधिकारीले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .