ad ad

कर्णाली


संघीय मन्त्रालयले १७ दिनमै फेरिदियो प्रशासकीय अधिकृत, हाजिर गर्न नदिने मेयरको अडान

संघीय मन्त्रालयले १७ दिनमै फेरिदियो प्रशासकीय अधिकृत, हाजिर गर्न नदिने मेयरको अडान

दिनेश बुढा
पुस ५, २०८० बिहिबार १४:२९, सुर्खेत

दैलेखको नारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कसलाई राख्ने र कसलाई नराख्ने भन्ने विषयमा यतिखेर नगर प्रमुख र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आमनेसामने भएका छन्।

मन्त्रालयले उपसचिवस्तरका अधिकृत दीपककुमार आचार्यलाई प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाएपछि नगर प्रमुख लोमन शर्मा त्यसको विरूद्धमा उभिएका छन्। उनले आचार्यलाई आफ्नो नगरपालिका कार्यालयमा हाजिर गर्न नदिने अडान मात्र लिएका छैनन्, आचरणमाथि प्रश्न उठाउँदै निर्णय पुनर्विचार गर्न मन्त्रालयमा पत्राचार नै गरेका छन्।

उनले पुस ३ गते मन्त्रालयमा पठाएको पत्रमा लेखिएको छ, ‘मिति २०८०–८–१२ गते त्यहाँ मन्त्रालयबाटै खटाइएका प्रमुख प्रशसकीय अधिकृत बमबहादुर केसीले प्रभावकारी कार्यसम्पादन गरिरहेको अवस्थामा कुनै सल्लाह नगरी विभिन्न स्थानीय तहमा विवादित भएका दीपककुमार आचार्यको गलत आचरणबारे अवगत हुँदाहुँदै निजलाई हाजिर गराउन नसकिने हुँदा अन्यत्र व्यवस्थापन गरिदिन हुन अनुरोध छ।’

बमबहादुर केसी मंसिर १२ गते सरूवा भई त्यहाँ पुगेका हुन् भने त्यसको १७ दिनमा मन्त्रालयले नै आचार्यलाई खटाएको हो। १७ दिनमै प्रमुख प्रशासकीय अधिकृत फेरिदिएको भन्दै नगर प्रमुख रूष्ट छन्।

यता मन्त्रालय भने उपसचिवस्तरको दरबन्दी भएकाले आचार्यलाई खटाएको तर्क गर्छ। साथै कसलाई प्रमुख प्रशासकीय अधिकृत तोक्ने भन्ने विषय मन्त्रालयको अधिकार र कर्तव्यभित्र पर्ने भएकाले नगर प्रमुखले टाउको दुःखाउन नहुने मन्त्रालयका अधिकारी बताउँछन्। नगर प्रमुख शर्मा भने आफूसँग सल्लाह नै नगरी प्रशासक फेरेकोले अमान्य रहेको तर्क गरेका छन्।

भएको के हो?

संघीय मामिला मन्त्रालयले गत मंसिर १२ गते बमबहादुर केसीलाई दैलेखको नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तोकेर पठायो। उनी शाखा अधिकृत तहका कर्मचारी हुन्। त्यसअघि उनी भूमिसुधार मन्त्रालयमा कार्यरत थिए।

केसीका लागि ठाउँ खाली गर्न नगर प्रमुख लोमन शर्माले भक्तबहादुर मल्ललाई हटाउने तारतम्य मिलाए। मल्ल पनि शाखा अधिकृत नै हुन्। करिब २ वर्ष त्यहाँ बसेका मल्ललाई हटाएर अनुकूल अधिकृत ल्याउन नगर प्रमुख शर्माले सिंहदरबारसम्म दौडधूप गरेका थिए।

शर्माकै जोडबलमा बमबहादुर केसीलाई नारायण नगरपालिकामा सरूवा गरियो। केसी मल्ललाई दैलेखकै चामुण्डा विन्द्रासैनी नगरपालिका पठाए केसीलाई ल्याइएको थियो। केसीलाई ल्याउन पाउँदा शर्मा खुसी थिए। तर, त्यो खुसी १७ दिन पनि टिकेन।

संघीय मामिला मंसिर २९ गते मन्त्रालयले उपसचिवस्तरका कर्मचारी दीपककुमार आचार्यलाई पठाइदिएपछि किचलो झन् बढेको हो।

गलत रण भनेको छैन

नगरप्रमुख शर्माले भने गलत आचरण भएको व्यक्ति भनेर आफूले नभनेको जिकिर गरे। उनले भने, ‘त्यस्तो मैले केही भनेकै छैन। मन्त्रालयलाई उहाँको विषयमा जानकारी हुँदाहुँदै किन पठाउनुभएको भनेको मात्रै हो। उहाँप्रति अरू त्यस्तो आग्रह–पूर्वाग्रह केही छैन।’

नगरप्रमुख शर्माले एउटा अधिकृत हुँदाहुँदै तिनको सरुवा नभएर अर्को अधिकृत किन पठाएको हो, बरु अन्त कतै पठाउनुहोस् भनेर मन्त्रालयलाई भनेको दाबी पनि गरे। उनले भने, ‘चिठी पठाएको हो। मन्त्रालयले कुनै जवाफ दिएको छैन।’

संघीय मामिला मन्त्रालयलका उप–सचिव तथा स्थानीय तह कर्मचारी प्रशासन शाखा प्रमुख भोजराज घिमिरेले नगरपालिकाले पठाएको चिठी प्राप्त गरेको बताए। उनले भने, ‘नगरपालिकाले हामीलाई पठाएको चिठी प्राप्त गरेका छौँ। तर गलत आचरण पुष्टि नभएर कहाँ भन्न पाइयो नि? कि पुष्टि गर्नुपर्‍यो। कि कारबाही भएको हुनुपर्‍यो!’

यस्तै, नारायण नगरपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत बमबहादुर केसीसँग समन्वय भएर नै दीपककुमार आचार्यालाई खटाइएको उप–सचिव घिमिरेले जानकारी दिए। उनले भने, ‘नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उप–सचिवसरहको पद हो। सरुवा गरेको कर्मचारी जानुहुन्छ। यदि जानुभएन भने फेरि मन्त्रालयमा आउनुहुन्छ, यसमा समस्या छैन।’

उनले थपे, ‘मन्त्रालयले कर्मचारीलाई खटाएको छ। पछिका कुरा केही आएपछि छलफल होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .